शनिबार, साउन १२ गते २०८१    
images
images
images

तेस्रो लगानी सम्मेलनमार्फत विश्वका लगानीकर्ताका लागि दर्जन क्षेत्रमा लगानी आह्वान

दर्जन परियोजनामा सम्झौता, ४५ दिनको म्याद राखेर आशयपत्र माग

images
मंगलबार, वैशाख १८ २०८१
images
images
तेस्रो लगानी सम्मेलनमार्फत विश्वका लगानीकर्ताका लागि दर्जन क्षेत्रमा लगानी आह्वान
images

काठमाडौं- तेस्रो लगानी सम्मेलन समापन भएको छ। दुई दिनसम्म काठमाडौंमा चलेको सम्मेलनमार्फत सरकारले विदेशी लगानीकर्ताका लागि नेपाल उदाउँदो मुलुक भएको सन्देश दिने प्रयास गरेको छ।

images
images

१ सय ५४ परियोजना सोकेसमा राखिएपनि देखिनेगरी ठूलो लगानी प्रतिबद्धता भने आएका छैनन्। लगानीकर्तालाई विभिन्न छलफलमार्फत नेपालमा लगानी गर्न सकिने दर्जन क्षेत्रको विषयमा जानकारी भने गराइएको छ। ऊर्जा, कृषि, पर्यटन, पूर्वाधार तथा सूचना प्रविधिमा विशेष लगानी गर्न नेपालको तर्फबाट आह्वान गरिएको छ। 

images

निजी क्षेत्रका केही परियोजनामा भने १५ अर्ब रुपैयाँभन्दा बढी लगानी आउने निश्चित गर्दै सम्झौता गरिएको छ। सम्मेलनमा सबै पार्टीका नेताहरू उभिएर लगानीकर्ताका लागि सहज वातावरण बनाउने प्रतिबद्धतासमेत गरे। 

लगानी सम्मेलनमार्फत नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश गएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले बताएका छन्। सम्मेलनमा उपस्थित लगानीकर्ता उत्साही देखिनुले पनि नेपाल भरपर्दो लगानीको गन्तव्य रहेको सन्देश गएको उनी बताउँछन्।

images

‘सबै राजनीतिक दलका नेताहरुले पनि एकै ठाउँमा उभिएर लगानी गर्न आह्वान गर्नुले विश्वभर एकैपटक सकारात्मक सन्देश गएको छ,’ सीईओ भट्टले भने।

सम्झौताका लागि अघि बढ्न लगानी बोर्डले ४५ दिनको समय मागेर आशयपत्र माग्ने छ। त्यसपछि मात्रै कुन परियोजनामा कति प्रतिबद्धता आउँछ भन्न सकिने बोर्डले जनाएको छ। दोस्रो लगानी सम्मेलनमा पनि ४५ दिनको समय राखेर माग गर्दा साढे १७ खर्ब रुपैयाँ लगानी गर्ने आशयपत्र बोर्डमा आएको थियो। ती परियोजनाहरूमा अहिले विभिन्न चरणका छलफल र सम्झौता गर्ने प्रक्रिया जारी छ। 

तेस्रो लगानी सम्मेलनमा ६० देशका ८ सय भन्दाबढी विदेशी लगानीकर्ता सहभागी भएका छन्। विदेशी र स्वेदेशीसहित २५ सयभन्दा बढी सहभागी भएका थिए।

सम्मेलनमा १ सय ५४ मध्ये ईओआई भएका १९ वटा परियोजना र ९ वटा मार्केट साउन्डिङ सहितको परियोजना सोकेसमा राखिएको थियो। खासगरी ऊर्जा, आईसीटी, पर्यटन र पूर्वाधार जस्ता क्षेत्रहरूका परियोजना सोकेसमा राखिएको थियो। 

३० भन्दा बढी विदेशी प्रतिनिधिमण्डलले विभिन्न मन्त्रालयका मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए। सम्मेलनमा समानान्तर सत्रहरू प्रस्तुत गरिएका थिए। नवीकरणीय ऊर्जादेखि विभिन्न सम्भावित लगानीका क्षेत्रहरू हाइलाइट गरिएको थियो। 

सम्मेलनमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचन्डसँग पनि लगानीकर्ताले छलफल गरेका थिए। त्यस्तै अर्थमन्त्री वर्षमान पुनसँग पनि लगानीकर्ताले छलफल गरेका थिए। 

तेस्रो लगानी सम्मेलनमा कति लगानी प्रतिबद्धता आयो भन्ने विवरण सार्वजनिक नभएपनि केही परियोजनामा भने लगानी निश्चित आउनेगरी सम्झौता भएको छ। केही परियोजनामा १५ अर्ब रुपैयाँ हाराहारीमा लगानी ग्यारेन्टीको सम्झौता भएका छन्। 

तीन अर्ब रुपैयाँ लगानीमा नेपालमा डेटा सेन्टर

भारतको हिरानन्दानी समूह र नेपालको बीएलसी होल्डिङ्सबीच तीन अर्ब रुपैयाँ लगानीमा नेपालमा डेटा सेन्टर बनाउने सम्झौता भएको छ। नेपाली व्यवसायी बसन्त चौधरीको बीएलसी होल्डिङ्सले भारतीय योट्टा डाटा सर्भिससँग मिलेर नेपालमा डेटा सेन्टरमा लगानी गर्नेगरी तेस्रो लगानी सम्मेलनमा आइतबार सम्झौता भएको हो। 

सम्झौतामा योट्टा डाटा सर्भिसेस इन्डियाका सीईओ सुधिर गुप्ता र बीएलसीकी निर्देशक मेघा चौधरीले एमओयू सम्झौतामा हस्ताक्षर गरेका हुन्। हिरानन्दानी समूहको योट्टा डाटा सर्भिसले नेपालमा चौधरीको बीएलसी होल्डिङससँग मिलेर ३ अर्ब रुपैयाँमा डेटा सेन्टरमा लगानी गर्नेगरी नेपाल उद्योग परिसंघले समन्वय गरेको हो।
 
७० करोड लगानीमा रारामा रिसोर्ट 

नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अष्ट्रेलियन लगानी भित्रिएको छ। रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले ७० करोड लगानी गर्नेगरी सम्मेलनमा सम्झौता गरेको छ। 

२ अर्ब लगानीमा साखः ग्रुपले होटलमा लगानी गर्ने 

विदेशी लगानी भित्र्याएर होटल क्षेत्रमा अघि बढ्न साखः ग्रुपले तेस्रो लगानी सम्मेलनमा सम्झौता गरेको छ। साखः ग्रुपले विदेशी लगानीसहित होटलमा लगानी विस्तार गर्न लागेको हो। 

तेस्रो लगानी सम्मेलनमा साखः ग्रुपले हङकङको अनफरमन ग्रुपको र बोर होटलसँग मिलेर रिसोर्टमा लगानी विस्तार गर्न सम्झौता गरेको छ।  झन्डै २ अर्ब रुपैयाँ लगानीमा कपिलवस्तुको गोरुसिंगेमा रिसोर्ट बनाउनका लागि सोमबार लगानी सम्मेलनमा हङकङको कम्पनीसँग  सम्झौता गरिएको हो।

उद्योग विभागका ९ अर्बका लगानी स्वीकृत

तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि ९ अर्ब १३ करोड रूपैयाँ बराबरको लगानी स्वीकृत भएको छ। भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब र काठमाडौंमा व्यवसायिक भवन निर्माणका लागि तीन अर्ब रूपैयाँ बराबरको लगानी स्वीकृत भएको छ।

यस्तै संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि सात करोड ६६ लाख र ललितपुर जिल्लामा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि ६ करोड २५ लाख रूपैयाँ बराबर लगानी स्वीकृत भएको छ।

पीपीपी प्रर्वद्धन गर्न समझदारी

तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवर्द्धनका लागि ‘वर्ल्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स’ (नाप) बीच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ।


प्रकाशित : मंगलबार, वैशाख १८ २०८१०५:२५
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend