शुक्रबार, मंसिर १४ गते २०८१    
images
images

पर्वतको थापाठानाका ६ सय घरपरिवारलाई विद्युतीय चुल्हो वितरण

images
मंगलबार, वैशाख १८ २०८१
images
images
पर्वतको थापाठानाका ६ सय घरपरिवारलाई विद्युतीय चुल्हो वितरण

सबै घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरिएसँगै वडा नं २ लाई प्रदूषण मुक्त भान्छासहितको वडा घोषणासमेत गरिएको छ।

images
images

पर्वत- फलेवास नगरपालिका-२ थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो (इन्डक्सन) वितरण गरिएको छ।

images
images
images

प्रदूषणरहित भान्छा र धुवाँरहित गाउँघरको विकासका लागि रोटरी क्लब अफ पोखरा फिस्टेलको सहयोगमा वडाका सबै घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरिएको हो। थापाठानामा सात सय घरधुरी रहेका छन्। तीमध्ये झन्डै एक सय घरधुरी बसाइँसराइलगायत कारणले खाली छन्।

images

मानिसको नियमित बसोबास रहेका सबै घरपरिवारलाई एक/एक थान इन्डक्सन चुल्हो वितरण गरिएको फलेवास-२ थापाठानाका वडाध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए। ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको आयोजनामा भएको एक कार्यक्रमबीच रोटरी क्लब अफ पोखरा फिस्टेललगायत संस्थाको सहयोगमा विद्युतीय चुल्हो वितरण गरिएको हो।

images

सबै घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरिएसँगै वडा नं २ लाई प्रदूषण मुक्त भान्छासहितको वडा घोषणासमेत गरिएको छ। सामाजिक सेवामा सक्रिय रोटरी क्लबले विविध शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्ने सिलसिलामा थापाठाना गाउँमा विद्युतीय चुल्हो वितरण गरेको रोटरी क्लब अफ पोखरा फिस्टेलका डिष्ट्रिक गभर्नर नोमिनी विनोद कोइरालाले जानकारी दिए। उनले विभिन्न पाँच चरणमा विद्युतीय चुल्हो वितरण गरिएको बताए।

चुल्होसँगै यसमा प्रयोग गर्न मिल्ने भाँडा पनि वितरण गरिएको हो। चुल्होसहित अन्य भान्छामा प्रयोग हुने सामग्री प्रतिपरिवारलाई १० हजार रूपैयाँ बराबर वितरण गरिएको कोइरालाले बताए। झन्डै ६० लाख रूपैयाँ मूल्य बराबरको लागतमा चुल्होसहितका सामग्री वितरण गरिएको हो। 

यो वडामा रहेका सात सय घरपरिवारमध्ये त्यहाँ निरन्तर बसोबास गर्ने छ सयजनालाई प्राथमिकतामा पारेर चुल्हो वितरण गरिएको उनको भनाइ छ। यो चुल्होको प्रयोगले गृहिणीहरुको स्वास्थ्य अवस्थामा सुधार आउनाका साथै गाउँ पनि पूर्णरुपमा स्वच्छ हुने अपेक्षा गरिएको छ। त्यसैगरी, बढ्दो वन विनाश रोकिनाका साथै विद्युत्को खपतसमेत बढ्ने भएको छ।

चुल्हो वितरण कार्यक्रमसँगै वडा नं २ लाई प्रदूषणमुक्त घोषणा गर्दै नगरप्रमुख गंगाधर तिवारीले वडालाई प्रदूषणमुक्त वडा घोषणा गर्न सहयोग गरेकामा रोटरी क्लब अफ पोखरा फिस्टेललगायत दाताहरुको प्रशंसा गरे। उनले चुल्हो वितरण भएपछि अब गाउँ प्रदूषणमुक्त हुने र खासगरी भान्छाको काम गर्ने महिलाको स्वास्थ्य राम्रो हुँदै जाने विश्वास व्यक्त गरे। आफूले पाएको चुल्होलाई भरपुर रुपमा प्रयोग गर्न उनको आग्रह छ। 

ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष रामहरि श्रेष्ठले प्रदूषणमुक्त समाजको स्थापना गर्नका लागि रोटरी क्लबले थालेको अभियानमा सहयोग गर्न आग्रह गरे। उनले विद्युतीय चुल्होको भरपुर उपभोग गर्नसमेत आग्रह गरे।

प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल डहरेदेउरालीको काखमा रहेको थापाठानामा सञ्चालित घरबास सेवा प्रभावकारी बन्दै गएको छ। स्वच्छ र हराभरा वातावरणले घरबासमा आउने पाहुनाको आकर्षण पनि बढ्ने भएकाले विद्युतीय चुल्होले थप टेवा पुग्ने नगर उपप्रमुख शोभाकुमारी क्षेत्रीले बताइन्। रासस


प्रकाशित : मंगलबार, वैशाख १८ २०८११२:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend