बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

इतिहास सम्झाइरहेका मुगुका परम्परागत घर (भिडियो)

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ४ २०८१
इतिहास सम्झाइरहेका मुगुका परम्परागत घर (भिडियो)

घरमाथि घर जोडिएर निर्माण गर्दा कम जमिन खर्च हुनुका साथै आर्थिक रुपमासमेत कम खर्च हुने स्थानीय बासिन्दाको भनाइ छ।

मुगु- मुगुको छायाँनाथ रारा नगरपालिकाभित्रका अधिकांश घरहरू परम्परागत रुपमा निर्माण गरिएका छन्। एक तला घरहरू भएका कारण भुँइ तलामा पशुचौपाय र माथिल्लो तलामा स्थानीयबासीहरू बस्ने गरेको पाइएको छ । 

परम्परागत रुपमा निर्माण गरिएका कच्ची घरहरू पुर्खाले छाडेको चिनोको रुपमा रहेको स्थानीयबासी बताउँछन्। घरमाथि घर जोडिएर निर्माण गर्दा कम जमिन खर्च हुनुका साथै आर्थिक रुपमासमेत कम खर्च हुने उनीहरूको भनाइ छ। 

घर निर्माण गर्नका लागि थोरै जमिन हुनुका साथै सहयोग आदानप्रदान गर्नसमेत सहज हुने गरेको उनीहरूको भनाइ छ।

निर्माणका सामग्रीहरू गाउँ-गाउँमा ल्याउनका लागि सहज नहुँदा खर्च कम गर्न यस्ता होचा घरहरू निर्माण गरिएको तत्कालीन रोवा गाविस वडा नम्बर ५ का वडाध्यक्ष गोरखबहादुर बुढाले बताए। 

विस्तारै पछिल्लो पुस्ताले नयाँ घरहरू निर्माण गर्न थालेको उनको भनाइ छ। नगरपालिकाभित्रका श्रीनगर, कार्कीवाडा, रोवा, रुगा र पिना गाँउ विकास समितिहरू गाभिएर छाँयानाथ रारा नगरपालिका बनेको हो।

धार्मिक मान्यताअनुसार नेपालका महत्वपूर्ण चार धामहरू बराहक्षेत्र, पशुपतिक्षेत्र, मुक्तिनाथक्षेत्र, ऋषिकेश/रुरु क्षेत्र जस्तै छायाँनाथ पनि हिन्दूधर्मावलम्वीहरूको एउटा प्रसिद्ध धाम हो। यस जिल्लाको ठूलो आस्था र विश्वासको धरोहर छायाँनाथ ठाकुरज्यूको नित्य पुजाको लागि हालको छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर २ को चैन गाउँमा गाथ रहेको छ। 

मुगु कर्णाली नदी यसै नगरपालिका भएर बग्दछ। नेपालकै सबैभन्दा ठूलो रारा ताल यसै नगरपालिकामा रहेकोले सो ताल र छायाँनाथ देवताको संयुक्त अस्तित्वलाई मान्यता दिइ दुवैको नामबाट यस नगरपालिकालाई छायाँनाथ रारा नामाकरण गरिएको हो।

यस जिल्लामा प्रवेश गर्न पूर्वपश्चिम लोकमार्गलाई बाँकेको कोहलपुरमा छाडेर सुर्खेत, दैलेख, कालिकोट, जुम्ला हुँदै सडकमार्गबाट पुग्न सकिन्छ भने नेपालगञ्जबाट हवाईमार्गमार्फत ताल्चा विमानस्थलमा आउन पनि सकिन्छ।

कृषिको लागि माटो राम्रो भए तापनि जमिन समथर नभइ भिरालो भएको र मलिलो माटो बर्सेनि बग्दै जाँदा कृषिको उर्वराशक्ति नष्ट हुँदै गएको छ।

परम्परागत कृषि प्रणाली, सिँचाइको असुविधा खेती लगाउने समयमा उन्नत बीउ, मलको अभाव जस्ता कारणले कृषि उपजले कृषकको जीवनस्तरमा अपेक्षित परिवर्तन आउन सकेको छैन।

केही कृषकहरूले भने यस नगरभित्र वर्षमा बाह्रै महिना हरिया सागपातमा उत्पादन गर्दै आत्मनिर्भर हुन खोजिरहेका छन्। रासस


प्रकाशित : मंगलबार, वैशाख ४ २०८११३:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend