काठमाडाैं- नेप्से परिसूचक गएको भदौ २ गते ३१९९ अंकमा पुगेपछि तल झर्न थालेको थियो। जुन कहिले घट्ने बढ्ने हुँदै बजार २३७६ मा आएर रोकिएको छ।
अबको कारोबारको साता के हुन्छ भन्न सकिने अवस्था छैन। बजार उच्च अंकबाट ८२३ अंक तल झरिसकेको छ। अझै पनि विश्लेषकहरूले भने बुल नसकिएको बताउँदै आउने गरेका छन्। तर तथ्य र इतिहासले त्यस्तो देखाउँदैन। भदौ ३ गते कारोबार सुरु हुँदा ३२२७ अंकमा पुगेको भए पनि बन्द हुँदा भदाै २ गतेकाे अंकबाट ३१९९ भन्दा तल झरेको थियो।
लगातार नेप्से परिसूचक घट्न थालेपछि सेयर बजार वियरिस ट्रेण्डमा जान लागेको संकेत देखिएको छ। नेपालमा बैंकिङ तरलता र ब्याजदरले सेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पार्ने गरेको छ। राष्ट्र बैंकको नीतिले पनि सेयर बजार प्रभावित हुँदै आएको छ। पछिल्लो समय पार्टीका नेताहरूले गैरजिम्मेवार अभिव्यक्तिले पनि समस्या हुने गरेको छ।

करेक्सन भन्दाभन्दै बजार वियरिस ट्रेण्डमा अगाडि बढेको कुरा अधिकांश लगानीकर्ताले सामान्य भेउ पनि पाएनन्। अंक मात्रै होइन बजारमा २२ अर्बको कारोबारसमेत पुगेको थियो।
अहिले मुस्किलले ३/४ अर्बमा कारोबार खुम्चिएको छ। नेप्सेको बुललाई अन्य कुराभन्दा पनि बैंकको ब्याजदरले निर्देशन गर्ने गरेको छ। विगतको २०७२ र २०६४ सालको बुललाई पनि बैंकिङ तरलता र ब्याजदरले निर्देशन गरेको हो।
यस्तो छ इतिहास र तथ्य
१) दोश्रो बुल
२०६४ पुस महिनामा १०६४ बिन्दुबाट घट्न थालेको बजार १४ हप्तामा ३४% को करेक्सन आउदा ७०३ बिन्दुमा आइसकेको थियो। २२ हप्ता झन्डै दोब्बर ६७% ले बढेर ११७५ को बिन्दुमा पुगेपछि २०६५ भाद्र महिनामा यो बुलको यात्रा अन्त्य भएको देखिन्छ।
२० हप्तामा ४८% ले घटेर ६०९ बिन्दुमा आइसकेको बजार फेरी २५ हप्तामा २२% बढेपछि बजार ७११ बिन्दुमा पुग्यो त्यसपछि लगातार बजार १३८ हप्तामा बजार ६०% ले घटेर २९९ बिन्दुमा पुगेपछि आफ्नो बियारिस यात्रा पनि पूरा गरेको थियो।
२) तेस्रो बुल
२०७२ मङ्सिर मा १०२२ बिन्दुबाट ३४ हप्ता लगायर ८५% ले माथि लागेपछि १८८८ बिन्दुमा पुगेर बजारले त्यो बुलको टप २०७३ साउनमा लगाएको थियो।
२८ हप्तामा टपबाट ३५% को ठूलो करेक्सन आएपछि बजार ७ हप्तामा ४३% बढेर १७४६ बिन्दुमा पुगे पनि पहिले को उच्च बिन्दु तोड्न सकेन र १३७ हप्ता मा ३७% ले बजार घटेर ११०२ बिन्दुमा आफ्नो बियरिस यात्रा पूरा गरेको थियो।
बिगतको दुई बुलसँग हालको बुल तुलना गर्दा-
२०७८ भदौ ३ मा ३२२७ बिन्दुमा पुगेको बजार अहिलेसम्म १७ हप्तामा ३०% को करेक्सन आयर न्यून बिन्दु २२६० सम्म पुगेको थियो।
दोश्रो बुलसँग तुलना गर्ने हो भने बजार आफ्नो उच्च बिन्दुबाट ३४% सम्म घट्यो भने २१३० सम्म आयो भने पनि त्यसपछि ६७% ले बढेर ३५५७ बिन्दुमा पुगेपछि हालको बुलिस यात्रा अन्त्य गर्ने छ। यदि बजार ४८% ले घटेर १६७८ आयो भने यो बुलको उच्च बिन्दु नै ३२२७ हुनेछ।
तेश्रो बुलसँग तुलना गर्ने हो भने यदि बजार उच्च बिन्दुबाट ३५% घटेर २०९८ बिन्दुसम्म झरेपछि ४३% ले फेरी माथि लाग्दै ३००० बिन्दुमा पुगेर पहिलेको उच्च बिन्दु ३२२७ लाई तोड्न नसकी आफ्नो बियारिस यात्रा पूरा गर्ने देखिन्छ।