शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

दोस्रो बजारमा लगानीकर्ताका लागि अब्बल देखिएका तीन वाणिज्य बैंक, कुनको सूचक कस्तो?

आइतबार, वैशाख ९ २०८१
दोस्रो बजारमा लगानीकर्ताका लागि अब्बल देखिएका तीन वाणिज्य बैंक, कुनको सूचक कस्तो?

काठमाडौं- अर्थतन्त्र संकुचित हुँदा चालु आर्थिक वर्षको ९ महिनामा वाणिज्य बैंकको नाफा ११.२७ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरूले ४० अर्ब ६९ करोड रुपैयाँ खुद नाफा गरेका छन्।  

गत वर्षको यसै अवधिमा २० वाणिज्य बैंकले ४५ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा गरेका थिए। अर्थतन्त्र संकुचित हुँदा बैंकहरूको नाफा करिब ५ अर्ब १७ करोडले संकुचित भएको छ। 

बैंकिङ प्रणालीमा प्रशस्तै लगानीयोग्य रकम भएपनि कर्जा विस्तारमा आएको संकुचनले बैंकहरूको खराब कर्जामा वृद्धि भइ इम्पियरमेन्ट चार्ज बढ्दा खुद नाफा घटेको हो। 

यस अवधिमा अधिकांश बैंकहरूको वितरणयोग्य नाफा ऋणात्मक भएको छ। दोस्रो बजारमा सबैभन्दा महँगा सेयरको रुपमा तीन बैंकको कारोबार भइरहेको छ। स्टाण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक र नबिल बैंक बैंकहरुमध्ये महँगा सेयर मूल्यमा पर्दछन्। यी बैंकको प्रतिकित्ता ५ सय रुपैयाँभन्दा कम मूल्यमा कारोबार भइरहेता पनि अन्यको भन्दा केही अब्बल नै देखिन्छन्। तेस्रो त्रैमासको सूचकले पनि लगानीका लागि तीन बैंक नै उपयुक्त देखिन्छ। 

स्टाण्डर्ड चार्टर्ड बैंक

चालु आर्थिक वर्षको ९ महिनामा स्टाण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको तुलनामा बैंक प्रमुख सुचाङ्कहरू घटेपनि बैंक अन्य बैंकहरूको तुलनामा राम्रो अवस्थामा छ।  

बैंकको दोस्रो बजारमा सेयर ५१५.९० रुपैयाँमा कारोबार भएको छ। पछिल्लो ५२ हप्तामा बैंकको सेयर मूल्य ५८२ रुपैयाँसम्म पुगेको थियो। गत वर्षको ९ महिनामा बैंकले २ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा गरेको थियो। चालु आर्थिक वर्ष सोही अवधिमा बैंकको खुद नाफा करिब १७ करोडले घटेको छ।

गत वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ४० करोड रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३ अर्ब ९० करोड कायम भएपछि बैंकको नाफामा सामान्य गिरावट देखिएको हो।  गत वर्षको ९ महिनामा बैंकको इम्पियरमेन्ट चार्ज करिब ४४ करोड रहेकोमा चालु आर्थिक वर्ष घटेर २५ करोडमा सीमित भएको छ। 

गत वर्षको तुलनामा बैंकको खराब बर्जा बढेको असर वितरणयोग्य नाफामा देखिएको छ। गत वर्ष यस अवधिमा बैंकको खराब कर्जा ०।९ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको यस अवधिमा बढेर २.१४ प्रतिशत कायम भएको छ। यस अवधिमा बैंकले पाकेको तर नउठेको ब्याज बापत १ अर्ब ५७ करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ६ करोड रुपैयाँ प्रोभिजनिङ गरेको थियो। 

जसले गर्दा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड रुपैयाँमा खुम्चेको छ। खुद नाफा घटेको र खराब कर्जा बढेकाले बैंकको वितरणयोग्य नाफा घटेको हो। गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो।

