शुक्रबार, जेठ ४ गते २०८१    
images
images

रुपन्देहीका नौ गाउँमा आगलागी, गुल्मीमा २८ घरगोठ जले

images
आइतबार, वैशाख ९ २०८१
images
images
रुपन्देहीका नौ गाउँमा आगलागी, गुल्मीमा २८ घरगोठ जले

रुपन्देहीमा आगोले मानवीय क्षति नभए पनि ४० वटा घर जलेका तथा ३९ वटा बाख्रा मर्दा लाखौँको क्षति भएको छ।

images
images

रुपन्देही- तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ। पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ।

images
images
images

रोहिणी गाउँपालिका-६ बाट शनिबार अपराह्न नौवटा गाउँमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए। गहुँको नलबाट सुरु भएको आगो बतासका कारण फैलिँदा विष्णुपुरा, पर्सा, बुची, बरवा, तर्कुलहा, कोटहवा, चम्कीपुर हुँदै प्रिप्रहवामा क्षति भएको छ।

images

आगोले मानवीय क्षति नभए पनि ४० वटा घर जलेका तथा ३९ वटा बाख्रा मरेका उनले बताए। प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, देवदह नगरपालिकाको दमकल र स्थानीयको प्रयासले साँझ आगो निभाइएको थियो।

images
images

आगलागीको घटना जिल्लाभरिबाट नै भएका प्रवक्ता भट्ट बताउँछन्। गैडहवा गाउँपालिकामा पनि आगलागीमा लाखौँको क्षति भएको छ। वडा नं ७ सिसैँ बस्ने बाले मिन्द्र लोधको फुसले छाएको गोठमा विद्युत् चुहिँदा आगलागी भएको थियो। उक्त गोठमा रहेका नौ बाख्रासहित तीन लाख रूपैयाँभन्दा बढीको क्षति भएको प्रहरी कार्यालयले जानकारी दिएको छ।

images
images

लुम्बिनी सांस्कृतिक नगरपालिका-९ पिपरामा खेतमा गहुँका ठुटा जलाउने क्रममा लागेको आगो होटल पवन प्यालेस परिसरमा पुगेको थियो। यसबाट प्लाइउड, लत्ताकपडा, भाडावर्तन, खाद्यान्नलगायत सात लाख रूपैयाँ बराबरको क्षति भएको प्रवक्ता भट्टले बताए। 

यस्तै गुल्मीमा आगलागीबाट २८ घरगोठ जलेका छन्। शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका-१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा क्षति भएको छ ।  

इस्मा गाउँपालिका-१ की वसुन्धरा कुँवरको घरगोठ पूर्ण रूपमा जलेको छ। स्थानीय रमेश थापाको घरगोठ, होमबहादुर मल्लको गोठ, लीलाबहादुर थापाको घरगोठ, टीकाबहादुर रायमाझीको घरगोठ एवं रामबहादुर थापाको घरगोठ जलेका हुन्।

त्यसैगरी चन्द्रबहादुर कुँवरको घरसहित कुटानी-पिसानी  मिल, किराना पसल र गोठ, गोपालबहादुर थापाको किराना पसल, धर्मराज थापाको घरगोठ र मिल तथा इन्द्रबहादुर थापाको किराना पसल र तीनवटा गोठ नष्ट भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शंकरप्रसाद पोख्रेलले जानकारी दिए।

शनिबार दिउँसोदेखि इस्मा गाउँपालिका-२ स्थित सिन्दुखाको रानी सामुदायिक वनमा लागेको आगो बस्तीमा फैलिएको थियो। त्यसबाट हस्तीचौरका १५ जनाको घरगोठ जल्नुका साथै दर्जनौँ पशुचौपायको मरेका प्रहरीले जनाएको छ।

इस्मा गाउँपालिका-४ को हुल र कोटकोटेरीमा लागेको आगोले टोकली बस्नेतको गोठ, सूर्यबहादुर र गुञ्जबहादुरको गोठ जलेको प्रहरी प्रवक्ता पोख्रेलले बताए।

इस्मा गाउँपालिका- १ मा लागेको आगोका कारण ट्रयाक्टरचालक १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका-७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन्। उनीहरूको हातखुट्टा र अनुहार जलेको छ। घाइतेको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ। डढेलोका कारण लु४त ६५३५ नम्बरको ट्रयाक्टर जलेको छ।

विद्युतको सबस्टेसन जल्यो

शुक्रबार नजिकैको वनबाट फैलिएको डढेलोले गुल्मीदरबार गाउँपालिका-४ वीरवासको विद्युत् सबस्टेसन जलेको छ। सबस्टेसनलाई पूर्ण रूपमा क्षति हुनबाट रेसुंगा नगरपालिकाको दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले बचाएका छन्।

आगोबाट दुई करोड रूपैयाँबराबरको क्षति भएको छ। नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलका अनुसार कन्डक्टर, केवललगायत सामग्री जलेकाले दुई करोड रूपैयाँको क्षति भएको अनुमान गरिएको छ।

डढेलोले धेरै क्षति भएको इस्माका तीन स्थानमा राहतका काम सुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, वैशाख ९ २०८१११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend