नारायणगढ- मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ।
केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही बैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ।
सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।
चितवनको इच्छाकामना गाउँपालिका-४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका-३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिर जाने भक्तजनको सहजताका लागि विसं २०५५ मा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो। रासस