काठमाडौं- इन्टरेटको सहज पहुँचसँगै नेपाली चलचित्र हेर्ने शैलीमा समेत उल्लेख्य परिवर्तन आएको छ। यसमध्ये चलचित्र क्षेत्रले धेरै परिवर्तन आत्मसात् गरिरहेको छ। अहिले दर्शकले मोबाइल, ल्यापटप, ट्याब्लेटजस्ता डिभाइसबाट घरमै बसेर चलचित्र हेर्न सक्छन्। यो परिवर्तन ल्याउन ओटीटी (ओभर द टप) प्लेटफर्मले ठूलै भूमिका खेलेका छन्। केही चलचित्रलाई ओटीटीमा मात्र पनि प्रदर्शन गर्ने गरिन्छ।
नेपालमा पनि अहिले स्थानीय ओटीटी प्लेटफर्मको सङ्ख्या बढ्दै गइरहेको छ। यद्यपि स्वेदेशीको तुलनामा नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायतका ‘ओटीटी प्लेटफर्म’ले नेपाली दर्शकलाई आकर्षित गर्न सफल छन्।
आइफ्लिक्स, भिडियो पसल, सिनेमा घर, कान्तिपुर सिनेमाजजस्ता प्लेटफर्म नेपालमा भएता पनि आफैँद्वारा निर्मित सामग्री (ओरिजिनल कन्टेन्ट) लोकप्रिय नहुँदा अपेक्षित सफलता प्राप्त गर्न सकेको छैन। आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपछि सञ्चालन हुन सकेनन्।
नेपालका अधिकांश एपमा चलचित्र भवनमा प्रदर्शन भएका चलचित्र छन्। त्यसलाई हेर्न दर्शकले रुचि कम देखाएका छन्। केही चलचित्रमा दर्शक आकर्षित भएर एपसँग जोडिँदा ‘होल्ड’ गर्ने कन्टेन्ट अभाव देखियो। फलतः दर्शक ‘मुभ्ड’ भए।
नेपालमा सन् २०१६ देखि सुरु भएको ‘सिनेमा घर’ एपले सदस्यताको सुविधा हटाएर चलचित्रअनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाएको छ। अभिनेता खगेन्द्र लामिछाने अध्यक्ष रहेको उक्त एपले दर्शकले रुचाएको चलचित्रलाई प्रदर्शन गर्ने गरेको छ। त्यहाँ पनि आफ्नै सामग्रीको अभाव छ। यद्यपि उनीसहितको समूहले चलचित्रलाई युट्युबमा नभइ एपमा प्रदर्शन गर्न प्रोत्साहन गरिरहेका छन् ।
'हामीले एपमा प्रदर्शन भएका चलचित्रको आम्दानीको बारेमा जानकारी गराएपछि अहिले ओटीटी प्लेटफर्मका लागि सहजरूपमा चलचित्र प्राप्त हुने गरेको छ, प्रायः निर्माताले एपमा चलचित्र प्रदर्शन गर्न सहजै स्वीकार गर्नुहुन्छ', अभिनेता लामिछानेले भने। आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिरहेका ओमप्रकाश अग्रवालले ‘पाइरेसी’को समस्याले ओटीटीमा चलचित्र राख्न जोखिम रहेको विश्लेषण गरे।
उनले भने, 'पाइरेसी गर्नेलाई कडा कारबाही नभएसम्म कन्टेन्ट सुरक्षित हुँदैन, रमाइलोका लागि चलचित्र खिच्ने गरेको सुनिन्छ, यससम्बन्धी साक्षरता बढाउनु आवश्यक छ।'
नेपालमा युट्युब लोकप्रिय छ। अग्रवालले सञ्चालन गरिरहेको ओएसआर डिजिटलमा चलचित्र धेरै छन्। निःशुल्क नभइ सःशुल्क चलचित्र हेर्ने शैलीको विकास गर्नु आवश्यक रहेकोमा उनी पनि स्पष्ट छन्।
'नेपाली चलचित्र निर्माणमा देखिएका भिन्नता, पछिल्लो समय प्रस्तुत गरिने विषयवस्तुलगायत नयाँ प्रविधिका बारेमा हामी युट्युबमार्फत प्रचार गर्न सफल भयौँ, निःशुल्क दर्शक बढे, ‘भ्यूज’ पनि पाइयो', अग्रवालले भने, 'हामीले दर्शकले खोजिरहनुभएको सामग्री दिन सक्यौँ भने ओटीटीको बजार बढ्ने र बलियो हुने सम्भावना धेरै छ, यद्यपि हामीले अनुसन्धान गरेर त्यहीअनुसारको सामग्री निर्माण गर्न सक्नुपर्छ, किनकि अहिले नेपालमै विश्वभरका चलचित्र र शृङ्खला हेरेर दर्शक चनाखो हुनुभएको छ।'
पछिल्लो समय ‘ओर्जिनल कन्टेन’ सहित सुरु गरिएको ‘कान्तिपुर सिनेमाज्मा’ पनि दर्शकलाई आकर्षित गर्न सकेको छैन। सामाजिक सञ्जाल वा चलचित्र चर्चामा विदेशी एपमै रहेका ‘कन्टेन’ मा दर्शकले प्रतिक्रिया दिइरहेका छन्।
यद्यपि नेपालमा सुरुवाती समय रहेकाले आशावादी रहने ठाउँ भने छ। नयाँ चलचित्र नहुनु र नयाँ ‘कन्टेन’ मा दर्शक आकर्षित नहुँदा नेपाली ओटीटीले अपेक्षित सफलता प्राप्त गर्न सकेका छैनन्। रासस