शनिबार, मंसिर १५ गते २०८१    
images
images

बर्दिवासमा १ अर्ब १० करोड रुपैयाँ लगानीमा होटल बन्दै

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ७ २०८१
images
images
बर्दिवासमा १ अर्ब १० करोड रुपैयाँ लगानीमा होटल बन्दै

बर्दिवासबाट ३० किलोमिटरको दूरीमा भारतीय सीमावर्ती कन्हमा बजार छ। जहाँबाट भारतको राजधानी दिल्ली र अन्य ठूला नगरसँग सिधा यातायात सेवाले जोडेको छ।

images
images

महोत्तरी- महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता होटल व्यवसाय फस्टाउँदै गएको छ। पछिल्लो पटक बर्दिवास-१ मा १ अर्ब १० करोड रुपैयाँ लगानीमा सुविधासम्पन्न पाँचतारे होटल ‘होटल रामिणी’को निर्माण थालिएको छ। 

images
images
images

कोरोना महामारीमा सुस्ताएको पर्यटकीय गतिविधि पछिल्ला दिनमा बढ्न थालेसँगै होटल, व्यवसाय तथा पर्यटनलाई लक्षित गरेर विभिन्न क्षेत्रमा लगानी गर्ने बढिरहेका छन्।

images

होटल रामिणीको निर्माणका लागि १ अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरिएको होटल रामिणी निर्माण समितिका अध्यक्ष शम्भु घिमिरेले जानकारी दिए। 

images

यसअघि केही महिना पहिले मात्र बर्दिवासस्थित होटल गौतमले लालगढमा ५० करोड रुपैयाँभन्दा बढी लागतमा अत्याधुनिक होटल निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ।

विनायक, गुञ्ज, नाव्या र पावनमिथिला बर्दिवासमा सञ्चालन हुँदै आएका आधुनिक सेवासहितका होटल मानिन्छन्। यसबाहेक २० भन्दा बढी १० करोड लागतमा निर्माण भएका होटल बर्दिवासमा सञ्चालित छन्।

मधेसको राजधानी र प्राचीन मिथिला राज्यको मुख्य सांस्कृतिक केन्द्र जनकपुरधाम र भारतको अयोध्यासँगको रामायणकालीन सम्बन्धलाई पर्यटन आदानप्रदानमार्फत जोड्ने उद्देश्यले होटल निर्माण थालिएको घिमिरेको भनाइ छ। 

आदर्श नारी सीताको माइती जनकपुरधाम र मर्यादा पुरुषोत्तम श्रीरामको जन्मभूमि अयोध्याको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अत्याधुनिक होटल सञ्चालन भएको भन्दै यसले स्थानीयको आर्थिकस्तरमा सुधार ल्याउनुका साथै रोजगारीका अवसर सिर्जना गर्ने उनले बताए।

बर्दिवासबाट ३० किलोमिटरको दूरीमा भारतीय सीमावर्ती कन्हमा बजार छ। जहाँबाट भारतको राजधानी दिल्ली र अन्य ठूला नगरसँग सिधा यातायात सेवाले जोडेको छ। 

साथै ३५ किमी दूरीमा पर्ने जनकपुरधामका पर्यटकीय गतिविधिसँग सोझै जोडिन सकिने बर्दिवासका होटल तथा पर्यटन व्यवसायी बताउँछन्।

‘रामिणी’ सीताजीकै मिथिला, वैदेही, जानकी, मैथिली, किशोरीजी र जनकनन्दिनी जस्तै नाउँ हो। जनकपुरधाम र अयोध्याका सम्बन्ध घनिभूत बनाउन र दोहोरो आवागमन सघन बनाउन सुविधा सम्पन्न होटल र यसको सेवाले सहयोग पुग्ने अपेक्षा गरिएको छ। 

कुल एक बिघा क्षेत्रफलमा निर्माण हुने यस होटलमा सात÷सात तलाका दुई वटा भवन बन्ने छन्। होटलमा ८२ वटा अत्याधुनिक सुविधासहितका कोठा हुने जनाइएको छ। होटल निर्माण दुई वर्षभित्र सम्पन्न भइसक्ने प्रबन्धक श्रेया पाण्डेको भनाइ छ।

पूर्वपश्चिम राजमार्ग, बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग र भारतसँग जोड्ने बर्दिवास जलेश्वर तथा बर्दिवास सम्सी सडकको सङ्गम रहेको हुँदा यो ठाउँ आम यात्रीका लागि बसोबास गर्न उपयुक्त केन्द्र बन्दै गएको प्रबन्धक पाण्डेले बताए । 

चुरे पहाडको काखमा अवस्थित बर्दिवास वरपर टुटेश्वरधाम, पञ्चधुरा माइस्थान र  राइमण्डल धार्मिक क्षेत्र पर्यटकका गन्तव्य बन्दै आएका छन्।

यसैगरी १० हजार वर्ष पहिलेको पाषाणकालीन हतियार कारखाना यहाँ रहेको तथ्य प्रकाशमा आउँदै गएपछि यसबारे चासो राख्ने अन्वेषकको बाक्लो आउजाउ बढेको बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले बताए। साथै पूर्वपश्चिम राजमार्गमा मधेसको झण्डै मध्यविन्दूमा परेको हुँदा बर्दिवासमा होटल तथा पर्यटन सम्भावना बढेको उनको भनाइ छ।

सेवा, सुविधा र अपनत्वभाव होटल तथा पर्यटन सम्भावना विकासका अपरिहार्य पक्ष रहेको होटल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेश समितिका अध्यक्ष हिरालाल गौतमले बताए। यही कुरालाई मध्यनजर गर्दै मुलुकमा ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार रहेका उहाँले जानकारी दिए। 

हाल मुलुकमा पाँच तारे होटलको सङ्ख्या २२ र चार तारे होटलको सङ्ख्या ३४ पुगेको छ। नयाँ बन्न लागेको होटल रामिणीले भारतका होटल ब्राण्डसँग छलफल गरी सेवा तथा सुविधा स्तरीय बनाइने प्रबन्धक पाण्डेले बताए। उनका अनुसार  होटल सञ्चालनमा आएसँगै एक सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने छन्। रासस


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८११४:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend