काठमाडौं- कोरोना महामारीको प्रभावपछि पर्यटनले गति लिन थालेपछि विदेशी पर्यटनले लय समात्न लागेको छ। पछिल्लो समय विदेशी पर्यटक आगमन बढ्दै गएको छ।
विदेशी पर्यटकबाट हुने आम्दानी कात्तिक मसान्तसम्म जम्मा ६ अर्ब रुपैयाँ भएको छ। साउनदेखि कात्तिक मसान्तसम्म नेपालमा विदेशी पर्यटकले जम्मा ६ अर्ब १० करोड रुपैयाँमात्र भित्रिएको छ। गत वर्षको तुलनामा यो धेरै भएपनि नेपालीले भ्रमणमै गरेको खर्चको तुलनामा भने न्यून हो।
यो अवधिमा नेपालीले भ्रमणका लागि भन्दै ९ अर्ब रुपैयाँ बाहिर लिएका छन्। पर्यटनसँगै अध्ययनमा पनि यो वर्ष १० अर्ब ७० करोड रुपैयाँ बाहिरिएको छ।