बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आयात : उपभोगमा बढ्दै, पुँजीगत झन् खुम्चिँदै 

मंगलबार, पुस ६ २०७८
आयात : उपभोगमा बढ्दै, पुँजीगत झन् खुम्चिँदै 

तर तथ्यांकले भने उपभोग्य आयात उकालो र पुँजीगत आयातको ओरालो ट्रेन्ड देखाएको छ।   

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयातमा उच्च वृद्धि तथा रेमिट्यान्स आउने क्रम घटेको दुई मुख्य शीर्षक बने। 

सरकारीदेखि गैरसरकारी क्षेत्रका आर्थिक छलफलमा यी दुई मुख्य विषय उठ्ने गरेका छन्। आयात बढ्ने तर सोही अनुसारको निर्यात नबढ्दा व्यापार घाटा उच्च हुँदै गएको र यसैको कारणले मुलुकमा भित्रिने भन्दा बाहिरिने मुद्रा धेरै भएको छ। 

यी कारणले गर्दा मुलुकमा विदेशी मुद्राको सञ्चिति न्यूनीकरण हुँदै गएको अधिकांशको बुझाइ छ। जब आयात बढ्ने र रेमिट्यान्स न्यून हुन्छ तब मुलुकको शोधनान्तर अवस्था दबाबमा पर्दै आएको छ। यो पटक पनि त्यही दोहोरिएको छ। 

बढ्दो आयातलाई नियन्त्रण गर्नका लागि नेपाल राष्ट्र बैंकले केही वस्तुको आयातमा हुने भुक्तानीमा कडाइ गरेको छ भने नेपाल सरकारले यसअघि नै केही वस्तुको आयातमा प्रतिबन्ध वा प्रतिबन्धात्मक आयातका लागि अनुमति दिएको छ। 

तर सरकारी अधिकारी वा अर्थशास्त्रीहरू आयातलाई अर्थतन्त्रका लागि सिधै खराब मान्दैनन्। कस्ता वस्तु तथा सेवाको आयात भइरहेको छ भनेर अर्थ मन्त्रालय तथा राष्ट्र बैंकले अध्ययन गर्छन्। 

विशेषगरी उपभोग्य वस्तुको आयात धेरै हुनुलाई अर्थतन्त्रका लागि राम्रो मानिँदैन भने पुँजी निर्माणमा सहयोगी हुने वस्तुको आयातलाई सकारात्मक मानिन्छ। औद्योगिकरण, सेवा उद्योगका लागि आवश्यक मसिन, प्रविधि तथा सीपको आयातका लागि गरिने भुक्तानीलाई अर्थतन्त्रमा मूल्य अभिवृद्धिकै परिपूरक मानिन्छ। यस्तो आयातलाई पुँजीगत आयातका रुपमा वर्गीकरण गरिन्छ। 

चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको तथ्यांक अनुसार यस्तो पुँजीगत वस्तुको आयात उपभोग्य वस्तुको आयातको तुलनामा न्यून वृद्धि भएको छ। पुँजीगत वस्तुको आयात पनि वृद्धि देखिएपनि कूल आयातमा पुँजीगत आयातको हिस्सा यो वर्ष खुम्चिएको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार कूल आयातमा पुँजीगत आयातको हिस्सा गत वर्षको तुलनामा खुम्चिएको छ। यो वर्षको चार महिनामा भएको कूल आयातमा ११.१ प्रतिशतमात्र पुँजीगत आयात भएको छ। यस्तो आयातको हिस्सा गत वर्ष १३ प्रतिशत थियो। 

पुँजीगतको आयातको हिस्सा पछिल्लो तीन वर्षमा घट्दो ट्रेन्ड छ। चार वर्षअघि १३ बाट १४ प्रतिशत पुगेको यस्तो आयात अघिल्लो वर्ष १२ प्रतिशतमा झरेको थियो। 

UQn2g--.png

यो वर्षको चार महिनामा मध्यवर्ती उपभोग्य आयात कूल आयातमा ५३ प्रतिशत छ भने अन्तिम उपभोग्य वस्तुको आयातको हिस्सा ३५.८ प्रतिशत छ। 

अर्थमन्त्री जनार्दन शर्माले केही दिनअघि कान्तिपुर दैनिकमा एउटा लेख लेख्दै अर्थतन्त्र विस्तारको क्रममा हुँदा आयात बढेकाले चिन्ताजनक नरहेको उल्लेख गरेका थिए। तथ्यांक भने अर्थतन्त्रको विस्तारमा सहयोगी हुने खालको आयातको ट्रेन्ड देखिँदैन।

अर्थतन्त्रको विस्तारलाई सहयोग पुग्नेखालको आयात हुने खालको हुनका लागि पुँजीगत आयात बढ्नुपर्ने थियो। तर तथ्यांकले भने उपभोग्य आयात उकालो र पुँजीगत आयातको ओरालो ट्रेन्ड देखाएको छ। 


प्रकाशित : मंगलबार, पुस ६ २०७८०२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend