काठमाडौं- ‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नारासहित लुम्बिनीमा आयोजना भएको लुम्बिनी सम्मेलनले पारित गरेको शान्ति सन्देश आइतबार उपप्रधान तथा विदेशमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरिएको छ।
गत ९ र १० चैतमा लुम्बिनीमा आयोजना भएको सम्मेलनले पारित गरेको सन्देशमा उपप्रधानमन्त्री श्रेष्ठ, परराष्ट सचिव सेवा लम्साललगायत नेपालका कार्यरत सबै अवैतनिक वाणिज्यदूतहरुले हस्ताक्षर गरेका छन्। लुम्बिनी शान्ति सन्देशको क्यानभासलाई अवैतनिक वाणिज्यदूतको संस्था अनररी कन्सुलर कर्पस नेपाल (एचसीसीएन)का अध्यक्ष विष्णु अग्रवालले उपप्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।
एचसीसीएन नेतृत्व तथा परराष्ट्र मन्त्रालयका समन्वयमा आयोजित लुम्बिनी सम्मेलनले अन्तर्राष्ट्रिय शान्ति र समृद्धिका लागि विश्व समुदायलाई आव्हान गरेकोछ। मानवीय शान्ति, विकास तथा सामूहिकताको लागि शान्ति अपरिहार्य रहेको सम्मेलनको ठहर छ।
हस्तान्तरणमा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको हित प्रवर्द्धन गर्ने खालका कार्यक्रमको आयोजना गर्न एचसीसीएनलाई आग्रह गरे। उनले सम्मेललनले विश्व शान्ति, नेपालमा लगानी प्रवर्द्धन तथा पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए।
उक्त कार्यक्रममा बोल्दै एचसीसीएनका डिन विष्णु अग्रवालले विश्व शान्तिको सन्देश दिन सम्मेलन सफल भएको बताए। उनले सहभागी कुटनीतिक प्रतिनिधिले सम्मेलन आयोजनाको समय र सन्देश दुवै सान्दर्भिक रहेको बताएको चर्चा गरे।
लुम्बिनी कन्क्लेभको अन्तमा जारी गरिएको सो सन्देशमा विश्वभाइचारा, सदभाव र समृद्धिका लागि लुम्बिनीको विशेष महत्व रहेको उल्लेख गरिएको छ। विद्यमान विश्वमा रहेको अशान्ती, अन्यौल तथा द्वन्द्वलाई अन्त गर्न विश्व समुदायले आफ्नो प्रयासलाई सशक्त पार्न सम्मेलनले आव्हान गरेको छ।
बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, समृद्धिका लागि विश्व शान्तिको आवश्यकता, पर्यटन प्रवर्द्धन र नेपालमा विदेशी लगानी अभिवृद्धिमा सम्मेलनले महत्वपुर्ण योगदान गर्ने विश्वास एचसीसीएनले लिएको छ।
सम्मेलनमा ग्रिस, साइप्रस, आयरल्यान्ड, स्पेन, लात्भिया, कोस्टारिका, मरिसस, इन्डोनेसिया, मंगोलिया, सर्बिया, अस्ट्रिया, बुल्गेरिया र इस्टोनियाका साथै चेक रिपब्लिक, तान्जानिया, स्लोभेनिया, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानिया लगायत १९ वटा मुलुकका गैरआवासीय राजदूत सहभागी थिए। सम्मेलनमा सहभागी कैयन देशका कुटनीतिक प्रतिनिधीहरुले नेपाल पहिलो पटक भ्रमण गरेका थिए।
यसैगरी उक्त सम्मेलनमा नेपालमा कार्यरत ४५ देशका अवैतनिक वाणिज्यदूतहरु, परराष्ट्र मन्त्रालय, लगानी बोर्ड, नेपाल पर्यटनको उच्च अधिकारी लगायतका उपस्थिति थियो।
सम्मेलनका क्रममा लगानी बोर्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको बिजनेस सेसनमा सहभागीलाई नेपालमा लगानी तथा पर्यटनका अवसर तथा छिटै आयोजना हुन लागेको नेपाल लगानी सम्मेलनका बारेमा जानकारी गराइएको थियो।
बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, समृद्धिका लागि विश्व शान्तिको आवश्यकता, पर्यटन प्रवर्द्धन र नेपालमा विदेशी लगानी अभिवृद्धिमा सम्मेलनले महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ। लुम्बिनी सम्मेलनका दौरान कला प्रदर्शनी, परम्परातगत नृत्य, लागनी तथा पर्यटन प्रवर्धनका विषयमा प्रस्तुती र छलफल भएको थियो।