गत आर्थिक वर्ष बैंकले २० प्रतिशतभन्दा बढी लाभांश वितरण गरेकाले सञ्चित नाफा घट्न गएकाले वितरणयोग्य नाफा कम भएको हो। यस अवधिमा स्टाण्डर्ड चार्टर्ड बैंकको आधार दर ६.५३ प्रतिशत र कर्जा निक्षेप अनुपात ७८ प्रतिशत कायम भएको छ।

नबिल बैंक 

कुनै समय दोस्रो बजारको ब्लुचिप कम्पनीको उपाधी पाएको नबिल बैंकको सेयर मूल्य पनि प्रतिकित्ता ४२९ रुपैयाँमा कारोबार भइरहेको छ। कुनै समय १७ सय रुपैयाँसम्म पुगेको बैंकको सेयर मूल्य पछिल्लो ५२ हप्तामा ६५३ रुपैयाँसम्म पुगेको थियो।

त्यसयता घटेर ४२९ रुपैयाँमा आइपुगेको हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नबिल बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने नबिल बैंकको खुद नाफा करिब ८.७६ प्रतिशतले घटेको हो।

गत वर्षको यसै अविधिमा नबिल बैंकले ५ अर्ब ११ करोड खुद नाफा गर्न सफल भएको थियो।  बैंकको नाफा संकुचित भएपनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा खराब कर्जा भने घटेको छ।

गत वर्षको तेस्रो त्रैमासमा बैंकको खराब कर्जा १.९८ प्रतिशत रहेकोमा यो वर्षको सोही अवधिमा घटेर १.२७ प्रतिशत कायम भएको छ। 

यस्तै बैंकको सञ्चालन नाफा १०.७२ प्रतिशतले घटेर ६ अर्ब २८ करोड कायम भएको छ। यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ।  तेस्रो त्रैमाससम्ममा बैंकको वेस रेट ८.३६ प्रतिशत रहेको छ।

एभरेष्ट बैंक 

एभरेष्ट बैंकको दोस्रो बजारमा प्रतिकित्ता ४९७ रुपैयाँमा कारोबार भइरहेको छ। बैंकका सूचकका हिसाबले अब्बल भएतापनि सेयर मूल्य भने बढ्न सकेको छैन। बैंकको पछिल्लो ५२ हप्तामा बढेर ६३३ रुपैयाँसम्म सेयर मूल्य पुगेको थियो। पछिल्लो ९ महिनाको सूचक भने अब्बल नै देखिएको छ। चालु आर्थिक वर्षको ९ महिनामा एभरेष्ट बैंकको वितरणयोग्य नाफा २ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।

गत वर्ष १ अर्ब ६ करोड बोनस सेयर र १ अर्ब १२ करोड रुपैयाँ नगद लाभांश दिएकाले बैंकको वितरणयोग्य नाफा गत वर्षको यसै अवधिको तुलनामा केही कम देखिएको हो। गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो। 

चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद नाफा गत वर्षको तुलनामा बढेको छ। गत वर्षको तुलनामा बैंकको खुद नाफा करिब १४ करोड रुपैयाँ बढेको छ।  चालु आर्थिक वर्षको ९ महिनामा बैंकले २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेको छ।

गत वर्षको यसै अवधिमा बैंकको खुद नाफा २ अर्ब ४६ करोड रहेको थियो। गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी बढेको हो र इम्पियरमेन्ट चार्ज सामान्यरुपमा मात्रै बढेको हो। 

गत वर्षको ९ महिनामा बैंकको इम्पियरमेन्ट चार्ज ५५ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्ष बढेर ६२ करोड ७१ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको खराब कर्जा ०.७० प्रतिशतमा स्थिर रहेको छ।

गत वर्ष ०.७० नै रहेको खराब कर्जा चालु आर्थिक वर्षको ९ महिना पनि ०.७ प्रतिशत नै रहेको छ। यस अवधिमा बैंकको आधार दर ८.१३ प्रतिशत र कर्जा निक्षेप अनुपात ८३.५० प्रतिशत रहेको छ।


प्रकाशित : आइतबार, वैशाख ९ २०८१०६:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend