बुधबार, जेठ ९ गते २०८१    
images
images

अनुमानित समयबाट सुनिश्चिततातर्फ नागढुंगा सुरुङमार्ग

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ४ २०८१
images
images
अनुमानित समयबाट सुनिश्चिततातर्फ नागढुंगा सुरुङमार्ग

सुरुङको सुरक्षाका लागि सिसिटिभी क्यामेरा तथा सबै संयन्त्रको सञ्चालन गर्न एक कन्ट्रोल रुमसमेत सुरुङ मार्गको पूर्वी पोर्टल नजिक बन्दै छ।

images
images

काठमाडौं- नागढुंगा सुरुङमार्गमा मुख्य सुरुङ छिचोलिएसँगै अब बाँकी काममा सुनिश्चितता देखिने भएको छ। सुरुङकै 'ब्रेक थ्रु' नहुँदासम्म दिनमा कति मिटर खनिन्छ र कहिले सकिन्छ भन्ने अनुमानमा चल्नुपर्ने अवस्थाबाट अब काम सुनिश्चितातर्फ लागेको हो।

images
images
images

परियोजनाको परामर्शदातृ संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाले अब कामको व्यबस्थापन र समयअनुसार काम गर्ने सहज हुने बताए। अबदेखि काम सुनिश्चितातर्फ लागेको कोइरालाले बताए। 

images

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बहुप्रतिक्षित नागढुंगा सुरुङमार्गको सोमबार ‘ब्रेक थ्रु’ गरेपछि मुलुक पूर्वाधार निर्माणको नयाँ चरणमा प्रवेश गरेको धारणा सम्बद्ध विज्ञहरुले गरेका छन्। 

images
images

यद्यपि छिचोलिएको यो सुरुङमार्ग प्रयोगमा आउन भने एक वर्षभन्दा बढी समय लाग्नेछ। यस अगाडिसम्म राज्यको आम जनतासम्म सडक सुविधाको पहुँच पुर्याउने लक्ष्य रहने गरेकामा अब आवागमनलाई छिटो र सहज बनाउने चरणमा प्रवेश गरेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल बताउँछन्।

images
images

नागढुंगा सुरुङमार्ग त्यही कामको सुरुतात भएको पनि उनी बताउँछन्। यससँगै अब निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग कुनै बाधा नपरे अबको एक वर्षभित्र छिचोलिन जानकारी उनले दिए।

यसपछि बागलुङस्थित भिरकोटको सुरुङ मार्ग पनि निर्माणका लागि तयारी भइरहेको छ। निर्माणाधीन काठमाडौँ तराई द्रुत मार्गमा चार स्थानमा गरी झन्डै ६ किलोमिटर सुरुङमार्ग निर्माण हुँदैछ। 

त्यसैगरी, बिपी कोइराला राजमार्गको चियाबारी सुरुङ मार्ग पनि छिचोलिने तयारीमा छ। यसरी क्रमशः देशका विभिन्न ठाउँमा सुरुङ मार्गको आवश्यकता महसुस हुन थालेको महानिर्देशक ढकाल बताउँछन्। 

यद्यपि दुई सय मिटरसम्मका सुरुङ मार्ग सहजै सञ्चालन गर्न सकिने भए पनि त्यसभन्दा लामा सुरुङ मार्ग भने सुरक्षा, अक्सिजन र वातानुकूलन जस्ता धेरै विषय वस्तुको प्रबन्ध मिलाउनुपर्ने भएकाले खर्चिला हुने जानकारी पनि उनले दिए। 

नागढुंगा सुरुङ मार्गले पनि करिब यस्तै संवेदनशीलता बोकेको छ। आजको ब्रेक थ्रुपछि खनेर माटो आदि निकाल्ने काम सकिए पनि सवारी साधन पूर्ण रुपमा चल्न झन्डै एक सय जनाको जनशक्तिले निरन्तर काम गर्नुपर्ने परियोजनाको परामर्शदातृ संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइराला बताउँछन्।

बीचमा अन्य कारणले अवरोध नआएमा आगामी वर्षभित्र यो मार्ग पूर्ण रुपमा सञ्चालन हुने छ। यो सुरुङ मार्ग सञ्चालनमा आएपछि त्रिभुवन राजपथ सिस्नेखोलादेखि  बलम्बुसम्मको दूरी तीन किलोमिटरले कम हुनेछ।

सडकको दूरी तीन किलोमिटरले मात्र कम भए पनि सुरुङ मार्गको पश्चिमी प्रवेश विन्दुदेखि नागढुंगासम्मको उकालो र त्यहाँ हुने ट्राफिक जामलाई समेत हिसाब गर्दा एक व्यक्तिको झन्डै आधा घन्टा समय बचत हुने देखिएको कोइराला बताउँछन्।

साथै यसले यसअघि अनुभव नभएको यातायातका लागि सुरुङ मार्ग बनाउने राष्ट्रिय क्षमता वृद्धि गर्नाका साथै प्रविधि हस्तान्तरणमा समेत सहयोग पुर्याउने कोइराला बताउँछन्।

'अब नेपालीले पनि यस्ता सुरुङमार्ग बनाउन सक्छन् भन्ने स्थापित भएको छ', उनले भने। हाम्रोजस्तो ८५ प्रतिशत पहाडी भूभाग भएको र नदीनालाका कारण कहीँबाट कतै जान उकाली ओराली गर्नुपर्ने र अनगिन्ती घुम्तीबाट गुज्रनुपर्ने बाध्यतालाई सुरुङमार्गले कम गर्न सक्ने उनी बताउँछन्।

'कुनै पनि एक प्रस्थान विन्दुबाट गन्तव्यसम्म सिधा जोड्ने अवसर सुरुङ मार्गले दिन्छ', उनी भन्छन्। यसबाट बचत हुने समय र इन्धनको हिसाबले त सुरुङ मार्गको फाइदा बहुआयामिक देखिने पनि उनले बताए।  

चार वर्षअघि सुरुङ गर्दा कसरी गर्ने भन्ने अन्योल भए पनि त्यसको अनुभवका आधारमा भविष्यमा नेपालमा थुप्रै सुरुङ बन्ने देखिएको धारणाको उनको छ। 

सुरुङ मार्गको डिजाइनमा संलग्न वरिष्ठ इन्जिनियर डा भोला घिमिरेका अनुुसार समग्र देशकै आत्मविश्वास उत्पन्न भएको छ। नेपालीमा अब सुरुङ खनेर विकास गर्ने आँट आएको बताउँछन्।   

अनुमानित समयबाट निश्चित समयतर्फ 

यातायातका लागि अत्याधुनिक यो सुरुङ मार्गमा अक्सिजनको निरन्तर आपूर्ति सबैभन्दा संवेदनशील विषय हो। यसका लागि १५ वटा जेट फ्यान आवश्यक हुने कोइराला बताउँछन्।

यसका साथै कूल दुई हजार ६ सय ८८ मिटर दूरीमा चौबिसै घन्टा उज्यालो आवश्यक हुन्छ। बत्ती र अन्य संयन्त्रको सञ्चालनका लागि कूल दुई मेगावाट विद्युत् चाहिने भएकाले विद्युत् प्राधिकरणको मातातीर्थ स्टेसनबाट ११ केभिएको २४ घण्टे डेडिकेटेड लाइन ल्याउने व्यवस्था गरिएको जानकारी उनले दिए। साथै जेनेरेटरलाई पनि तयारी हालतमा राख्ने व्यवस्था समेत गरिएको उनले बताए। 

यसबाहेक निरन्तर सञ्चार संयन्त्र तथा अग्नि नियन्त्रक यन्त्र र सुरुङभित्र जडान भएका अन्य संयन्त्र (टनेल फ्यासिटी) हरहमेसा तयारी हालतमा राख्नुपर्छ। आगलागी सुरुङ मार्गको सर्वाधिक जोखिमको विषय भएका कारण त्यसका लागि सर्वाधिक संवेदनशील निरन्तर सतर्क हुनुपर्छ।

आगलागी भइहालेको अवस्थामा सुरुङभित्र जडित अग्निसमन यन्त्रको तत्काल प्रयोग गर्ने कन्ट्रोल रुमलाई तत्काल परिचालन गर्ने र आगलागीको अवस्थाको जानकारी सुरुङ मार्गमा रहेका र पस्दै गरेका सवारी साधनहरुलाई माइक र एफएम रडियोमार्फत तत्काल दिनेजस्ता कार्य हुनेछन्।

त्यसपछि ट्राफिक व्यवस्थापन र डाइभर्सन तत्काल गराउने,  सुरुङ मार्गमा राखिने भिजुअल बोर्डमा तत्काल आगलागी र सुरक्षासम्बन्धी सूचनाहरु डिस्प्ले गराउने र सबै सञ्चारमाध्यमम समेत कन्ट्रोल रुममार्फत यसबारेको जानकारी प्रेषित पठाउने व्यवस्था गरिने जानकारी दिन्छन्। 

सुरुङको सुरक्षाका लागि सिसिटिभी क्यामेरा तथा सबै संयन्त्रको सञ्चालन गर्न एक कन्ट्रोल रुमसमेत सुरुङ मार्गको पूर्वी पोर्टल नजिक बन्दै छ।

सामान्यतया सुरुङ मार्गभित्र एफएम रेडियोको तरङ्ग पुग्न नसक्ने भएकाले त्यहाँबाट गुज्रने यातायातका साधनहरुमा निर्बाध रेडियो बजून् भन्नका लागि रेडियो सिग्नल पुर्‍याउने सञ्जाल त्यहाँ स्थापना गरिनेछ। उल्लिखित सबै कार्यका लागि पर्याप्त जनशक्तिको व्यवस्थापन हुने उनले बताए। रासस


प्रकाशित : मंगलबार, वैशाख ४ २०८११०:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend