शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

वाणिज्य बैंकको आयकर ३.७५ प्रतिशतले ऋणात्मक

सोमबार, वैशाख १० २०८१
वाणिज्य बैंकको आयकर ३.७५ प्रतिशतले ऋणात्मक

गत वर्षको यसै अवधिको तुलनामा अहिले बैंकहरूको आयकर ७५ करोड रुपैयाँले घटेको छ।

काठमाडौं- चैत मसान्तमा बैंकहरूको आयकर ३.७५ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरूले १९ अर्ब २४ करोड ७२ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका छन्।

गत वर्षको यसै अवधिमा बैंकहरूले १९ अर्ब ९९ करोड ७५ लाख रुपैयाँ आयकर तिरेका थिए। गत वर्षको यसै अवधिको तुलनामा अहिले बैंकहरूको आयकर ७५ करोड रुपैयाँले घटेको छ।

पुस मसान्तमा बैंकहरूको आयकर ९.१५ प्रतिशतले ऋणात्मक रहेको थियो। गत पुसको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तमा १ अर्ब २७ करोड रुपैयाँ कम राजस्व बैंकबाट असुली भएको थियो। 

आर्थिक गतिविधि संकुचित हुँदा बैंकहरूको नाफा घटेकाले आयकर घटेको हो। चैत मसान्तमा वाणिज्य बैंकहरूको करअघिको नाफा १२.१० प्रतिशतले घटेको छ। 

चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरूले करअघि ५९ अर्ब ९३ करोड लाख रुपैयाँ नाफा गरेका छन्। गत वर्षको सोही अवधिमा बैंकहरूले यस्तो नाफा ६८ अर्ब १८ करोड रुपैयाँ रहेको थियो। गत वर्षको तुलनामा बैंकहरूको कर अगाडिको नाफा ८ अर्ब २५ करोड रुपैयाँले घटेकाले बैंकहरूको तिर्ने आयकरमा कमी आएको हो। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले ६ अर्ब ७ करोड, दोस्रो त्रैमासमा ६ अर्ब ५९ करोड रुपैयाँ र तेस्रो त्रैमासमा ६ अर्ब ५८ करोड ५८ लाख रुपैयाँ आयकर तिरेका छन्। 

कुन बैंकले कति तिरे कर?

चालु आर्थिक वर्षको चैत मसान्तसम्म सबैभन्दा धेरै नाफा गर्ने नबिल बैंकले सबैभन्दा धेरै आयकर तिरेको छ। यस बैंकले १ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ आयकर तिरेको छ।

यस्तै सबैभन्दा धेरै आयकर तिर्ने बैंकको दोस्रो नम्बरको सूचीमा प्रभु बैंक रहेको छ। यस बैंकले १ अर्ब ५५ करोड रुपैयाँ कर तिरेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ४१ करोड रुपैयाँ राज्यलाई आयकर तिरेको छ।

यस्तै ग्लोबल आईएमई बैंकले १ अर्ब २३ करोड ४४ लाख रुपैयाँ, प्राइम बैंकले १ अर्ब २३ करोड ३० लाख रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ११ करोड रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ६ करोड रुपैयाँ, स्टाण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ४ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १ करोड रुपैयाँ, एनएमबि बैंकले ९३ करोड ५३ लाख रुपैयाँ आयकर तिरेका छन्।

यस्तै सिद्धार्थ बैंकले ७४ अर्ब ४१ करोड रुपैयाँ, एनआईसी एसिया बैंकले ७० करोड ८५ लाख रुपैयाँ, सिटिजन्स बैंकले ६६ करोड ८४ लाख रुपैयाँ, कृषि विकास बैंकले ६३ करोड रुपैयाँ, लक्ष्मी बैंकले ६२ करोड ६४ लाख रुपैयाँ, सानिमा बैंकले ५६ करोड ७४ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले ५३ करोड ४२ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ५१ करोड ४३ लाख रुपैयाँ र नेपाल बैंक लिमिटेडले ४५ करोड ७९ लाख रुपैयाँ आयकर कर सरकारलाई तिरेका छन्। 

बैंक वित्तीय संस्थाहरूले कुल नाफको ३० प्रतिशत आयकर बुझाउनुपर्ने व्यवस्था आयकर ऐन २०५८ ले गरेको छ। यसका अतिरिक्त बैंकहरूले १० प्रतिशत ब्याज कर, पुँजीगत लाभकर र कर्मचारीको आयकर सरकारलाई बुझाउने गरेका छन्। 


प्रकाशित : सोमबार, वैशाख १० २०८११३:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend