बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

इटहरीमा 'ताल-तलैया बहुउद्देश्यीय पर्यटन परियोजना' विकास गर्न १३ अर्ब ९० करोड लगानी खोजिँदै

शुक्रबार, वैशाख ७ २०८१
इटहरीमा 'ताल-तलैया बहुउद्देश्यीय पर्यटन परियोजना' विकास गर्न १३ अर्ब ९० करोड लगानी खोजिँदै

सिमसार क्षेत्रको संरक्षण र बहुउद्देश्यीय पर्यटन विकास गरी प्रकृतिमा आधारित पर्यटन, विभिन्न सम्मेलन पर्यटन, शिक्षा पर्यटन, विभिन्न मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुन सकिने पर्यटनका साथै खेलकुद पर्यटन प्रवर्द्धन गर्ने सरकारको लक्ष्य छ।

काठमाडौं- पूर्वी नेपालमा प्राकृतिक सुन्दरताले भरिपूर्ण ताल तलैयाहरू प्रसिद्ध पर्यटकीय गन्तव्यका रुपमा रहँदै आएका छन्। पोखरीसहित हरियाली दृश्यहरू, विभिन्न नदीका साथै सिमसार क्षेत्रको एकीकृत प्रवर्द्धन गरी त्यसको संरक्षण र बहुउद्देश्यीय पर्यटन विकासका लागि 'ताल-तलैया बहुउद्देश्यीय पर्यटन परियोजना' निर्माणको काम गरिने भएको छ।

'ताल-तलैया बहुउद्देश्यीय पर्यटन परियोजना'का आउँदो लगानी सम्मेलनको सोकेसमा राख्दै आयोजनाका लागि कुल १३ अर्ब ९० करोड रुपैयाँ लगानी जुटाउने प्रयासमा सरकार रहेको छ। ताल-तलैया बहुउद्देश्यीय पर्यटन परियोजना सुनसरीको इटहरी उपमहानगरपालिकामा पर्दछ।

सिमसार क्षेत्रको संरक्षण र बहुउद्देश्यीय पर्यटन विकास गरी प्रकृतिमा आधारित पर्यटन, विभिन्न सम्मेलन पर्यटन, शिक्षा पर्यटन, विभिन्न मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुन सकिने पर्यटनका साथै खेलकुद पर्यटन प्रवर्द्धन गर्ने सरकारको लक्ष्य छ।

साथै पर्यटकीय, धार्मिक, साँस्कृतिक तथा जैविक विविधताको हिसाबले महत्त्वपूर्ण क्षेत्र हसिना सिमसारको विकास गर्ने सरकारको लक्ष्य रहेको छ। पर्यटन पूर्वाधार विकास गरी ताल तलैया र हसिना सिमसार क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने सरकारको योजना रहेको छ।

यस्तै एकीकृत सिमसार विकासमार्फत वन र वन्यजन्तुको संरक्षण र व्यवस्थापन गर्ने, स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने साथै उक्त क्षेत्रमा सहज पहुँचको व्यवस्थापन मिलाउने काम गरिने जनाइएको छ। 

उक्त परियोजनालाई विभिन्न पाँच भागमा विभाजन गरि काम गरिने छ। जसमा पहिलोमा वाटर पार्क र बोटिङका लागि पानीसम्बन्धी क्षेत्र हुनेछ। 

यसैगरी बैठक, सम्मेलन र विभिन्न प्रदर्शनीका लागि आवश्यक पूर्वाधार पनि निर्माण गरिने छ। जसमा सम्मेलन हल, प्रदर्शनी हल, होटल तथा क्यासिनो, प्रशासनिक क्षेत्र, अनुसन्धान केन्द्र, खेलकुद परिसर, साइन्स सिटी, बहुतले पार्किङ, संग्रहालय र खाना खाजाको प्रबन्ध हुने रेस्टुरेन्ट क्षेत्र विकास गरिने छ। 

यस्तै विभिन्न मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुन सकिने पर्यटनका लागि पनि पूर्वाधारहरू निर्माण हुनेछ। जहाँ पिकनिक स्थल, मनोरञ्जनात्मक प्लाजाहरू निर्माण हुने छ। 

यसैगरी पर्यापर्यटनका लागि पनि कामहरू हुने छ। जहाँ बोटानिकल गार्डेन, जातजातीको संस्कृति झल्काउने क्षेत्र, रिट्रिट सेन्टर, शिव पार्क, चिडियाखाना, स्काई वाक टावर, पशुपालन क्षेत्रलगायतका संरचना निर्माण हुने छ। यस्तै पानी पुनर्भरण तथा घना जंगलको विस्तार पनि गरिने छ।

परियोजनाबाट पर्यटन विकासमा सहयोग पुग्ने, पूर्वाधार विकास हुने, रोजगारी सिर्जना हुने, संस्कृतिको संरक्षण र वातावरणको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। आयोजना पीपीपी तथा 'बुट मोडल'मा विकास गर्न सकिने जनाइएको छ। 


प्रकाशित : शुक्रबार, वैशाख ७ २०८१०९:३५
  • सम्बन्धित विषय:

  • # तेस्रो लगानी सम्मेलन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend