शनिबार, साउन १२ गते २०८१    
images
images
images

सार्वजनिक भयो नेपालमै एसेम्बल भएका हिरोका मोटरसाइकल तथा स्कुटर

सीजी मोटर्सले एकसाथ बिक्रीमा ल्यायो ४ मोडल

images
आइतबार, वैशाख ९ २०८१
images
images
सार्वजनिक भयो नेपालमै एसेम्बल भएका हिरोका मोटरसाइकल तथा स्कुटर

२०२४ अप्रिलदेखि लागु हुनेगरि हिरो मोटोपर्कले सीजी मोटर्सलाई नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त गरेसँगै नयाँ बिक्रेतामार्फत बिक्रीको बाटो खुलेको हो।

images

काठमाडौं- नेपालमै एसेम्बल भएका हिरो मोटोकर्पका मोटरसाइकल तथा स्कुटर औपचारिक रुपमा सार्वजनिक गरिएको छ। चौधरी समूहअन्तर्गतको सीजी मोटर्सले आधिकारिक बिक्रेता पाएसँगै हिरोका मोटरसाइकल नेपालमा एसेम्बल गरेर बिक्री सुरु गरेको हो। 

images
images

आइतबार एक कार्यक्रम गरेर सीजी मोटर्सले नेपाल एसेम्बल मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्दै बिक्रीसमेत सुरुवात गरेको हो। ज्योति समूह र हिरो मोटोकर्प इन्डियाबीच विवाद भएपछि करिब एक वर्षयता हिरोका मोटरसाइकल तथा स्कुटर नेपाल भित्रिएको थिएन। 

images

२०२४ अप्रिलदेखि लागु हुनेगरी हिरो मोटोपर्कले सीजी मोटर्सलाई नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त गरेसँगै नयाँ बिक्रेतामार्फत बिक्रीको बाटो खुलेको हो।  

बैशाख २ गते सीजी मोटर्सले पूजाआजासहित एसेम्ब्ली लाइनको औपचारिक सुरुवात गरेको थियो। गएको फेब्रुअरी अन्त्यमा अप्रिलदेखि लागु हुनेगरी आधिकारिक बिक्रेता नियुक्त भएलगत्तै सीजी मोटर्सले नेपालमै मोटरसाइकल एसेम्बल गरेर बिक्री सुरु गर्ने घोषणा गरेको थियो। 

images

सीजी मोटर्सले नक्सालमा हिरोको फ्ल्यागसिप शोरुमसमेत बनाइरहेको छ। मोटरसाइकल सार्वजनिक भएसँगै शोरुमसमेत सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ। 

हिरो मोटोपर्कले एक वर्षभन्दा लामो समयदेखि विवादमा रुमल्लीएर अल्झिएको नेपाल व्यापारलाई प्राथमिकताका साथ रिब्रान्डिङ गरिएको छ।

सीजी मोटर्सले सुरुवातमा हिरोका चार मोडल नेपालमा एसेम्बल सुरु गरेको हो। हिरोको सबैभन्दा धेरै बिक्री हुने सुपर स्प्लेन्डर १ सय र १ सय १० सीसी इन्जिन क्षमताका र एक्सपल्स मोटरसाइकल र जुम स्कुटर एसेम्बल गरेर बिक्रीमा ल्याउँदै छ। स्प्लेन्डर र एक्सपल्स यसअघि पनि नेपाली बजारमा बिक्री हुँदै आएको थियो भने जुम स्कुटर पहिलोपटक सार्वजनिक भइको हो। 

आकर्षक डिजाइनसहित आएको हिरोको जुम स्कुटरबाट सीजी मोटर्सले ठूलै अपेक्षा राखेको छ। नेपालमा पछिल्लो समय स्कुटरको बिक्री उल्लेख्य रुपमा बढेको र स्पोर्टी लुक्सको भएकाले उक्त स्कुटरबाट कम्पनीले बिक्री संख्या बढ्ने अपेक्षा राखेको हो।

कामकाजी र धेरै माइलेज खोज्नेहरु माझ हिरोको सुपर स्प्लेन्डर लोकप्रिय रहेको छ। सीजी मोटर्सले नेपालमै एसेम्बल गरेको सुपर स्प्लेन्डरको सुरुवाती मूल्य २ लाख ४० हजार ९ सय रुपैयाँ हुनेछ। 

त्यस्तै नयाँ मूल्य सूचीअनुसार हिरो एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ५० हजार ९ सय रुपैयाँ तय गरेको छ। यसअघि एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ५२ हजार ५ सय रुपैयाँमा बिक्री भइरहेको थियो। यही मूल्यमा सार्वजनिक भएमा आयात गएर बिक्री हुँदाको तुलनामा एक्सपल्स २०० फोर भी नेपालमै एसेम्बल गरेर बिक्री गर्दै थोरै मूल्य कम हुनेछ।

सीजी मोटर्सले जुम स्कुटरको सुरुवाती बिक्री मूल्य २ लाख ४९ हजार ९ सय रुपैयाँ तय गरेको छ। यो स्कुटर दुई भेरियन्टमा उपलब्ध हुनेछ।                      

उक्त चारवटा उत्पादनलाई नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बली फ्यासिलिटीमा स्थानीय रूपमै एसेम्बल गरिने जनाइएको छ।

उक्त प्लान्टको क्षमता प्रतिवर्ष ७५ हजार युनिट हुने र यसले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना गर्ने जनाइएको छ। सीजी मोटर्सले बढ्दो ग्राहक संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क द्रुत रूपमा विस्तार गरिरहेको जनाएको छ।

सहकार्यको बारेमा आफ्नो धारणा राख्दै, हिरो मोटोकर्पको ग्लोबल बिजनेस युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले भने, 'नवीनता र प्रविधि आफ्नो मूल मन्त्रका साथ, हिरो मोटोकर्प विश्वभरका आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय उत्पादनहरू र अनुभवहरू प्रदान गर्न प्रतिबद्ध छ। यस सहकार्य हिरो मोटोकर्प, सीजी मोटर्स र नेपालका लागि उत्साहजनक क्षण हो। यस अत्याधुनिक एसेम्बली युनिटले हाम्रा विश्वस्तरीय उत्पादनहरू अब नेपालमा नै बनाइने र देशभरका ग्राहकहरूका लागि सजिलै उपलब्ध हुने सुनिश्चित गर्नेछ।'

'सेल्स र सर्भिस नेटवर्कको द्रुत विस्तारले हामीलाई हाम्रा विश्वस्तरीय उत्पादनहरू र सेवाहरूसँग बजार जोड्न सक्षम बनाउँछ। हाम्रो साझेदार सीजी मोटर्ससँगै नेपालमा हाम्रो नयाँ फोकसले नेपालप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ, जुन हाम्रो लागि निकै महत्त्वपूर्ण बजार हो' उनले भने। 

त्यस्तै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, 'सीजी मोटर्सका लागि यो एकदमै विशेष क्षण हो। हामी हाम्रो एसेम्बली सुविधाको उ‌द्घाटन गर्न र यी नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौँ। हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्व स्तरीय दक्षता हाम्रो सञ्चालन विस्तार गर्नका लागि हामीलाई धेरै लाभदायक हुनेछ। अब हामी देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुनेछौँ।'

सीजी मोटर्सले काठमाडौंमा हिरोको प्रमुख तथा फ्ल्यागशिप शोरुम खोलिसकेको छ। साथै आगामी तीन महिनाभित्र एक सयभन्दा बढी सेल्स तथा सर्भिस आउटलेटहरू खोल्ने जनाएको छ।

हिरो मोटोकर्प सन् २०१४ मा नेपालमा प्रवेश गरेको थियो र वर्षोंदेखि सुपर स्प्लेन्डर र एक्सपल्स २०० मोटरसाइकलहरू जस्ता सर्वाधिक रुचाइएका प्रतिष्ठित उत्पादनका साथ आफूलाई देशकै अग्रणी मोटरसाइकल ब्रान्डको रूपमा स्थापित गरेको छ। कम्पनीका लागि एसियामा नेपाल एक प्रमुख बजार हो।

चौधरी ग्रुप (सीजी) नेपालको व्यापार परिदृश्यमा एक प्रमुख व्यवसायिक घराना हो, जसले विश्वभर १ सय ६० भन्दा बढी कम्पनीहरू र १ सय २३ ब्रान्डहरूको विस्तृत नेटवर्क सञ्चालन गर्दछ। जसअन्तर्गत १५ हजारभन्दा बढी कर्मचारीहरू कार्यरत छन्।

समूहको सञ्चालनमा फास्ट-मुभिङ कन्ज्यूमर गुड्स (एफएमसीजी) उद्योग, वित्तीय सेवा, ऊर्जा तथा पूर्वाधार विकास, हस्पिटालिटी क्षेत्र र अत्याधुनिक इलेक्ट्रोनिक्स क्षेत्र समावेश छन्। 


प्रकाशित : आइतबार, वैशाख ९ २०८११६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend