ढोरपाटन- पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ। हरेक वर्ष सुन्तलाखेती गर्ने क्षेत्रफल बढ्नुका साथै खेती गर्न सहज हुने भएकाले कृषकको आकर्षण बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ।
बसाइँसराइले गाउँ रित्तिँदै गएपछि पहिले कोदो, मकै, गहुँलगायत अन्नबाली फल्ने बारीमा अहिले सुन्तलाखेती गर्न थालिएको छ। कम मेहनतमा राम्रो उत्पादन गर्न सकिने भएकाले कृषक सुन्तलाखेतीप्रति आकर्षित भएका केन्द्रका सूचना अधिकारी कुमार पुनले बताए।
कृषि ज्ञान केन्द्रका अनुसार विसं २०७६ मा पाँच सय ८५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकामा हालसम्म आउँदा उक्त क्षेत्रफल बढेर छ सय १८ हेक्टर पुगेको छ। चार वर्षको अवधिमा ३३ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती विस्तार भएको छ।
बागलुङमा सुन्तला उत्पादन राम्रो हुने र बजार पनि सहजरुपमा पाउने भएकाले खेती विस्तार हुँदै गएको पुनको भनाइ छ। जिल्लामा काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेकमा बढी सुन्तला उत्पादन हुने उनले जानकारी दिए।
भौगोलिक बनावट र हावापानीअनुसार १० वटै पालिकामा धेरै वा थोरै सुन्तला उत्पादन हुने गरेको सूचना अधिकारी पुनले बताए। अघिल्लो वर्षको तुलनामा यस वर्ष ४५ मेट्रिकटन सुन्तला उत्पादन कम भएको उनले जानकारी दिए।
सूचना अधिकारी पुनका अनुसार अघिल्लो वर्ष जिल्लामा तीन हजार नौ ८५ मेट्रिक टन उत्पादन भएकामा यस वर्ष तीन हजार नौ ४० मेट्रिकटन मात्रै उत्पादन भएको छ। गत वर्ष २० करोड रूपैयाँभन्दा बढीको सुन्तला बिक्री भएकामा यस वर्ष १८ करोड रूपैयाँको मात्रै उत्पादन भएको छ।
बागलुङमा सुन्तला व्यवस्थापनमा किसानले ध्यान नदिँदा उत्पादनमा ह्रास आएको पुनले बताए। कृषि ज्ञान केन्द्रले सुन्तलाखेती गर्ने किसानलाई आवश्यक अनुदानसँगै बगैँचा व्यवस्थापन र प्राविधिक सहयोग गर्दै आएको उनको भनाइ छ। मल, जल र बगैँचा व्यवस्थापनम कृषकले ध्यान दिए बागलुङमा धेरै मात्रामा सुन्तला उत्पादन गर्न सकिने सूचना अधिकारी पुनले बताए।
'बागलुङमा सुन्तला उत्पादन राम्रो हुन्छ। यहाँका धेरै किसानले मेहनत पनि गर्नुभएको छ, तर यस वर्ष बगैँचा व्यवस्थापन सही तरिकाले नहुँदा उत्पादन घटेको छ। खेती विस्तार भने तीव्ररुपमा भइरहेको छ', उनले भने, 'केन्द्रबाट कृषकलाई प्राविधिक सहयोगसहित अनुदान र तालिम प्रदान गर्दै आएका छौँ। पहिले खाद्यबाली खेती हुने बारीमा अहिले सुन्तला लगाउन थालेका छन्।'
बागलुङ नगरपालिका-८ सिगानाका किसान अनन्तबहादुर खड्काले यस वर्ष छ लाख रूपैयाँको सुन्तला बिक्री गरेको बताए। बारीमा दुई सय बोट सुन्तला रहेको भन्दै आधाभन्दा बढीले उत्पादन दिन थालेको उनले जानकारी दिए। गत वर्षको तुलनामा यस वर्ष दुई प्रतिशतले मात्र उत्पादन बढेको उनको भनाइ छ।
सिगानामा यो वर्ष करिब साढे दुई करोड रूपैयाँ भित्रिएको भन्दै खड्काले गाउँमा मात्रै ४० हजार सुन्तलाका बोट रहेका बताए।
'अन्य खेतीलाई जस्तो धेरै झन्झट गर्न नपर्ने, बेलाबेला गोडमेल र सिँचाइ गरे हुन्छ। उत्पादन राम्रो भयो भने आम्दानी पनि राम्रो हुन्छ, सुन्तलाखेती गरेपछि पछुताउनु भने पर्दैन', उनले भने, 'कहिलेकाहीँ विभिन्न रोग र संक्रमणले दुःख दिने भएकाले कृषि केन्द्रसँग समन्वय गरी काम गर्नुपर्छ। पहिले गाउँका थोरै किसानले सुन्तलाखेती गर्नेमा अहिले प्रत्येक परिवार यसमा आबद्ध हुँदै गएका छन्।' रासस