आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

कालीकोटकै नमुना स्याउ बगैँचा फोइमहादेवमा

images
बिहीबार , वैशाख १३ २०८१
images
कालीकोटकै नमुना स्याउ बगैँचा फोइमहादेवमा

कालीकोटको तिलागुफा नगरपालिका, महावै गाउँपालिका, पचालझरना गाउँपालिका र रास्कोट नगरपालिकाका एक हजार तीन सय हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुँदै आएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ।

images
images

मान्म- कालीकोट जिल्लाकै नमुना स्याउ बगैँचा तिलागुफा नगरपालिका-३ फोइमहादेव गाउँमा रहेको छ। स्थानीय नवीन हमालले चुली कर्णाली एग्रो फार्ममार्फत् तीन वर्षदेखि सञ्चालन गरेको स्याउ बगैँचा जिल्लाकै नमुना स्याउ बगैँचा हो।

images
images
images

शिक्षकसमेत रहेका हमालले फोइमहादेवको दहचौरमा रहेको महादेव माध्यमिक विद्यालयको आठ हेक्टर जमिन लिजमा लिएर सञ्चालन गरेको नमुना स्याउ बगैँचामा फुजी, गाला र गोल्डेन जातका गरी ११ हजार स्याउका बिरुवा रोपिएका छन्।

images
images

हमालले चुली कर्णाली एग्रो फार्म दर्ता गरेर नमुना स्याउ बगैँचा निर्माण गरेका हुन्। फोइमहादेव गाउँमा फुजी स्याउ उत्पादनको सम्भावना रहेको र स्याउबाट मनग्य आम्दानी लिन सकिने भएकाले आफूले शिक्षण पेसाबाट कमाएको पैसासमेत खर्च गरेर स्याउ बगैँचा निर्माण गरेको हमालले बताए।

images
images

‘गाउँमै फुजी जातको स्याउको नमुना बगैँचा बनाएर उत्पादन सुरु गर्न थालेको छु', उनले भने, 'अहिले मैले लगाएको फुजी जातको स्याउले राम्रो उत्पादन दिन थालेपछि गाउँका अरुले समेत स्याउ रोप्न थाल्नुभएको छ।'

वार्षिक दुई लाख ५० हजार रूपैयाँ महादेव माध्यमिक विद्यालयलाई भाडा तिरेर लिजमा लिएको जग्गामा अहिले थरिथरिका स्याउ फुलेको देख्दा आफूलाई खुसी लाग्ने गरेको हमालले बताए। 'बगैँचामा हालसम्म दुई करोड रूपैयाँ लगानी गरिसकेको छु', उनले भने, 'यस वर्षमात्र मैले पाँच हजार स्याउका बिरुवाबाट फल उत्पादन गर्ने लक्ष्य राखेको छु।'

बगैँचा व्यवस्थापनका लागि स्याउ जोन जुम्ला कार्यालयबाट ५० प्रतिशत अनुदानमा ४२ लाख रूपैयाँमात्र सहयोग पाएको हमालले बताए। 'स्याउ उत्पादनमा कालीकोटलाई चिनाउनु छ। बाँकी लगानीअनुसारको उत्पादनका लागि बगैँचा गोडमेलमा छौँ', उनले भने, 'यो स्याउ बगैँचामा दुई जनालाई निरन्तर रोजगारी दिएको छु।'

तिलागुफाको फोइमहादेव गाउँमा धेरै किसानले स्याउ बगैँचा विस्तारका लागि कार्यालयबाट अनुदान लिएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ। 

चुली कर्णाली एग्रो फार्मले सञ्चालन गरेको फोइमहादेवको दहचौर स्याउ बगैँचा जिल्लाकै नमुना बगैँचा रहेको जिल्ला कृषि विकास कार्यालय कालीकोटका प्रमुख भरत बस्नेतले बताए।

'यो बगैँचालाई आवश्यक थोपा सिँचाइ, स्याउमा लाग्ने रोग नियन्त्रणका लागि विषादिदेखि अन्य अनुदान सहयोग गरेका छौँ', उनले भने, 'नमुना स्याउ बगैँचा निर्माण गरेर कालीकोटमा स्याउखेतीको सम्भावना राम्रो छ भन्ने सन्देश दिएको छ।'

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका, पचालझरना गाउँपालिका र रास्कोट नगरपालिकाका एक हजार तीन सय हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुँदै आएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , वैशाख १३ २०८११४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend