आइतबार, जेठ ६ गते २०८१    
images
images

'कतारका अमिरको नेपाल भ्रमणमा जलविद्युत् र पर्यटनमा लगानीका लागि आग्रह गरौँ'

images
सोमबार, वैशाख १० २०८१
images
images
'कतारका अमिरको नेपाल भ्रमणमा जलविद्युत् र पर्यटनमा लगानीका लागि आग्रह गरौँ'

कतारले नेपालको ऊर्जा क्षेत्र त्यसमा पनि स्वच्छ ऊर्जामा लगानीका लागि इच्छा व्यक्त गरेको छ। त्यसलाई पनि कतारका अमिरको भ्रमणका क्रममा सरकारकोतर्फबाट विशेष आग्रह गर्नुपर्ने माग पनि उठेको छ।

images
images

काठमाडौं- कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन्।

images
images
images

पहिलोपटक कतारका अमिर नेपाल भ्रमणमा आउन लागेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको कतारी अमिरको भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास पनि लिइएको छ।

images

भ्रमणका क्रममा केही महत्वपूर्ण विषयमा द्विपक्षीय समझदारीसमेत हुने बताइएको छ। सरकारले कतारका अमिरको नेपाल भ्रमणका क्रममा मंगलबार सार्वजनिक बिदासमेत दिएको छ। कतारी अमिरको भ्रमणलाई देशभित्र र बाहिरसमेत असाध्यै महत्वका साथ लिइएको छ।

images
images

पछिल्लो समय नेपालीको श्रम गन्तव्यका रुपमा परिचित कतारले भौतिक पूर्वाधार, सूचना प्रविधि, नागरिक उड्डयनका क्षेत्रमा गरेको प्रगतिबाट नेपालले पनि लाभ लिनसक्ने बताइएको छ। कतारले नेपालको ऊर्जा क्षेत्र त्यसमा पनि स्वच्छ ऊर्जामा लगानीका लागि इच्छा व्यक्त गरेको छ। त्यसलाई पनि कतारका अमिरको भ्रमणका क्रममा सरकारकोतर्फबाट विशेष आग्रह गर्नुपर्ने माग पनि उठेको छ।

images
images

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष रमेश भट्ट कतार नेपालको भरपर्दो मित्र भएकाले पनि अमिरको भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा विश्वास गर्छन्। अध्यक्ष भट्टले भने, 'विगतदेखि नै नेपाललाई खुला हृदयका साथ सहयोग गर्दै आएको कतार पछिल्ला दिनमा विकास र प्रविधिको केन्द्रका रुपमा विकास भएको छ। यसबाट नेपालले लाभ लिनुपर्छ।'

उनका अनुसार वैधानिक तवरबाट कतारमा काम गर्न गएका नेपालीको सङ्ख्या तीन लाख ६४ हजार छ। यस्तै पर्यटक र विद्यार्थी प्रवेशाज्ञामा गएका नेपालीको सङ्ख्या पनि उल्लेख्य छ। एनआरएनका तर्फबाट कतारका अमिरलाई हृदयदेखि नै स्वागत गरिने र नेपालको समृद्धिको साझेदार बन्नसमेत आग्रह गरिने जानकारी दिँदै अध्यक्ष भट्टले फिफा विश्वकपको सफलताका लागि नेपाली समुदायले खेलेको भूमिकालाई त्यहाँको सरकारले आत्मसात् गरेको बताए।

'नेपाली नागरिकलाई कतारले रोजगारीको अवसर प्रदान गरेको छ। नेपालीले श्रम र पसिना पनि बगाएका छन्। त्यसका आधारमा कतारले नेपालका केही महत्वपूर्ण परियोजनामा लगानी गरिदेओस् भन्ने मेरो पनि अपेक्षा छ', अध्यक्ष भट्टले भने।

यस्तै पर्यटन, शिक्षा तथा सूचना प्रविधिका क्षेत्रमा पनि कतारले मौलिक प्रगति गरेको छ। नागरिक उड्डयनका क्षेत्रमा कतार एयरलाइन्सको आफ्नै विशेष पहिचान बनाएको छ। नेपाल र कतारबीच १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। कतारसँगको कूटनीतिक सम्बन्ध स्थापना भएको २० वर्षपछि सन् १९९८ मा नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कतारको भ्रमण गरेका थिए। अमिरको उपाधि प्राप्त गरेका अल थानीको नेपाल भ्रमण आफैमा महत्वपूर्ण र विशिष्ट भएकाले पनि यसबाट लाभ लिन सकिने अध्यक्ष भट्टको भनाइ छ।

कतारका तर्फबाट भने द्विपक्षीय सम्बन्ध कायम भएको ४५ वर्षपछि राष्ट्रप्रमुखको नेपाल भ्रमण हुन लागेको हो। नेपाली नागरिकका लागि सहज वैदेशिक रोजगारीको गन्तव्यका रुपमा कतार स्थापित भएका सन्दर्भमा नेपाल र कतारबीच समयानुकूल श्रम सम्झौता भए थप सहज हुने उनको भनाइ छ। नेपालले वार्षिकरुपमा प्राप्त गर्दै आएको विप्रेषणको ठूलो हिस्सा समेत कतारबाट प्राप्त गर्दै आएको छ। नेपालीको सुरक्षित रोजगारीका लागि नेपाल सरकारको आग्रहमा कतार सरकारले महत्वपूर्ण सम्बोधन गरेको जानकारी दिँदै केहीले गरेको कमजोरीलाई आम रुपमा लिन नहुने अध्यक्ष भट्टको भनाइ छ।

कतारको विकासमा नेपालीले पुर्‍याएको योगदानको सम्मान हुनेगरी त्यहाँ श्रम गरिरहेका नेपालीलाई मर्यादित कामको सुनिश्चितता तथा श्रमिकले पाइरहेका झन्झटलाई अन्त्य गर्ने विषयलाई नेपालले प्राथमिकताका साथ उठाउने र अमिरको भ्रमणका क्रममा त्यस विषयले प्राथमिकता पाउने अध्यक्ष भट्टले स्पष्ट पारे।

पछिल्ला दिनमा कतार समन्वय र विवाद समाधान गर्ने केन्द्रका रुपमा स्थापित भएको छ। नेपालले पनि मौलिक प्रकारको शान्ति प्रक्रियाको कामलाई अगाडि बढाएको छ। त्यसका अलावा कतार पछिल्लो समय पश्चिम एसियाको महत्वपूर्ण शक्ति राष्ट्रका रूपमा स्थापित भएको छ।

नेपालबाट सन् २०१८ अक्टोबर ३० देखि नोभेम्बर २ सम्म तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले कतारको राजकीय भ्रमण गरेका थिए। त्यसअघि सन् २०११ अक्टोबर १० मा तत्कालीन राष्ट्रपति रामवरण यादव, सन् २०१९ अप्रिलमा तत्कालीन सभामुख कृष्णबहादुर महराले कतारको भ्रमण गरेका थिए।

एनआरएनएका संस्थापक मध्येका एक आरके शर्माका अनुसार वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०१४ मा अनौपचारिकरुपमा कतारको भ्रमण गरेका थिए। सोही भ्रमणका क्रममा उनले कतारकातर्फबाट नेपालमा उच्चस्तरीय भ्रमण होस् भन्ने कामना गरेको शर्माको भनाइ छ।

भौतिक पूर्वाधारको विकासमा कतार सरकारले गरेको लोभलाग्दो प्रगतिबाट लाभ लिन नेपाल चुक्न नहुने उल्लेख गर्दै अध्यक्ष भट्टले भने, 'नेपालीलाई कतार सरकार र कतारी नागरिकले इमान्दार भनेर चिनेका छन्। यही मूल्यका आधारमा एनआरएनएलगायतका संस्थालाई पनि सामाजिक संस्थाका रुपमा मान्यता दिएका छन्।'

नेपालीको उपस्थिति बढ्दै जाँदा नेपाली पाठशालाको माग पनि कतारमा उठेको छ। यस विषयमा पनि अमिरको भ्रमणका क्रममा सम्बोधन भइदिए धेरैले लाभ हासिल गर्ने अध्यक्ष भट्टको कथन छ।

कतारलगायतका देशका नागरिकलाई नेपाल भ्रमणका लागि अभिप्रेरित गर्न सकिए त्यसबाट ठूलो लाभ हासिल हुने विश्वास लिइएको छ। यस्तै अर्गानिक कृषिउपजको ठूलो बजार कतार हुनसक्छ। हिमाली क्षेत्रको पानी प्रशोधन गरेर कतारका बिक्रीवितरण गर्न सकिने सम्भावना पनि उत्तिकै रहेको जानकारी दिँदै अध्यक्ष भट्टले नेपालको तर्फबाट आवश्यक पहल भए त्यसका लागि सहजीकरण गर्न एनआरएनए तयार रहेको बताए।

कतारका रहेका नेपालीकातर्फबाट अमिरको नेपाल भ्रमणको सफल होस् भन्ने कामना गरेको उल्लेख गर्दै अध्यक्ष भट्टले भने, 'नेपालीको पसिनाले जसरी कतार समृद्ध बनेको छ। त्यसैगरी नेपालको विकास र समृद्धिका लागि पनि कतारका तर्फबाट महत्वपूर्ण सहयोग होओस् भन्ने कामना छ।'

आफूहरुले कतारको निजी क्षेत्रसँग मिलेर पनि काम गर्नसक्ने जानकारी दिँदै अध्यक्ष भट्ट अमिरको भ्रमणपछि केही महत्वपूर्ण कामले गति लिने विश्वास व्यक्त गरे।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ताको कार्यक्रम तय भएको छ। यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि द्विपक्षीय भेटवार्ता गरी केही महत्वपूर्ण सम्झौता एवं समझदारीमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ। अमिरको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने र जनस्तरमा विकास हुने थप वातावरण बनाउने विश्वास लिइएको छ। रासस


प्रकाशित : सोमबार, वैशाख १० २०८१०५:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend