बिहीबार , जेठ १० गते २०८१    
images
images

गर्मी छल्न कुपिन्डे ताल पुग्छन् आन्तरिक पर्यटक

images
सोमबार, वैशाख ३ २०८१
images
images
गर्मी छल्न कुपिन्डे ताल पुग्छन् आन्तरिक पर्यटक

तालको कञ्चन पानीले पर्यटकलाई लोभ्याउने गर्दछ। साथै पर्यटकहरु डुंगामा सयर गर्ने, तस्बिर खिच्ने र तालको अवलोकन गरी रमाउने गर्दछन्।

images
images

दाङ- सल्यानको वनगाँड कुपिन्डे नगरपालिका-८ मा अवस्थित कुपिन्डे तालमा गर्मी छल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै छ। यस याममा गर्मी छल्न तथा मनमोहक सो तालको अवलोकन गर्न स्थानीय पर्यटक बढ्न थालेका हुन्।

images
images
images

स्थानीयहरुका अनुसार अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ पर्यटक पुग्ने गरेका छन्। पछिल्लो समयमा सामाजिक सञ्जाल तथा अन्य विभिन्न सञ्चारका माध्यमबाट यस तालको प्रचार पनि भइरहेकाले यसको अवलोकन गर्नुको साथै डुंगा सयरका लागि आन्तरिक पर्यटक जाने गरेका स्थानीयले जानकारी दिएका छन्।

images

चारैतिर वनजंगल र ती जंगलको बीचमा अवस्थित छ, कुपिन्डे ताल। हरियाली जंगल र मिलेका डाँडाका बीचमा रहेको पो तालको मनमोहक दृश्यले  सबैलाई लोभ्याउने गरेको छ। हुन त अरु याममा पनि पर्यटक त्यहाँ पुग्ने गरेका छन्। यतिखेर झन् गर्मी सुरु भएकाले शीतलताको अनुभूति लिन र तालको अवलोकन गर्न पर्यटकहरु त्यहाँ जाने गरेका छन्।

images
images

त्यहाँ पुगेपछि तालको कञ्चन पानीले पर्यटकलाई लोभ्याउने गर्दछ। साथै पर्यटकहरु डुंगामा सयर गर्ने, तस्बिर खिच्ने र तालको अवलोकन गरी रमाउने गर्दछन्। पर्यटकीय तथा धार्मिक, सांस्कृतिक महत्वको स्थलका रुपमा समेत चिनिने कुपिन्डे ताल अवलोकनका लागि तुलसीपुर उपमहानगरपालिका -६ बाट यहाँ पुगेका २३ वर्षीय नवीन अधिकारी तालको अवलोकनबाट आनन्दको अनुभूति गरेको बताए।

images
images

उनले भने, 'यति राम्रो प्रकृतिको मनोरम दृश्य देख्न पाउँदा नलोभिने कोही हुँदैन। हामी पनि समय समयमा यहाँ परिवारकै साथमा आउने गर्दछौँ। यस ताललाई सबै मिलेर संरक्षण गरी अझ राम्रो बनाउनुपर्छ, यसबाट थप पर्यटक आकर्षित हुनेछन्।'

अधिकारीले चार घण्टा समय ताल क्षेत्रमा बिताएको बताए। तालको सुन्दरताबाट लोभिएको उनले सुनाए।

प्राकृतिक रुपमा मनोरम ताललाई स्वदेश तथा विदेशमा चिनाउन प्रचारप्रसार गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिका-६ का ४७ वर्षीय राधा रजौरेले बताए। उनले यस दहको संरक्षण र पर्यटकीय संरचनाको निर्माण गर्न सके विदेशी पर्यटक पनि आकर्षित हुनसक्ने धारणा राखे।

उनले भने, 'यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सके सल्यानको मात्र नभइ छिमेकी जिल्लाका मुहार फेरिन पनि सक्छ। मनमोहक दह र यस वरपरको प्राकृतिक सौन्दर्यले सबैलाई आकर्षित गर्न सक्दछ।'

सल्यान जिल्लाका विभिन्न धार्मिक मठ मन्दिरमा दर्शन तथा पूजा आरधना गर्न गएका भक्तजनहरु कुपिन्डे दह र यहाँको बराह मन्दिरसम्म पुग्ने गरेका छन्। त्यसैले यस ताललाई धार्मिक तथा पर्यटकीय पर्यटनसँग जोड्न सकिने यहाँ आउने पर्यटकको भनाइ छ।

बाँकेको कोहलपुरबाट सो दह घुम्न साथीहरुसँग पुगेका ४८ वर्षीय  भीमप्रसाद रेग्मी तालमा रमाइरहेका थिए। उनी तालमा डुंगा चढेर जलविहार गर्ने र तस्बिर लिने काममा व्यस्त थिए।

ताल हेर्न पुगेकी तुलसीपुर उपमहानगरपालिका-५ की ४८ वर्षीया राधा योगीले तालको संरक्षण तथा विकासका लागि ध्यान दिन स्थानीय सरकार र कर्णाली प्रदेश सरकारलाई आग्रह गरिन्। उनी भन्छिन्, 'ताल हाम्रो अद्वितीय सम्पत्ति हो, यसको संरक्षण र संवर्द्धनका लागि सरकारको ध्यान पुग्नु जरुरी छ।'

तालसम्म पुग्ने मोटरबाटो कच्ची रहेकाले त्यस बाटोलाई कालोपत्र गर्न र ताल वरपर होटल तथा चमेना गृह सञ्चालन गर्न सकिएमा ताल घुम्न जाने पर्यटकलाई सुविधा पुग्ने उनले बताइन्।

कुपिन्डे ताल संरक्षण समितिका अध्यक्ष चेतबहादुर कुँवरले विसं २०६७ मा मात्रै यो तालको चर्चा सुरु भएको बताए। उनका अनुसार यस तालको आफ्नै विशेषता छ। वरिपरि घना जंगल भए पनि यसमा एउटा पनि पात खसेको भेटिँदैन। पात खस्नासाथ आफै किनारमा पुग्छन् या यहाँका चराले छेउसम्म धकेल्दै लैजाने गरेको पनि देखिन्छ। यो ताल चखेवा, पानी हाँस र स्थानीय जातका माछाको बासस्थान पनि हो।

कुपिन्डे तालको गहिराइ ६९ मिटर, लम्बाइ एक हजार दुई सय मिटर र चौडाइ सरदर साढे तीन सय मिटर छ। तालको क्षेत्रफल भने यकिन छैन। तालमा पानी कहाँबाट आउँछ र कहाँबाट बाहिरिन्छ भन्ने स्पष्ट रुपमा देखिँदैन। स्थलगत रुपमा हेर्दा यसको मुहान देखिँदैन र निकास पनि भेटिँदैन।

देखिने गरी तालको निकास नभए पनि पश्चिमतर्फको भागबाट जंगलको भित्रभित्रै पानी रसाएर जाने गरेको हुनसक्ने अनुमान छ। बनगाँड कुपिन्डे नगरपालिकाका नगरप्रमुख कर्णबहादुर बुढाथोकीले तालको विकासका लागि आफू लागिपरेको बताए।

उनले ताल जङगलको बीचमा रहेको, यहाँ जलचर जीवजन्तु समेत रहेका तथा जमिन वनको भागमा पर्ने भएकाले वातारणीय प्रतिवेदन तयार गरेर तालको संरक्षण तथा विकासको योजना बनाइने बताए।

प्रतिवेदन स्वीकृत भएर आएपछि गुरुयोजना तयार गरी भौतिक पूर्वाधार निर्माणका काम थालिने जानकारी पनि उनले दिए। साथै यसवर्ष बाटो मर्मतका लागि नगरपालिकाबाट बजेट विनियोजन गरिएको र आगामी दिनमा आधारभूत विकासका लागि बजेट विनियोजन गरिने उनको भनाइ थियो। रासस


प्रकाशित : सोमबार, वैशाख ३ २०८१०२:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend