शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

२०८० सालभरी सेयर बजारमा धमाका पिटेको युनिलिभर, लगानीकर्ताले एकवर्षमै कमाए प्रतिकित्ता १७ हजार रुपैयाँ

आइतबार, वैशाख २ २०८१
२०८० सालभरी सेयर बजारमा धमाका पिटेको युनिलिभर, लगानीकर्ताले एकवर्षमै कमाए प्रतिकित्ता १७ हजार रुपैयाँ

सर्वाधिक सेयर मूल्य भएका कारण कम्पनीको सेयर कारोबार कम नै हुने गरेको छ। पछिल्लो चैतमा महिनामा कम्पनीको २ हजार १८६ कित्ता मात्र सेयर कारोबार भएको थियो।

काठमाडौं- २०८० साल सेयर लगानीकर्ताका लागि सुखद नरहेपछि केही कम्पनीमा लगानी गर्नेहरू भने मालामाल भएका छन्। धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमध्ये युनिलिभर नेपालको सेयर मूल्य सर्वाधिक महँगो छ।

अन्तिम कारोबार दिनसम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४० हजार ४५० रुपैयाँ कायम भएको छ। खासगरी अन्य कम्पनीहरुले लाभांश नदिइरहेका बेला युनिलिभरले भने लगानीकर्तालाई १ हजार ५ सय ८० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। सोही कारण पनि लगानीकर्ता कम्पनीमा आकर्षित छन्।  

मूल्यमा बाँकी सबै इक्विटीलाई पछि पारेको कम्पनीले लाभांश र प्रतिफल वितरणमा पनि सूचीकृत अधिकांशलाई सजिलै उछिन्ने गरेको छ। सबल व्यवस्थापन, उत्साहजनक वित्तीय प्रदर्शनी र लगानीको शतप्रतिशत सुनिश्चितता पनि कम्पनीका थप सकारात्मक पक्ष हुन्।

दोस्रो बजारमा कम्पनीको ९ लाख २० हजार ७०० कित्ता सेयर सूचीकृत छ। हाल कम्पनीको बजार पुँजीकरण ३७ अर्ब २४ करोड २३ लाख १५ हजार रुपैयाँ पुगेको छ। जुन निरन्तर बढ्दो छ।

सर्वाधिक सेयर मूल्य भएका कारण कम्पनीको सेयर कारोबार कम नै हुने गरेको छ। पछिल्लो चैतमा महिनामा कम्पनीको २ हजार १८६ कित्ता मात्र सेयर कारोबार भएको थियो। 

कम्पनीको २०७९ सालको अन्तिम कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४ हजार १० रुपैयाँ थियो। २०८० सालको कारोबारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६ हजार ४४० रुपैयाँले बढेको छ। 

बहुराष्ट्रिय कम्पनीले लगानीकर्ताहरूलाई लाभांश वितरणका क्रममा नगद लाभांश मात्र वितरण गर्दै आएको छ। पछिल्लो पाँच वर्षका लाभांश वितरणको अवस्था हेर्दा कम्पनीले यस वर्ष सर्वाधिक लाभांश वितरण गरेको हो। गतवर्ष भने कम्पनीले १ हजार २१५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। 

बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले सन् १९९२ देखि नेपालमा व्यवसायिक उत्पादनहरु गरिरहेको छ। युनिलिभर नेदरल्यान्ड र यूकेमा मुख्य कार्यालय रहेको बहुराष्ट्रिय कम्पनी हो। जसले हिन्दुस्तान युनिलिभर इन्डियामार्फत नेपालमा ८० प्रतिशत लगानी गरेको छ। कम्पनीले लाइफब्वाइ साबुन, सन्सिल्क स्याम्फू, लक्स, पोन्डस्, फियर एण्ड लभ्लीजस्ता घरायासी सामान उत्पादन गर्छ। 

युनिलिभर नेपालमा हिन्दुस्तान युनिलिभरको ८० प्रतिशत, श्रीविक्रम ल्याण्ड एण्ड इण्डट्रियल कम्पनीको ५ प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत सेयर स्वामित्व छ। श्रीविक्रम ल्याण्ड एण्ड इण्डष्ट्रियलको तर्फबाट व्यवसायी रविभक्त श्रेष्ठ सञ्चालक छन्।


प्रकाशित : आइतबार, वैशाख २ २०८११०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend