बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

फोटो कथामा एक रात्रि मजदूर : सपनाको यात्रामा 'अर्थ'को खोज

बुधबार, वैशाख १९ २०८१
फोटो कथामा एक रात्रि मजदूर : सपनाको यात्रामा 'अर्थ'को खोज

काठमाडौं- अर्घाखाँची भुमिकास्थान नगरपालिका-८ का अनिल परियारको रुची सानैदेखि गायनमा थियो। आफ्नै गाउँठाउँ, मेला, विद्यालयमा गीत गाएर रमाइलो गर्ने अनिललाई ख्यातीप्राप्त गायक बन्ने ठूलो सपना थियो।

१७ वर्षको उमेरमा एसएलसी दिएर बसेका अनिललाई सपनाको सहर काठमाडौंं पुग्ने रहर जाग्यो। सानै उमेरमा ठूलो सपना बुन्दै अनिल काठमाडौंं पसे। गाउँघरबाट ठूलो सपना बोकेर काठमाडौं छिरेका अनिललाइ ठूलो सहरमा हराइन्छ कि भन्ने डर पनि थियो। 

आएको केही महिना उनी कामको खोजीमा भौतारिए। डुल्दाडुल्दै कपडा पसलमा काम गर्ने अवसर मिल्यो। केही वर्ष त्यहाँ काम गरेका उनलाई चिनजानबाट दोहोरी साँझमा काम गर्ने अवसर मिल्यो। अनिलको सपना ठूलो गायक बन्ने नै हो।

खुसी भएर दोहोरी साँझमा काम गर्न थाले। तर दोहोरी साँझमा काम गर्न त्यति सहज भने थिएन। सोचेकोभन्दा फरक समयमा काम गर्नु पर्‍यो। दिउँसो अन्य काम गर्ने र बेलुकी ६ बजेदेखि राती २ बजेसम्म दोहोरी साँझमा गाउनु पर्ने भयो।

anil pariyar (12).JPG

काठमाडौंं बसेर गायन पेशा सुरु गर्दा मासिक २५ सय रुपैयाँ तलब पाए। सपनाको सहर भए पनि काम पाउन निकै मुश्किल थियो। मनभित्रको रहर मेटाउन २०६६ सालबाटै दोहोरी साँझमा गीत गाउन सुरु गरेका हुन्। 

उनले दोहोरी साँझमा गीत गाउन सुरु गरेको पनि १५ वर्ष भइसक्यो। उनको रहर ठूलो गायक बन्छु भन्ने नै छ। उनी घरको आर्थिक अवस्थाले रात्री मजदूर बनेका हुन्। १५ वर्षमा राजधानीका ५ वटा दोहोरी साँझमा काम गरिसके।

अहिले पनि कोटेश्वरको एक दोहोरी साँझमा आवद्ध छन्। बाह्य गायनमा पनि उत्तिकै अब्बल छन्। गीतसंगीतमा लागेर उनमा पछुतो छैन। गीत गाएरै अनिलले थुप्रै पुरस्कार तथा सम्मान पाएका छन्। 

anil pariyar (1).JPG
anil pariyar (4).JPG
anil pariyar (6).JPG

अनिललाई अब पैसा कमाउने रहर जागेको छ। उनी वैदशिक रोजगारका लागि कोरियन भाषा अध्ययन गर्छन्। राती भएपछि दोहोरी साँझमा पुग्ने उनी झिसमिसेमै भाषा अध्ययन गर्ने गर्छन्। घरको पूर्ण रुपमा सहयोग हुँदाहुँदै पनि आर्थिक अवस्थाले पछि परेको जस्तो उनी ठान्छन्। उनले भने, ‘मसँग क्षमता वा प्रतिभा छ तर आर्थिक अवस्थाका कारण कलाविहीनताको अनुभूति हुन्छ।’ 

दिनचर्या पनि गजबकै छ। बिहान कोरियन भाषा अध्ययन, दिउँसो खाना खाएर केही बेर आराम र बेलुकी नहुँदौ दोहोरी साँझको यात्रा हुन्छ। दोहोरीमा काम गर्दा त्यति सहज भने छैन। समयमा तलब नपाउने समस्या छँदैछ। कतिपय दोहोरीले बिना तलब निकाल्ने समस्या अर्को छ।

anil pariyar (8).JPG
anil pariyar (10).JPG
anil pariyar (11).jpg

गीत गाउँदागाउँदै ग्राहकले सीसाको गिलासले हानेको दुःखद अनुभव पनि अनिलसँग छ। ‘दोहोरीमा काम गर्दा धेरै सहनुपर्छ,’ उनले भने, ‘देख्दा राम्रो होला यसभित्र धेरै कथा लुकेको छ।’

उनी दोहोरी साँझमा मात्र होइन बाहिर कार्यक्रमका मञ्चमासमेत गीत गाउने गर्छन्। अहिले उनी राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान समन्वय समिति ललितपुरको सहसचिव पदमा पनि कार्यरत छन्।

- मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी


प्रकाशित : बुधबार, वैशाख १९ २०८११३:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend