शनिबार, वैशाख २२ गते २०८१    
images
images

बगरखेतीबाटै मनग्य कमाउँछन् स्थानीय

images
images
images
बगरखेतीबाटै मनग्य कमाउँछन् स्थानीय

कुनै समय नदीले उठिबास लगाएपछि समस्यामा परेका यस ठाउँका करिब दुई सय किसानले बगरखेती गरेर जीविका चलाइरहेका छन्। एक मौसममा बगरखेतीबाट साढे तीन लाखसम्म आम्दानी हुने गरेको छ।

images
images

दाङ- राप्ती नदीका कारण बगरमा परिणत भएको लमही नगरपालिका-४ बलरामपुरको जमिन लामो समयसम्म प्रयोग हुनसकेको थिएन। तर पछिल्लो समय यहाँका पौरखी किसानले त्यही बगरमा खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन्।

images
images
images

कुनैबेला बालुवा नै बालुवा देखिने बगरमा यतिखेर हेर्दा खरबुजा र तरकारी खेती लटरम्म छ। यही खेतीबाट स्थानीय किसानले अहिले मनग्य आम्दानी गर्न थालेका हुन्। 

images

यसरी आम्दानी गर्नेमध्ये एक हुन् लमही नगरपालिका-४ सिम्रहवा निवासी ४९ वर्षीया सनकुमारी चौधरी। चौधरीले करिब दुई बिघा बगरमा खरबुजा र केही जमिनमा भन्टा, लौका, करेला, बोडीलगायत बेमौसमी तरकारी खेती गरिरहेकी छिन्।

images

बीस वर्षअघि राप्ती नदीको बाढीले उठिबास भएकी चौधरी सोही स्थानमा बगरखेती गरेर परिवारको गर्जो टारिरहेको बताउँछिन्। त्यस समय यही बगरले उठिबास पारेको थियो सम्झिने चौधरी अहिले भने खुसी छिन्।

images
images

'बीस वर्षअघि राप्ती नदीको बाढीले घरबार, अन्नपात, गाईबस्तु बगाएर बिचल्लीमा पारेको थियो। अहिले भने त्यही ठाउँमा बगरखेती गरेर घरव्यवहार चलाइरहेका छौँ। त्यहीको आम्दानीले छ जनाको परिवारको लालनपालन, छोराछोरीको शिक्षादिक्षा मात्रै होइन थोरै भए पनि बचत गर्न सफल भएका छौँ', चौधरीले भनिन्।

विगत १० वर्षदेखि बगरखेतीमा लागेको बताउने चौधरीले सुरूका केही वर्ष खासै लाभ नभए पनि पछिल्ला छ वर्षयता राम्रो आग्दानी गरिरहेको बताउँछिन्। उनका अनुसार एक मौसममा बगरखेतीबाट साढे तीन लाखसम्म आम्दानी हुने गरेको छ।

'बाढी पसेको दश वर्षसम्म त यहाँ बालुवा मात्रै थियो। पछि गाउँलेहरूले सल्लाह गरेर बगरखेती सुरू गर्‍यौँ। अहिले बालुवा हेरेर पछुताउने अवस्था छैन', चौधरी भन्छिन्, ' मेहनत गरेमा बगरमा पनि पैसा फलाउन सकिँदो रहेछ भन्ने सिकाइ भएको छ।'

सनमाया मात्रै होइन जमिन बगरमा परिणत भएपछि घरखर्च चलाउन ज्यालामजदूरी गर्न बाध्य स्थानीय ३५ वर्षीया रीता चौधरीको पनि आम्दानीको प्रमुख स्रोत नै यही बगरखेती भएको छ। उनले पनि एक बिघा जमिनमा खरबुजा र केही जमिनमा बेमौसमी तरकारी खेति गरेर एक मौसममा एक लाखदेखि डेढ लाख रूपैयाँसम्म बचत गर्ने गरेको बताइन्। 

उनी भन्छिन्, 'खेतीयोग्य जमिन बगर भएपछि सुरुमा निकै समस्या भयो। अरुकहाँ ज्याला मजदू्री गरेर जीविको चलाउने दिन पनि आए। तर बगरखेती गर्न थालेपछि भने आफैँ उद्यमी बनेका छौँ। अहिले यहीँ खेतीको आम्दानीबाट घरपरिवारको लालनपालन, छोराछोरी पढाउन र केही बचत गर्न पाउँदा सफल भएका छौँ।'

लमही नगरपालिका-४ की ३७ वर्षीया माया चौधरीले एक बिघा जमिनमा खरबुजा र एक बिघामा तरकारी खेती गरेर एकै मौसममा डेढ लाखसम्म आम्दानी हुने गरेको बताइन्।

सनमाया, रीता र मायाजस्तै कुनै समय नदीले उठिबास लगाएपछि घरवास समस्यामा परेका यस ठाउँका करिब दुई सय किसानले बगरखेती गरेर जीविका चलाइरहेका छन्। त्यसले जीविकोपार्जनमा टेवा पुग्नुका साथै विगतको दुःख भुलाउन पनि सहज भएको छ।

लमही नगरपालिका-४ बलरामपुरमा मात्रै होइन, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानका दुई हजारभन्दा बढी किसान बगरखेती गरेर आम्दानी गर्न सफल भएका उनीहरु नै बताउँछन्।

राप्ती नदी आसपासका यि तीनवटै स्थानीय तहका बगर क्षेत्रलाई व्यक्तिगत र सामूहिकरूपमा गरी दुई हजारभन्दा बढी किसानले एक सय दुई समूह बनाएर उपयोग गरिरहेका स्थानीय कृषि बहुउद्देश्य सहकारी संस्थाको तथ्यांक छ। यही संस्थाले सुरूमा किसानलाई निःशुल्क तालिम र २५ प्रतिशत अनुदानमा बीउ तथा बिना धितो ऋण पनि उलब्ध गराउँदै आएको थियो।

लमही नगरपालिकाको कृषि शाखाकी गंगा चौधरीले हाल सो नगरपालिकाले बगरखेती गर्ने किसानलाई बीउमा ५० प्रतिशत अनुदान र निःशुल्क तालिम उपलब्ध गराउने गरेको जानकारी दिइन्। गढवा गाउँपालिकाले भने किसानले उत्पादन गरेका कृषिउपजलाई बजारसम्म पुयाउन कृषि एम्बुलेन्स सञ्चालन गरिरहेको छ। 

तर एकीकृत योजना बनाएर स्थानीय तहलगायत तीनै तहका सरकाले सिँचाइ सुविधा, मलखाद, बीउ तथा बजारीकरणमा सहयोग गरे बगरखेतीबाट अझ बढी लाभ लिन सकिने यहाँका किसानको बुझाइ छ।

'प्रचण्ड गर्मी छ। बालुवा नै बालुवा भएकाले सुक्खा बढी हुन्छ। तर नजिकै बोरिङ छैन। हाम्रो उत्पादन खपत हुने पर्याप्त बजार पनि छैन। त्यसैल सरकारले यी समस्या समाधान गरिदिए अझबढी मेहनत गर्थ्यौँ', उनीहरू बताउँछन्। रासस

images

प्रकाशित : आइतबार, वैशाख ९ २०८१०५:४८

प्रतिक्रिया दिनुहोस