बिहीबार , जेठ ३ गते २०८१    
images
images
images
images

बस्ती विकासमा आफै जुटे राधेराधेवासी, सडक विस्तारका लागि घरघरका पर्खाल भत्काउँदै

images
सोमबार, वैशाख १७ २०८१
images
images
बस्ती विकासमा आफै जुटे राधेराधेवासी, सडक विस्तारका लागि घरघरका पर्खाल भत्काउँदै

यो बस्तीमा आइपरेको कुनै पनि समस्या र विकासका काममा समाजले छलफल गरी समस्या समाधानमा टोलवासी नै सक्रिय रहने गरेका छन्।

images
images

भक्तपुर- टोलवासीले चाहे के गर्न सकिन्न र? भन्ने नमुना प्रस्तुत गर्दै आफ्नो बस्ती विकासमा जुटेका राधेराधेवासीले सडकको चौडाइ विस्तारका लागि घरघरका पर्खाल भत्काउने अभियान सुरु गरेका छन्।

images
images
images

मध्यपुरथिमि नगरपालिका‐९ राधेराधे बस्तीवासीले १३ फिटे भित्री सडकलाई २० फिटे फराकिलो बनाउन आफ्ना घर, कम्पाउण्डका पर्खाल आफै भत्काउन थालेका हुन्।

images

मध्यपुरथिमि नगरपालिका-९ राधेराधेका दुई सय ५० घरका बासिन्दाको भेलाले २०७३ असारमा दर्ता गरी सामुदायिक भवनसमेत निर्माण गरी सञ्चालन गर्दै आएको ‘श्यामाश्यामा निकोशेरा समाज’ को नेतृत्वमा सडक फराकिलो पार्ने अभियान सुरु गरेको हो।

images
images

समाजका अध्यक्ष जनार्दन नेपालले सानो सडकले दोहोरो यातायात सञ्चालनमा सहज बनाउन, दमकल, एम्बुलेन्स जस्ता साधन प्रवेशमा सहज गराउन समाजको छलफल र निर्णयानुसार बस्तीभित्रका सबै घरमा पुग्ने सडक २० फिट फराकिलो बनाउने सहमतिअनुसार घर कम्पाउण्डका पर्खाल भत्काउन सुरु गरिएको बताए। सुरुमा रामप्रसाद शाहले पर्खाल भत्काउन थालेपछि सिर्जना रोक्का, सुशीला शिवाकोटी हुँदै अभियान चालु छ।

images
images

उनले भने, 'हाम्रो बस्ती विकासमा समाज र सिङ्गो बस्ती हेस्टेमा हैँसे गर्दै लागिरहेको छ, हाम्रो यस बस्तीको सामाजिक, आर्थिक, भौतिक पूर्वाधार, शैक्षिक, खेलकुद, खानेपानी जस्ता पूर्वाधारको विकासमा जुटिरहेका छौँ, अहिले सडक चौडा गर्ने सहमति अनुसार सबैले आफ्नो कम्पाउण्ड भत्काउन सुरु गरेका छौँ, अब सबैको घरमा २० फुटे सडक पुर्‍याउनेछौँ।'

उनले अहिलेसम्म करिब २० वटा घरधनीले आफै कम्पाउण्ड भत्काइसकेको जानकारी दिँदै समाजका पदाधिकारीको घरबाट भत्काउनु सुरु गरेको र करिब ९० घरको पर्खाल भत्काएपछि अभियान पूरा गर्दै सीमांकन गरिने बताए। 

विभिन्न सरकारी निकायबाट गत आर्थिक वर्षमा २० लाख र चालु आर्थिक वर्षमा ६० लाख रूपैयाँ बजेट ल्याउन सफल भएको भन्दै उनले पर्खाल भत्काउने कार्य सम्पन्न गरेर सबै सडक कालोपत्र गर्न योजना अगाडि बढाएको बताए।

समाजका उपाध्यक्ष दुर्गाप्रसाद निरौला अध्यक्षलगायत आफ्नो र पदाधिकारीले गत शनिबार बिहानदेखि नै कम्पाउण्ड भत्काउन थालेको जानकारी दिँदै अहिलेसम्म कतै अवरोध नभइ थप पर्खाल भत्काउने कार्य जारी रहेको बताए।

पर्खाल भत्काइसकेपछि वडाध्यक्षलगायतको रोहबरमा सीमांकन गरी २० फिटे सडक कायम गरिने जानकारी दिँदै अध्यक्ष नेपालले कहीँकतै छिटफुट रुपमा पर्खाल भत्काउन अटेर गरे वडा कार्यालयको सहजीकरणमा भत्काइने जानकारी दिए।

मध्यपुरथिमि नगरपालिका‐९ का वडाअध्यक्ष सानुकाजी राजबाहकले राधेराधेवासीले सडकको महत्व बुझेर आफै सडक फराकिलो बनाउन कम्पाउण्ड भत्काएर उदाहरणीय कार्य गरेको भन्दै यहाँको एकताबाट अरुले पनि पाठ सिक्नुपर्ने बताए।

पर्खाल भत्काउन सडक सीमांकनमा अधिकांश ठाउँमा विवाद र लफडा हुने भए पनि यहाँ भने स्थानीयवासी नै विकासका लागि जुर्मुराएको भन्दै यस्तो उदाहरणीय कार्य गरेपछि नगरपालिका र वडाले पनि विकासका बजेट थप गर्न सहज हुने बताए। राधेराधे निकोसेरा क्षेत्रमा वडा कार्यालयले सात करोड रूपैयाँको बजेटमा काम गरेकोसमेत उनले बताए।

वडाध्यक्ष राजबाहकले भने, 'मध्यपुरथिमि नगरपालिकाकै उपयुक्त नयाँ बस्तीको रुपमा विकास भएको राधेराधे क्षेत्र अहिले भक्तपुरको ठमेल भनेर चिनिन थालेको छ, यो गौरवको कुरा हो, यो ठाउँलाई भक्तपुरकै नमुना बस्ती बनाउने, र भक्तपुरको बिजिनेश हबको रुपमा विकास गर्ने लक्ष्य रहेको छ, विकासमा कहीँ कतै अवरोध आए वडा कार्यालय अगाडि उभिएर सहजीकरण गर्नेछ।'

आफ्नै घरको कम्पाउण्ड पर्खाल भत्काउँदै गरेकी स्थानीय गीता निरौलाले सबैले फराकिलो बाटोको आवश्यकता महसुस गरी सिंगो बस्तीको सहमति अनुसार आफनो कम्पाउण्ड भत्काएको बताइन्।

तेह्र फिटको सडकलाई सडकको दायाँबायाँका घरको कम्पाउण्ड पर्खाल भत्काएर दुवैतर्फ तीन फिटभित्र सारेर २० फिटको फराकिलो सडक बनाउने र अर्को नयाँ कम्पाउण्ड लगाउने गरी पर्खाल भत्काउन थालेको उनले सुनाइन्।

वडाध्यक्ष राजबाहकसहित वडा सदस्यलगायतको टोलीले त्यसक्षेत्रमा भइरहेको पर्खाल भत्काउने अभियानको प्रत्यक्ष अवलोकन गरेका छन्। पूर्वमा भक्तपुर नगरपालिकाको सीमानाको हनुमन्ते खोला, पश्चिममा राधेराधे कमेरोटार बस्ती, भाटभटेनी सुपर मार्केट, उत्तरमा निकोसेरा सडक र दक्षिणमा अरनिको राजमार्गको चार किल्लाभित्र रहेको यो बस्तीमा आइपरेको कुनै पनि समस्या र विकासका काममा समाजले छलफल गरी समस्या समाधानमा टोलवासी नै सक्रिय रहने गरेका छन्। रासस

images

प्रकाशित : सोमबार, वैशाख १७ २०८१०१:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend