बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

ट्राउट माछाको हब बन्दै र्‍यालेको मानेदोभान, मासिक लाखौँ आम्दानी गर्छन् व्यवसायी

images
मंगलबार, वैशाख १८ २०८१
images
ट्राउट माछाको हब बन्दै र्‍यालेको मानेदोभान, मासिक लाखौँ आम्दानी गर्छन् व्यवसायी

मोटरबाटोको सुविधा पुर्‍याउन स्थानीय सरकारले ध्यान दिन सके अझ बढी आन्तरिक पर्यटक भित्रिन सक्ने यहाँका व्यवसायी बताउँछन्।

images
images

धुलिखेल- काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१ र्‍यालेका उपेन्द्र कारञ्जितले फूलचोकी रेन्बो ट्राउट कृषि फार्म सञ्चालन गरेको पाँच वर्ष भयो। पहिलादेखि नै होटल व्यवसायमा लाग्दै आएका उनले र्‍यालेको मानेदोभानमा ट्राउट फार्म सञ्चालन गरेर राम्रो व्यवसाय गर्न सकिने सम्भावना देखेपछि ‘फूलचोकी रन्बो ट्राउट फार्म’ सञ्चालन गरेका हुन्।

images
images
images

उक्त व्यवसाय सञ्चालन गरेर कारञ्जितले मासिक एक लाख ५० हजारदेखि दुई लाख रूपैयाँसम्म बचत गर्ने गरेको उनले बताए।सपरिवार नै मिलेर सञ्चालन गरेको व्यवसायमा अन्य ६ जनाले रोजगारसमेत पाएका छन्। मुलको सफा पानीमा बिना औषधि उत्पादन हुने र खानाका लागि स्वादिलो हुने भएकाले सबैको रोजाइमा ट्राउट माछा पर्ने गरेको कारञ्जितले बताए।

images
images

'माछा खान आउनेको अत्यधिक घुइँचो लाग्छ, अब त्यससँगै खोलेसाग, लोकल कुखुरा, ढिँडोलगायतका परिकारको स्वाद लिन पाउने गरी सेवा थालेका छौँ', कारञ्जितले भने, 'रमाइलो गर्ने ठाउँसमेत खोज्ने भएकाले एक वर्षदेखि फूलचोकी होटल एण्ड लज सञ्चालन गर्दै आएको छु।' त्यहाँ एक पटकमा ३० देखि ३५ जनासम्म बस्ने व्यवस्था गरिएको छ।

images
images

ट्राउट माछापालन गर्न मानेदोभान उपयुक्त भएको र सबैको चासोको केन्द्र बनेपछि २० वर्षका लागि पाँच रोपनी जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरेको कारञ्जितले बताए। उनले गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारबाट १२ लाख ५० हजार रूपैयाँ अनुदान प्राप्त गरे।

पहिला एउटा मात्रै होटल हुँदा भीड हुने र सबैले माछा खान नपाउने अवस्था रहेकामा सो क्षेत्रमा अहिले पाँच ट्राउट फार्मसहितको होटल भएकाले ग्राहक फर्केर जानु नपर्ने गरी सेवा दिँदै आएको उनको भनाइ छ।

सोही ठाउँमा ‘बिहावर खोला रेन्बो ट्राउट एण्ड हाम्रो खाजाघर’ सञ्चालन गर्दै आएका दिनेश तामाङले व्यवसायबाट मनग्य आम्दानी भएको बताए। विशेषगरी ग्राहक ट्राउट माछा नै रुचाएर आउने गरेको र त्यससँगै लोकल कुखुरा र अर्गानिक तरकारी, ढिँडोको स्वाद लिन रुचाउने र्‍याले मानेदोभान पुग्ने गरेको उनले बताए। तीन वर्षदेखि सञ्चालित व्यवसायबाट चार जनाले रोजगारीसमेत पाएका छन्।

यस्तै पनौती नगरपालिका-१ पर्खालचौरका केदारनाथ सापकोटाले मानेदोभान बचत तथा ऋण सहकारीले करिब १८ वर्ष अगाडि संस्थागत रुपमा ट्राउट माछापालन व्यवसाय सुरु गरे पनि घाटामा गएपछि व्यक्तिलाई नै जिम्मा दिएर सञ्चालन हुँदै आएको बताए। व्यक्तिगत रुपमा व्यवसाय सञ्चालन गर्न थालेपछि बिस्तारै ट्राउटको हब बन्दै गएको उनले बताए। एक ठाउँमा माछापालन सुरु गरेको व्यवसाय अहिले पाँचवटा रेष्टुरेन्ट सञ्चालनमा छन्।

ट्राउट माछाका कारण चिनिएको मानेदोभानलाई थप परिचित बनाउन स्थानीय परिकार, दूधको विभिन्न परिकार निर्माण गर्ने उद्योग, स्वीमिङ पुल, मिनरल वाटर उद्योग सञ्चालन गर्ने र व्यवस्थित सडक सुविधा पुर्‍याउन सके यहाँको थप विकास हुने सापकोटाले बताए।

मोटरबाटोको सुविधा पुर्‍याउन स्थानीय सरकारले ध्यान दिन सके अझ बढी आन्तरिक पर्यटक भित्रिन सक्ने यहाँका व्यवसायी बताउँछन्। धुलिखेल नगरपालिका शङ्खुबाट घुम्न यहाँ आएकी जमुना बजगाईँले बिहावर क्षेत्र चिसो र हरियाली भएकाले घुम्नका लागि आकर्षक ठाउँ भएको बताइन्।

पछिल्लो समयमा मोटरबाटोको सुविधा विस्तार हुँदै जानुका साथै होटल पनि थपिँदै गएका कारण यस क्षेत्रमा आवतजावत बढेको छ। पनौती-१ का वडाध्यक्ष जयकुमार तामाङले र्‍यालेको मानेदोभान ट्राउट माछाको हबको रुपमा विकास हुँदै गएपछि विभिन्न सरकारी निकायमा यहाँको आर्थिक, सामाजिक र पर्यटकीय विकासमा समन्वय र सहजीकरण गर्नका लागि समेत टेवा पुगेको बताए। 'आन्तरिक तथा बाह्य पर्यटकको आवागमनसँगै विभिन्न क्षेत्रका जनप्रतिनिधि र कर्मचारीको समेत उत्तिकै आवतजावत बढेको छ। यही क्षेत्र हुँदै प्रसिद्ध धार्मिक पर्यटकीय मन्दिर फूलचोकी माइकोसमेत दर्शन गर्न सकिन्छ', उनले भने।

प्रदेश सरकारसँग सडक स्तरोन्नति गर्न दुई करोड रूपैयाँ बजेट माग गरेको उनले बताए। रासस


प्रकाशित : मंगलबार, वैशाख १८ २०८११७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend