शनिबार, साउन १२ गते २०८१    
images
images
images

धार्मिक पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले सहकार्य गर्छ : महासंघ अध्यक्ष ढकाल

images
मंगलबार, वैशाख ४ २०८१
images
images
धार्मिक पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले सहकार्य गर्छ : महासंघ अध्यक्ष ढकाल

मुलुकका धार्मिक तथा सांस्कृतिक धरोहरहरु पर्यटनको प्रचुर सम्भावनायुक्त क्षेत्र रहेकाले तिनको विकास र विस्तारमा सरकार, व्यवस्थापन समिति तथा स्थानीयहरुसँग सहकार्य गरी अघि बढ्न निजी क्षेत्र तयार रहेको उनले बताए।

images

बागलुङ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा धार्मिक तथा सांस्कृतिक क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन्।

images
images

उनले धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्रमा पछिल्लो समय निजी क्षेत्रले लगानी बढाएको दृष्टान्त पेस गर्दै मुलुकका धार्मिक तथा सांस्कृतिक धरोहरहरु पर्यटनको प्रचुर सम्भावनायुक्त क्षेत्र रहेकाले तिनको विकास र विस्तारमा सरकार, व्यवस्थापन समिति तथा स्थानीयहरुसँग सहकार्य गरी अघि बढ्न निजी क्षेत्र तयार रहेको बताए।

images

धार्मिक आस्थाका धरोहरहरुको विकास र विस्तारका लागि ती क्षेत्रमा पर्यटन पूर्वाधार बन्नु आवश्यक रहेको भन्दै अध्यक्ष ढकालले आफूहरुले बुटवलको कामाख्यादेवी र गैंडाकोटको मौलाकालीमा केबलकार निर्माण गरिसकेको र कैलालीको जाल्पादेवी र ताप्लेजुङको पाथीभरामा निर्माण प्रक्रिया सुरु भएको जानकारी पनि दिए।  

आज बागलुङको चैते दसैँ मेलाको उद्घाटन गर्दै उनले भने, 'मुलकका धार्मिक तथा सांस्कृतिक आस्थाका धरोहरहरुमा पर्यटन पूर्वाधार बन्नु भनेको ती सम्पदाको संरक्षण र प्रवर्द्धनका साथै भक्तजनहरुलाई पनि सहजता प्राप्त हुनु हो। त्यसैले जहिले पनि निजी क्षेत्रले पूर्वाधारमार्फत पर्यटन प्रवर्द्धनमा जोड दिने गरेको छ।'

images

उनले विश्वका हिन्दू तथा बौद्धमार्गीहरुको साझा तीर्थस्थल मुक्तिनाथ जाने प्रवेशद्वार बागलुङ र पर्वत रहेकाले त्यहाँ जाने मार्गका साथै कालीकण्डकी कोरिडोर र मध्यपहाडी लोकमार्गको पूर्णता र कोरला नाकाको पूर्ण क्षमतामा सञ्चालनबाट यस क्षेत्रमा समृद्धि प्राप्त हुने बताए। उनले बागलुङको ऐतिहासिक चैते दसैँ मेला स्थानीय उत्पादनको खरिद-बिक्री केन्द्रका रुपमा स्थापित भएको बताउँदै यस्ता मेला महोत्सवबाट मौलिकता र स्थानीयताको प्रवर्द्धनमा सहयोग पुग्ने बताए।

कालिका मन्दिरको इतिहाससँग जोडिएको चैते दसैँ मेला बागलुङमा तीन सय वर्ष पुरानो रहेको बताइन्छ। यसै अवसरमा आयोजित मेलाको आज औपचारिक उद्घाटन गरिएको हो।

त्यस अवसरमा अध्यक्ष ढकालले आदर्श सञ्चारमा कार्यरत सृजना पन्त र धौलागिरि एफएममा कार्यरत ताराप्रसाद शर्मालाई कालिका पत्रकारिता पुरस्कार प्रदान गरेका थिए।

उद्घाटन कार्यक्रममा पूर्वमन्त्री चम्पा खड्का, कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालगायतले यस मेलाको ऐतिहासिक पक्षका बारेमा जानकारी गराएका थिए। यस अवसरमा बागलुङको कालिका मन्दिरमा पाँच लाख दर्शनार्थी आउने अपेक्षा रहेको समितिका अध्यक्ष खड्काले बताए। गएको शुक्रबारदेखि सुरु भएको मेलामा आज मुख्य दिनसम्म दुई लाख ५० हजारभन्दा बढी दर्शनार्थी आइसकेका अध्यक्ष खड्काले बताए।

मेलामा हालसम्म दुई करोडभन्दा बढीको काराबार भइसकेको उनको भनाइ छ। मेला जिल्लामा क्रियाशील संघसंस्था, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, स्थानीय उद्योगी व्यवसायीलगायत सरोकारवालासँग सहकार्य गरेर मनाइँदै आइएको छ। रासस


प्रकाशित : मंगलबार, वैशाख ४ २०८११६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend