शनिबार, असोज २६ गते २०८१    
images
images

मुगु र हुम्लाबाहेक सबै जिल्लामा पुग्यो टेलिकमको एफटीटीएच सेवा, डोल्पामा आजदेखि सुरु

images
आइतबार, वैशाख २ २०८१
images
images
मुगु र हुम्लाबाहेक सबै जिल्लामा पुग्यो टेलिकमको एफटीटीएच सेवा, डोल्पामा आजदेखि सुरु

मुगुमा हाल जडान भइरहेको र हुम्लामा आगामी वर्षमा जोड्ने योजना रहेको नेपाल टेलिकमले जनाएको छ।

images
images

काठमाडौं- नेपाल टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित फाइबर टु द होम (एफटीटीएच) नेटवर्क सेवा सुरु गरेको छ। उच्च गतिको इन्टरनेट सेवा देशभर पुर्‍याउने सरकारको अभियानअन्तर्गत आजदेखि नेपाल टेलिकमले उक्त सेवा डोल्पामा सुरुवात गरेको हो।

images
images
images

आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डोल्पामा एफटीटीएच नेटवर्क सेवाको भर्चुअलका माध्यमबाट शुभारम्भ गरिन्। यससँगै यो सेवा मुगु र हुम्लाबाहेक सबै जिल्लामा पुगेको छ। मुगुमा हाल जडान भइरहेको र हुम्लामा आगामी वर्षमा जोड्ने योजना रहेको नेपाल टेलिकमले जनाएको छ।

सो अवसरमा मन्त्री शर्माले देशैभरी अप्टिकल फाइबरसहितको इन्टरनेट सेवा पुर्‍याउने सरकारको अभियान साकार हुँदै गएको बताइन्। उनले  नेपाल टेलिकमका अधिकारीहरुलाई यो सेवालाई कम्तीमा प्रत्येक पालिकाका केन्द्रसम्म विस्तार गर्न पनि आग्रह गरिन्। 'सरकारले नाफा मात्रै हेर्दैन, घाटै भए पनि दूरदराजका नागरिकलाई सूचना र सञ्चारको सुविधाबाट वञ्चित गर्दैन', उनले भनिन्, 'सरकारले मुलुकभर इन्टरनेट सेवा पुर्याउने नीतिलाई प्राथमिकता दिएको छ।'

images

इन्टरनेटको अभावमा नागरिकलाई आधारभूत सेवा समेत दिन नसक्ने अवस्था रहेको र त्यसतर्फ सरकारको पनि चासो रहेको भन्दै मन्त्री शर्माले विशेष ध्यान दिन टेलिकमका अधिकारीहरुलाई आग्रह गरिन्। सेवाको पहुँचसँगै सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन पनि उनले आग्रह गरिन्।

images

कतिपय अवस्थामा विद्युतीकरणको अभाव र सोलारका मात्रै भर पर्दा टेलिकमको सेवा गुणस्तरीय नहुने गरेको उल्लेख गर्दै उनले वैकल्पिक प्रविधिको प्रयोग गरेरै भए पनि इन्टरनेट सेवा पुर्याउने प्रतिबद्धता जनाइन्। उनले सञ्चारको विकासमा धेरै समस्याहरु भए पनि ती समाधान गर्न सबैको पहलकदमीको जरुरी रहेको आवश्यकता औँल्याइन्। उनले डिजिटल नेपाल निर्माणमा इन्टरनेट आधारभूत सेवा भएको बताइन्।

सिंहदरबारमा भएको उक्त कार्यक्रममा सहभागी पूर्वमन्त्री सत्या पहाडीले सञ्चारको क्षेत्रमा पछाडि परेको डोल्पामा प्रभावकारी सञ्चार सेवा सुरुवात हुनु महत्वपूर्ण भएको बताइन्। उनले सो सेवालाई थप स्थानमा विस्तार गर्दै सेवाको गुणस्तर र दीगो बनाउन मन्त्री शर्माको ध्यानाकर्षण गराइन्।  'टावर हुने तर फोन नलाग्ने, इन्टरनेट पुग्ने तर राम्रोसँग नचल्ने पनि हुनसक्छ, त्यसतर्फ ध्यान दिनुपर्छ', पहाडीले भनिन्।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले सबै जिल्लामा उक्त सेवा पुर्‍याउने प्रतिबद्धता जनाए। साथै विभिन्न चुनौतीका बीच पनि निकट भविष्यमै मुगु र हुम्लामा पनि सेवा पुर्‍याउने बताए।

उनले सूचना तथा प्रविधिको युगमा निजी क्षेत्र पुग्न नसकेको क्षेत्रमा पुग्नु सरकारको दायित्व भएको बताए। विस्तार, गुणस्तर र सुरक्षा महत्वपूर्ण पाटो रहेको उल्लेख गर्दै सचिव सुवेदीले सञ्चार प्रविधिमा फड्को मार्नुपर्नेमा जोड दिए।

कार्यक्रममा डोल्पाबाट भर्चुअलरुपमा सहभागी नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक उमेशप्रसाद शाहले ५४ प्रतिशत सेवा सोलारको भरमा रहेकाले सेवा प्रवाहमा समस्या रहेको तर प्रभावकारी सेवामा विशेष ध्यान दिइएको बताए।

डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जिल्लामा सीमित स्थानमा मात्रै दूरसञ्चार सेवा उपलब्ध रहेको बताए। उनले इन्टरनेट सेवाको अभावमा ठूलो समस्या भोगिरहेको डोल्पाबासीका लागि आजदेखि शुभारम्भ गरिएको एफटीटीएच नेटवर्क कोसेढुंगा सावित भएको बताए।

जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम रोकाले छरिएर रहेको डोल्पाको बस्तीमा राज्यले  सञ्चार सेवा उपलब्ध गराउन थालेकोमा खुसी व्यक्त गरे। रासस


प्रकाशित : आइतबार, वैशाख २ २०८११७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend