शनिबार, साउन १२ गते २०८१    
images
images
images

कर्जा एभरग्रिनिङ गर्ने नेपाल इन्भेष्टमेन्ट मेघाका सीईओ पाण्डेलाई राष्ट्र बैंकले गरायो सचेत

images
बिहीबार , वैशाख २० २०८१
images
images
कर्जा एभरग्रिनिङ गर्ने नेपाल इन्भेष्टमेन्ट मेघाका सीईओ पाण्डेलाई राष्ट्र बैंकले गरायो सचेत
images

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई राष्ट्र बैंकले सचेत गराएको छ।

images
images

४१ करोड ३६ लाख रुपैयाँ बराबरको कर्जा एभरग्रिनिङ गरेको भन्दै सुपरिवेक्षण विभागले पाण्डेलाई राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) को व्यवस्थाबमोजिम सचेत गराएको हो।

images

बैंकको कमलादी शाखाबाट खोलिएको प्रतितपत्र कालीमाटी शाखाबाट स्वीकृत गरेर परिपक्व हुने म्याद बारम्बार थपेर कर्जा एभरग्रिनिङ गरेको भन्दै पाण्डेलाई राष्ट्र बैंकले सचेत गराएको हो। 

'बैंकको कमलादी शाखाबाट खोलिएको प्रतितपत्र बैंककै कालीमाटी शाखाले कन्फर्म गरी सो प्रतितपत्रअन्तर्गत भएको कारोबारमा विभिन्न मितिमा निवेदक कम्पनीबाट प्रोमिसरी नोट जारी गरी वेनिफेसरी बाट बैंकले बिल खरिद गरी कर्जा सापटमा देखाएको र सो प्रतितपत्रको परिपक्व अवधि बारम्बार थप गरी सो कर्जालाई २०७९ चैत मसान्तसम्म एभरग्रिन गरी असल कर्जाकै रुपमा देखाइ यस बैंकले जारी एकीकृत निर्देशनविपरीत कार्य गरेको', राष्ट्र बैंकले भनेको छ। 

images

एकपटक जारी भएको प्रतितपत्रको परिपक्व अवधि पटक पटक थपेर सो कर्जालाई एभरग्रिनिङ गरेको राष्ट्र बैंकले जनाएको छ। 

कर्जाको साँवा ब्याज भुक्तानी नभएपछि राष्ट्र बैंकको खराब कर्जासम्बन्धी एकीकृत निर्देशनअनुसार खराब कर्जा बुक गर्नुपर्नेमा बैंकले त्यस्तो नगरेको सुपरिवेक्षण विभागको दाबी छ। 

कर्जाको साँवा ब्याज असुली भएको ३ महिनाबाटै खराब कर्जा बुक गर्नुपर्ने राष्ट्र बैंकको नियमविपरीत काम बैंकले गर्दासमेत बैंकका सीईओ पाण्डेले नियमन नगरेकाले सचेत गराइएको राष्ट्र बैंक स्रोतको दाबी छ। 

'बैंकले यसअघि नै खराब कर्जा बुक गरेर प्रोभिजनिङ गरिसक्नुपर्ने कर्जालाई बारम्बार म्याद थप गरेर कर्जाको एभरग्रिनिङ हुँदासमेत बैंकका सीईओ पाण्डेले निरिक्षण नगरेकाले उनलाई सचेत गराइएको हो। कर्जा एभरग्रिनिङ गर्ने काम राष्ट्र बैंकको नियम विपरितको काम हो',स्रोतले भन्यो। 

यस्तै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व बापतको खर्चलाई ब्याजदर गणनामा प्रयोग गरेको पाइएको छ। राष्ट्र बैंकले गरेको सुपरिवेक्षणको क्रममा यस बैंकले सीएसआर बापत गरेको खर्चलाई बैंकको आधार दर गणना गर्दा प्रयोग गरेको भन्दै पाण्डेलाई राष्ट्र बैंकले सचेत गराएको हो। 

पुँजीकोष गणनामा समेत यस बैंकले कैफियत गरेको राष्ट्र बैंकको ठहर छ। वासेल प्रतिवेदनमा बैंकले कर्जाको वर्गीकरण गर्दा कर्जाको जोखिम भारित सम्पत्ति कम देखाएर पुँजीकोष गणना गरेको राष्ट्र बैंकले जनाएको छ। 

प्रतितपत्रको म्याद थप गरी कर्जा एभरग्रिनिङ गरेको, भारित औषत सम्पत्ति जोखिमभार कम देखाएर पुँजीकोष गणना गरेको र सीएसआरको पैसा आधार दर गणनामा प्रयोग गरेकाले पाण्डेलाई राष्ट्र बैंकले सचेत गराएको हो।


प्रकाशित : बिहीबार , वैशाख २० २०८११८:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend