बुधबार, जेठ २ गते २०८१    
images
images
images
images

गण्डकीका ४६७ स्थानमा डढेलो, आठ हजार २७७ हेक्टर वन क्षेत्र प्रभावित

images
सोमबार, वैशाख १७ २०८१
images
images
गण्डकीका ४६७ स्थानमा डढेलो, आठ हजार २७७ हेक्टर वन क्षेत्र प्रभावित

डढेलोबाट नवलपुरमा ८५ क्यूफिट काठ र एक चट्टा दाउरा क्षति भएको छ भने आगो बस्ती पस्दा स्थानीयको घरगोठ र पशुधनको क्षति भएको छ।

images
images

गण्डकी- गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ। प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ।

images
images
images

सुक्खायाम लम्बिँदा डढेलोका घटना अझै बढ्ने देखिएको निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले बताए।

images

हिमालपारिको जिल्ला मुस्ताङबाहेक प्रदेशका दशवटै जिल्लामा डढेलोका घटना भएको निर्देशनालयले जनाएको छ। सबैभन्दा बढी नवलपुरमा झन्डै २५ सय ५३ हेक्टर र सबैभन्दा कम मनाङमा दुई हेक्टर वन क्षेत्रमा डढेलो लागेको हो। सबैभन्दा बढी म्याग्दीमा ८१ र मनाङमा एक स्थानमा डढेलो लागेको वन अधिकृत थापाले बताए।

images
images

नवलपुरमा ८० स्थानमा, पर्वतमा ५५, बागलुङमा ५२, स्याङ्जामा ५२, गोरखामा ५१, कास्कीमा ४५, तनहुँमा २६ र लमजुङमा २४ स्थानमा डढेलो लागेको उहाँको भनाइ छ। नवलपुरपछि सबैभन्दा बढी बागलुङमा १६ सय ८५ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ। पर्वतमा १४ सय १६ हेक्टर, म्याग्दीमा नौ सय २२, कास्कीमा सात सय ५०, स्याङ्जामा चार सय ९७, गोरखामा दुई सय १५, तनहुँमा एक सय ८४ र  लमजुङमा ५१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको निर्देशनालयले जनाएको छ।

images
images

डढेलोले धनजनकोसमेत क्षति निम्ताएको वन अधिकृत थापाले बताए। बागलुङको तमानखोला गाउँपालिकामा डढेलो निभाउने क्रममा एक जनाको ज्यान गएको र दुई जना घाइते भएको उनको भनाइ छ।

ताराखोला गाउँपालिकामा स्थानीयवासीको घरगोठ जलेको र पशुधनको क्षति भएको उनले बताए। म्याग्दीमा पनि डढेलो नियन्त्रणमा लिने क्रममा एक जना घाइते भएको जनाइएको छ। 

निर्देशनालयका अनुसार डढेलोबाट नवलपुरमा ८५ क्यूफिट काठ र एक चट्टा दाउरा क्षति भएको छ। वन क्षेत्रमा हुने बोटबिरुवा, वन्यजन्तु, काठ र दाउराको क्षति भने आकलन नै गर्न नसकिने वन अधिकृत थापाले बताए। 'डढेलोले वन क्षेत्रमा बर्सेनि ठूलो नोक्सानी भइरहेको हुन्छ, डढेलो अनियन्त्रित भएर मानव बस्तीतिर सर्दा पनि धनजनकोसमेत क्षति हुन्छ', उनले भने।

डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पुर्‍याइरहेको वन अधिकृत थापाले बताए। नेपालमा मुख्य गरी फागुनदेखि जेठसम्ममा डढेलोका घटना बढी हुने गरेको उनको भनाइ छ। 

वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश थापाले गर्मीयाममा वनमा हुने पातपतिंगर र घाँसदाउरा बढी प्रज्वलनशील हुने हुँदा डढेलो छिटो फैलने गरेको उनको भनाइ छ। हिउँदे वर्षा नहुनु, हावाहुरीको याम जस्ता कारणले पनि डढेलोले प्रश्रय पाउने गरेको उपसचिव थापाले बताए।

मानवीय कारणले नै डढेलो लाग्ने गरेको उनको भनाइ छ। '५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापरबाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको छ', उपसचिव थापाले भने, 'पछिल्लो समय वन व्यवस्थापनका क्रियाकलाप घट्दा पनि डढेलोको प्रकोप बढिरहेको देखिन्छ।'

आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भनेर व्यक्तिले जानजानी आगो लगाउँदा त्यो अनियन्त्रित भइ डढेलोको रुप लिने गरेको उनको भनाइ छ। वन डढेलोका बहुअसर रहेको उपसचिव थापाले बताए।

'डेढेलोले जैविक विविधतामा ह्रास ल्याउनुका साथै वातावरणीय प्रदुषण निम्त्याउँछ', उनले भने, 'डढेलो लाग्दा हुने कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा भूमिका खेलिरहेको हुन्छ।'

डढेलोले माटोको प्रांगारिक तत्व नष्ट हुने, जनजन्तुको बासस्थान नासिनेलगायतका समस्या निम्तने गरेको उनको भनाइ छ। डढेलोले भू-क्षय, बाढीजस्ता प्राकृतिक विपतका घटना पनि बढाउने उपसचिव थापाले बताए। बर्सेनि बढीरहेको डढेलोको प्रकोप नियन्त्रणका लागि राज्यले प्रयाप्त जनशक्ति, उपकरण र स्रोतसाधनको प्रबन्ध गर्नुपर्ने उपसचिव थापाले बताए।

डढेलो लगाउने व्यक्तिलाई कानूनबाट दण्डित गर्ने गरिएपनि यसमा कमी आउन नसकेको उनको भनाइ छ। जनचेतना फैलाउने र प्रचारप्रसारका काम गर्नुपर्ने उनले बताए। सुक्खायामपूर्व नै डढेलो संवेदनशील क्षेत्रबाट पातपतिंगरलगायत जल्ने पदार्थ हटाउनुपर्ने उपसचिव थापाले बताए। 'वनमा अग्नि रेखाको निर्माण, सरसफाइ जस्ता कार्य नियमित गर्नुपर्छ', उनले भने, 'डढेलो नियन्त्रणका लागि जनसहभागिता जुटाउनुपर्छ।'

images

प्रकाशित : सोमबार, वैशाख १७ २०८११२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend