बुधबार, वैशाख १९ गते २०८१    
images
images

धार्मिक पर्यटनसँग जोडिँदै जैमिनी धामको ऐतिहासिकता

images
images
images
धार्मिक पर्यटनसँग जोडिँदै जैमिनी धामको ऐतिहासिकता

प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको तपोभूमिका रूपमा चासो र चर्चा पाएको यही ठाउँकै कारण पालिकाको नाम पनि जैमिनी राखिएको हो।

images
images

गण्डकी- नेपालको नक्सासँग मिल्दोजुल्दो बागलुङ जिल्लाको दक्षिण भेगमा पर्ने जैमिनी नगरपालिका-१ स्थित जैमिनीधाम यहाँको महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हो।

images
images
images

प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको तपोभूमिका रूपमा चासो र चर्चा पाएको यही ठाउँकै कारण पालिकाको नाम पनि जैमिनी राखिएको हो। वेदव्यास पुत्र जैमिनी ऋषिले योग साधना र तपस्या गरेको यस स्थलको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्र्ने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखेको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए।

images

जैमिनी ऋषिको तपोस्थल भएका कारण यसको विशिष्ट धार्मिक महत्व रहेको उल्लेख गर्दै उनले यससँगै नगरभित्रका धार्मिक पर्यटकीयस्थलको प्रवर्द्धन र विकासलाई जोड दिइएको बताए।

images

साविकका कुश्मीसेरा, दमेक, सर्कुवा, विनामारे, अर्जेवा, जैदी, छिस्ती, पैञ्युथन्थाप र राङखानी गाउँ विकास समितिलाई समेटेर नगरपालिका बनेको जैमिनी कुल १० वटा वडामा विभाजित छ।

images
images

जाति तथा भाषागत रूपमा विविधता रहेको यहाँ बाहुन, क्षेत्री, सार्की, दमाई, कामी, नेवार, मगर, ठकुरी, मुसलमान, गुरुङ, चेपाङ, बोटेलगायत बसोबास गर्दछन्। क्षेत्री, मगर आदि जातिको बाहुल्यता रहेको यहाँ बोलचालको भाषा नेपालीसहित विभिन्न जातजातिले मातृभाषाको पनि प्रयोग गरेको पाइन्छ।

जैमिनी धामको प्राचीन महत्व रहेर पनि त्यसलाई उजागर गर्न नसकिएको वास्तविकतामा नगरपालिकाले पर्यटनसम्बद्ध संघसंस्थासँगको सहकार्यमा यसको प्रवर्द्धन र विकास गर्न खोजेको उपाध्यक्ष शर्माले बताए।

'हामी जैमिनी धामसँगै नगरपालिका क्षेत्रभित्रका धार्मिक पर्यटकीय गन्तव्यलाई संरक्षण एवं प्रवर्द्धन गरी पर्यटकीयस्थलका रूपमा विकास गर्न विभिन्न निकायसँग समन्वय गरिरहेका छौँ', उनले भने, 'धेरै सम्भावनायुक्त यहाँका धार्मिक पर्यटकीय गन्तव्य प्रवर्द्धनको अभावमा पछि परिरहेका छन्।'

जैमिनी नगरभित्र जैमिनी धामसँगै थन्थापीमाई मन्दिर, गाजाको दह क्षेत्र, पुरानो गाउँ क्षेत्र, हात्तीढुंगा, पुतलीगरा छिस्ती, कमलजैसी मन्दिर, शिवपुरी, राधाकृष्ण मन्दिर, शालिग्राम संरक्षित क्षेत्र गाईथुने, देविमन्दिर चोखेक, सतिमन्दिर जैदी, रिठेडाँडा, कोट, मर्नास टापु, नागढुंगा र जनै मन्तर्नी पोखरी, आस्थाका प्रसिद्ध धरोहर एवं कालापातल राङखानी, खानी निर्मित सुरुङ, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलगायतको संरक्षण र संवर्द्धनलाई नीति तथा कार्यक्रममा समेटेर संरक्षण र विकासको प्रयास गरिएको नगरपालिकाले जनाएको छ।

प्राचीनकालदेखि नै जैमिनीधाममा प्रत्येक वर्षको माघ सङ्क्रान्तिमा परम्परागत मेला लाग्ने गरेकामा २०४८ सालपछि भने मेलालाई माथि कुश्मिशेरा बजारमा गरिँदै आइएको स्थानीय बताउँछन्। माघेसङ्क्रान्ति एवं बाला चतुर्दशीमा टाढाटाढाबाट कालीगण्डकी स्नानका साथै सद्‌बिज छर्न भक्तजन आउने गरेका छन्।

धाममा रहेका शङ्खे शिला, शिव मन्दिरले यहाँको धार्मिक महत्वलाई अझै उजागर गरेको वडाध्यक्ष गोपाल पौडेलले बताए। फुक्दा शङ्खजस्तै बज्ने ठूलो शिलालाई स्थानीयले प्राचीनकालदेखि नै शङ्खे शिलाका रुपमा लिँदै आएका उनको भनाइ छ। विसं १८५२ को शिलालेख, विसं १९९० मा स्थापित जैमिनिश्वर महादेव मन्दिरलगायत प्राचिन संरचनाले यहाँको ऐतिहासिक एवं धार्मिक महत्वलाई उजागर गरेको उनले बताए।

नगरपालिकाभित्रकै दुई हजार चार सय मिटर उचाइमा रहेको गाजाको दह यहाँको अर्का महत्त्वपूर्ण गन्तव्य रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर भुजेलले बताए। उक्त दहमा प्रत्येक वर्षको ठूलो एकादशीमा मेला लाग्ने र तोरण टाँग्ने प्रचलन रहेको छ।

त्यस्तै दुई हजार एक सय ९५ मिटर उचाइको हाडीकोट शिर यहाँको सूर्योदय हेर्ने अर्को धार्मिक पर्यटकीय गन्तव्य भएको भुजेलको भनाइ छ। नगर क्षेत्रमा नै विसं १८६५ मा निर्मित माईको थान (थन्थाप भगवती मन्दिर), विसं १९५७ मा निर्मित ऐतिहासिक चौतारी तथा पोखरी, दुर्गा भगवती मन्दिरलगायत संरचनाको आआफ्नै धार्मिक एवं पर्यटकीय महत्व रहेको उनले बताए।

नगरपालिकाले यहाँको मौलिकताको जगेर्ना गर्ने उद्देश्यका साथ ऐतिहासिक पोखरीको संरक्षणसँगै चौतारा एवं वरपिपलको संरक्षणलाई पनि जोड दिँदै आएको उपप्रमुख शर्माले जानकारी गराए। ऐतिहासिक धरोधरको संरक्षण र प्रवर्द्धनले यहाँको पर्यटकीय विकासलाई थप उजागर गर्ने उनको भनाइ छ।

सांस्कृतिक मौलिकता जोगाउनका लागि यहाँका रत्यौली, लोकदोहोरी, सालैजो, सोरठी, मारुनी र घाटु आदिको संरक्षण र प्रवर्द्धनमा जोड दिइएको छ। प्राचीनकालदेखि चल्दै आएका जैमिनी मेला, माघेसङ्क्रान्ति मेला, गाजादह मेला, वैकुण्ठ चर्तुदर्शी मेला, ठूली एकादशी मेला, हाडीकोट मेला र पुरानो गाउँ मेला आदिलाई संरक्षणसँगै उचित व्यवस्थापन गरी निरन्तरता दिँदै आइएको छ।

पर्यटन प्रवर्द्धनका लागि चासो

जैमिनी क्षेत्रको पर्यटकीय महत्वलाई उजागर गर्न पालिकाले पहल गरिरहेका अवस्थामा यसको प्रवर्द्धन र विकासलाई पर्यटनसम्बद्ध संघसंस्थाले पनि जोड दिएका छन्। 

जैमिनी क्षेत्रकै प्रवर्द्धनमा जोड दिँदै नेपाल एशोसिएसन अझ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) ले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा हालै गन्तव्य पहिचान एवं प्रवर्द्धनका लागि जैमिनी क्षेत्रमा कार्यक्रम सम्पन्न गरेको नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिए।

'गन्तव्य पहिचान एवं प्रवर्द्धन कार्यक्रमका साथ पर्यटनसम्बद्ध व्यवसायी, सञ्चारकर्मीको सहभागितामा जैमिनीधामलगायत आसपासका पर्यटकीय गन्तव्यको स्थलगत अवलोकन गरेका छौँ', उनले भने, 'सम्भावनायुक्त यहाँका गन्तव्यलाई पर्यटनसँग जोड्नु आवश्यक छ।' 

ऐतिहासिक एवं धार्मिक महत्वका गन्तव्यको प्रवर्द्धनका लागि पालिकासँगै स्थानीयवासीको पनि जागरुकता आवश्यक हुने बताउँदै अधिकारीले आफूहरू यहाँको पर्यटकीय विकासका लागि सहकार्य गर्न तयार रहेको उल्लेख गरे।

विविधताले भरिपूर्ण जैमिनी क्षेत्रका पर्यटकीय गन्तव्य प्रवर्द्धनको पर्खाइमा रहेको पाइएको बताउँदै नाट्टा गण्डकी प्रदेशका उपाध्यक्ष एवं कार्यक्रम संयोजक कमला गिरीले बन्दै गरेको कालीगण्डकी करिडोरका कारण पनि यहाँको प्रचुर पर्यटकीय सम्भावना रहेको बताइन्।

पोखरा पर्यटन राजधानी घोषणा भइसकेका अवस्थामा आसपासका गन्तव्यलाई समेट्नु जरुरी रहेको नाट्टा गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताए।

नाट्टा गण्डकी प्रदेशका महसचिव संगीता पौडेलका अनुसार गन्तव्य पहिचान एवं प्रवर्द्धनका क्रममा जैमिनीका स्थानीय जनप्रतिनिधि, व्यवसायी एवं सरोकारवालासँग अन्तरक्रियासमेत गरिएको थियो। 

पर्यटन प्रवर्द्धनका लागि यहाँका स्थानीयमा जागरुकता देखिएको बताउँदै उनले धार्मिक एवं पर्यटकीयस्थलको उपयोगका लागि सामूहिक प्रयास आवश्यक हुनेमा जोड दिइन्। रासस

images

प्रकाशित : आइतबार, वैशाख २ २०८१०५:१८

प्रतिक्रिया दिनुहोस