बुधबार, जेठ १६ गते २०८१    
images
images

न्यून आयात र रेमिट्यान्समा उच्च वृद्धिदरले सात वर्षपछि चालु खातामा राहत

images
मंगलबार, वैशाख ४ २०८१
images
images
न्यून आयात र रेमिट्यान्समा उच्च वृद्धिदरले सात वर्षपछि चालु खातामा राहत

चालु खातामा यो वर्ष सुधार देखिएपनि आर्थिक क्षमता बढेरभन्दा पनि आन्तरिक बजारको शिथिलताका कारणले सिर्जना भएको परिणाम हो।

images
images

काठमाडौं- पछिल्लो सात वर्षदेखि दबाबमा रहेको चालु खातामा चालु आर्थिक वर्ष सहज हुने देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा चालु खाता १ खर्ब ६६ अर्ब रुपैयाँले बचतमा रहेको छ। 

images
images
images

यो आँकडाअनुसार यो वर्षको अन्त्यसम्म बचत अझै बढ्ने देखिएको छ। चालु खाता बचतको आँकडाले यो वर्ष रेकर्ड कायम गर्ने संकेत देखिएको छ। 

images

बाह्य क्षेत्र असन्तुलनको जोखिम संकेत बनिरहेको चालु खाता पछिल्लो ६ वर्षदेखि निरन्तर घाटामा रहेको थियो। आर्थिक वर्ष २०७३/७४ मा १ खर्ब ४० अर्ब रुपैयाँले चालु खाता बचतमा रहेको थियो। त्यसपछि निरन्तर घाटामा गएको चालु खाता यो वर्ष बचतमा जाने देखिएको छ। 

images
images

चालु खाता बचतमा जानुको मुख्य कारण अर्थतन्त्रमा सुधार भएर भन्दा पनि न्यून मागका कारणले व्यापार सुस्त हुनु हो। त्यही कारणले गर्दा आयात घटेको छ तर यही अवधिमा रेमिट्यान्समा सुधार भइरहेको छ। पछिल्लो समय मासिक एक खर्बमाथिको रेमिट्यान्स आइरहेको छ। यही कारणले चालु खाता बचतमा रहेको छ। 

images
images

आठ महिनामै ९ खर्ब ६१ अर्बभन्दा धेरै रेमिट्यान्स देशमा भित्रिसकेको छ। यही अवधिमा आयात २ प्रतिशतले घटेको छ। पछिल्लो समय निरन्तर आयात घट्ने र रेमिट्यान्स बढ्ने भइरहेको छ। आठ महिनामा रेमिट्यान्स २१ प्रतिशतले बढेको छ। 

रेमिट्यान्स र चालु खाता घाटाको सम्बन्ध कस्तो देखिन्छ? 

पछिल्लो ६ वर्षदेखि नेपालको चालु खाता निरन्तर घाटामा रहेको थियो। निरन्तर ६ वर्षको घाटा नेपाली अर्थतन्त्रले २०५८ सालपछि ब्यहोरेको हो। देशले वर्षभरमा वस्तु तथा सेवाको निर्यातबाट गर्ने आम्दानी र त्यसबापत भुक्तानी गर्ने रकमको अन्तर ऋणात्मक हुँदा घाटा हुन्छ। 

आर्थिक वर्ष २०५६/५७ भन्दा अघिको २६ वर्षमा नेपालको चालु खाता निरन्तर घाटामा थियो। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार त्यो अवधिमा जम्मा चार वर्षमात्र चालु खाता बचतमा रहेको थियो। आर्थिक वर्ष २०५७/५८ देखि भने अवस्था फेरियो। त्यसपछिका १६ वर्षमा जम्मा ३ वर्षमात्र चालु खाता ऋणात्मक भएको थियो। अर्थात् १६ वर्षमध्ये १३ वर्षसम्म मुलुकको वस्तु तथा सेवाको खुद निर्यात बचतमा थियो। 

अघिल्लो २६ वर्षमा चार वर्षमात्र बचत रहेको खाता पछिल्लो १६ वर्षमा १३ वर्ष बचतमा जानुको एउटा मुख्य कारण रेमिट्यान्स थियो। जुन आर्थिक वर्षदेखि रेमिट्यान्सको प्रवाह मुलुकमा बढ्न थाल्यो त्यही वर्षदेखि खाता बचतमा गएको छ। आर्थिक वर्ष २०५७/५८ मा मुलुकमा ४७ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो। त्यसैले सो वर्ष खाता बचतमा थियो। त्यसपछिका वर्षमा रेमिट्यान्स प्रवाहमा वृद्धि हुँदै गयो र १६ वर्षमा १३ वर्ष मुलुकको चालु खाता बचतमा रह्यो। 

चालु खातामा यो वर्ष सुधार देखिएपनि आर्थिक क्षमता बढेरभन्दा पनि आन्तरिक बजारको शिथिलताका कारणले सिर्जना भएको परिणाम हो। यही अवस्थामा रमाउनेभन्दा पनि यसलाई कसरी दिगो बनाउने भनेर सोच्नुपर्ने अर्थशास्त्रीहरूले बताउँदै आएका छन्। 

बाह्य क्षेत्रमा देखिएको सुधार मुलुकको क्षमता बढेरभन्दा पनि सुरूमा उपभोगमा नियन्त्रण र त्यसपछि गरिएको कडाइले भूमिका खेलेको हो। 


प्रकाशित : मंगलबार, वैशाख ४ २०८११०:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend