शनिबार, असोज ५ गते २०८१    
images
images

दुई लाख रूपैयाँले घर बन्दैन, चिसोमा जस्तापाताकै भर

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस ४ २०७८
images
images
दुई लाख रूपैयाँले घर बन्दैन, चिसोमा जस्तापाताकै भर

आंशिक क्षति तर उच्च जोखिमका १५ घर छन्। आंशिक क्षति न्यून जोखिमका २३ घर छन्। यी घर मर्मत गरेर बस्न सकिन्छ।

images
images

मनाङ- चिसो बढेसँगै माथिल्लो मनाङका वासिन्दा जिल्ला बाहिर झरिसकेका छन्। मनाङका नार्पाभूमी गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका अधिकांश मानिस घर कुरुवा राखेर काठमाडौँ, पोखरालगायत सहरमा पुगिसकेका छन्।

images
images
images

बाढीले क्षति पुर्‍याएका चामे गाउँपालिका र नासो गाउँपालिकाका मानिस भने जाडोयाममा जिल्लामा नै बसोबास गर्ने गर्दछन्। झनै यसपटक बाढीका कारण घरबार विहिन भएका यहाँका मानिस राहतमा आएका जस्तापाता तथा प्रदेश सरकार र गाउँपालिकाले उपलब्ध गराएको राहत रकमले बगर पञ्छाएर बसेका छन्। उनीहरू जस्तापाताको टहरामा दिन काटिरहेका छन्। उनीहरू अहिलेको यो चिसोमा पनि मर्स्याङ्दीको किनारमा बगर पन्ञ्छाउँदै कष्टकार जीवन बिताएका छन्।

मनाङको तल्लो क्षेत्र नासो गाउँपालिका-१ सिरानतालमा सात घर थियो। गत जेठ ३१ को रातिदेखि परेको अवरिल वर्षाले मर्स्याङ्दीमा बाढी आउँदा सबै बगायो। स्थानीयवासी राजन गुरुङका अनुसार अहिले कुन ठाउँमा कुन घर थियो भनेर अड्कल गर्न पनि सकिँदैन। जसोतसो मान्छे जोगिए पनि घरबारी सबै बगायो। घर भएको ठाउँ पूरै बगर बनेको छ। पहिलेको ठाउँमा अब अर्को घर बनाउन पनि मिल्दैन।

भीरपाखाको ओडार र छेलमा बसेर रात कटाएका स्थानीयवासी अहिले कोही तालबजारको छिमेकीकोमा छन्। कोही बेंशीसहर आफन्तकोमा छन्। सिरानतालकै दूधजङ्ग गुरुङको परिवार तालबजारस्थित कविन्द्र गुरुङको घरमा एउटा कोठा भाडामा लिएर बसेको छ।

images

बाढीले डुबाएको कविन्द्रको घरका कोठाबाट बालुवा झिकेर पत्नी र छोरीसहित तीन जनाको परिवार एउटा कोठामा बसेको छ। तालडाडामा पालमुनि बस्दै आएको परिवार चिसोले सताउन थालेपछि तीन साताअघि मात्रै कविन्द्रको घरमा आएका हुन्। 'दाताले दिएको पालमुनि बसियो । चिसोले सकिएन । तप्पतप्प चिसो चुहिएपछि डेरा खोजेर बस्यौँ', उनले भने।

उनका अनुसार हिउँद अगाडि जस्ताको अस्थायी टहरा बनाउने योजना छ। यसका लागि गण्डकी प्रदेश सरकारले रु दुई लाख दिएको छ। 'हामी घरबार विहीन भएको सात महिना भयो, प्रदेश सरकारले चेक दिएको छ। अब घर टहरा बनाउनुपर्ला', उनले भने। 'चिसो छल्न आफन्तको घरमा कोठा लियौँ। दुई लाख रूपैयाँले घर बन्दैन। टिन जस्तापाताले बार्ने र टिनैको छानो हाल्ने हो। टिनले पनि के जाडो छेकिएला र खै?'

तालबजारकै खिमबहादुर गुरुङको घरमा कोठा लिएर बसेका भीमबहादुर गुरुङले पनि दुई लाख रूपैयाँको चेक बुझे। पत्नी, दुई छोरी र एक छोरा अहिले कोठामा बसेका छन्। मर्स्याङ्दीले घर सबै पुरिएपछि उनी तालडाँडामा विस्थापित भएका थिए। 'तालडाँडामै टेन्ट लगाएर बसियो। घर र खाद्यान्न सबै बाढीले डुबायो। दाताले दिएको राहत पनि सकियो', उनले भने, 'राहतको पैसाले सानोतिनो टहरा बनाउनुपर्ला। घर बनाउन पछि केन्द्र सरकारले दिने भनेको छ ।'

नासों-१ का अध्यक्ष झलकबहादुर गुरुङले पूर्ण क्षतिको सूचीमा परेको तालगाउँका २२ घरधुरीलाई प्रदेश अर्थमन्त्री राम्जी बरालले धारापानीमा आएर दुई/दुई लाख रूपैयाँको चेक हस्तान्तरण गरेका थियो। 'घर बनाउनका लागि पैसापछि आउँछ भन्नुभएको छ' उनले भने, 'केन्द्र सरकारले दिने हो कि, प्रदेशले दिने हो, त्यो त उनले भन्नुभएन।'

अध्यक्ष चन्द्र घलेले गाउँपालिकाभित्र पूर्ण क्षति पुगेका लाभग्राहीको सङ्ख्या ४४ रहेकामा ३९ जनाले रु दुई लाखका दरले राहत पाएको बताए। पाँच जनाको भने केही कागजात अपुग भएको भन्दै नपाएको उनले बताए।

उनका अनुसार क्षति भएको ठाउँमा टालटुल गर्न, अस्थायी टहरा बनाउन भन्दै उक्त रकम दिएको हो। 'घरबारविहीन भएको सात महिना भयो। जनता भोकै छना  कि, नाङ्गै छन् कि भनेर वास्ता नगर्ने भनेर गुनासो गरेँ। नियम, प्रक्रियाले गर्दा ढिलो भयो भन्ने कुरा मन्त्रीबाट आयो', उनले भने। उनका अनुसार केन्द्र सरकारले रु ५ लाख दिने भन्ने कुरा छ। तर, कसरी दिने भनेर प्रस्ट छैन। 'केन्द्रले ६० प्रतिशत, प्रदेशले ३० र स्थानीय तहले १० प्रतिशत रकम पुनःनिर्माणका लागि दिने भन्ने थियो', उनले भने, 'दुई लाख रूपैयाँ के भनेर दिएको हो, प्रस्ट छैन। प्रदेशले फेरि दिन्छ वा दिँदैन, त्यो पनि प्रस्ट छैन।'

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार प्रदेश सरकारबाट ७४ लाभग्राहीका लागि रु एक करोड ४८ लाख बजेट आएको थियो। प्रदेश विपद् व्यवस्थापन नियमावलीअनुसार एक लाख र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप एक लाख गरी दुई लाख रूपैयाँ आएको बताए। उनका अनुसार यो रकम निजी आवास पुनःनिर्माणका लागि प्रदेश सरकारको विशेष राहत हो । सङ्घीय र स्थानीय सरकारको रकम आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले जनाकारी दिए। 

'बाढीपहिरा पीडितको पुनःस्थापना तथा घर पुनःनिर्माणको लागि हो। प्रदेश सरकारबाट अर्र्काे रकम आउँछ वा आउँदैन, यसै भन्न सकिँदैन', उनले भने।

मन्त्री बरालले भने विशेष प्याकेजका रूपमा बाढीपीडितलाई उक्त रकम प्रदान गरिएको बताउनुभएको थियो। नासो गाउँपालिका-१ का अध्यक्ष झलकबहादुर गुरुङका अनुसार तालगाउँको सबै घर डुबानमा परेका छन्। सिरानतालको सात घरसहित करिब ६० घर डुबानमा परेको उनले बताए। नासो गाउँपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत गोविन्दबहादुर रानाभाटका अनुसार गाउँपालिकाभित्रका ८२ घरधुरीमा बाढीपहिराले क्षति पुर्‍याएको छ। यसमा पूर्ण क्षति भएका ४४ घर छन्। आंशिक क्षति तर उच्च जोखिमका १५ घर छन्। आंशिक क्षति न्यून जोखिमका २३ घर छन्। यी घर मर्मत गरेर बस्न सकिन्छ।

उनका अनुसार वडा नं १ को तालमा मात्रै ५८ घरमा क्षति पुगेकामा २३ घरमा पूर्ण क्षति छ। १५ घर आंशिक क्षति तर उच्च जोखिममा छन्। १३ घर आंशिक क्षति छन्। आठ घरमा सामान्य क्षति छ । तालका १५ घर परिवार अरूकोमा आश्रय लिएर बसेका छन्। छ परिवार अन्यत्रै सरेका छन्। नासों-३ धारापानीका १४ परिवार आफन्तकोमा आश्रय लिएका छन्। पूर्ण क्षति नभएपनि आफ्नो घरमै बस्न नसकेका, लामो समयसम्म अन्यत्रै बस्न बाध्य भएका र आफ्नो घरमा बस्दा पनि मर्मत गरी बस्नुपर्नेलाई राहतमा नसमेटेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्। रासस


प्रकाशित : आइतबार, पुस ४ २०७८१०:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend