शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी

images
शुक्रबार, चैत ३० २०८०
images
गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी

वसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले अझै मनमोहक र आकर्षक बनेको घोडेपानीमा रमाउने पर्यटकको घुइँचो लागेको छ।

images
images

म्याग्दी- पहाडको अग्लो स्थान। शान्त वातावरण। पाखाभरि ढकमक्क फुलेका लालीगुराँस। चारैतिर घना गुराँसको जंगलको बीचमा रहेको बस्ती। घरको झ्यालबाटै जंगलको पृष्ठभूमिमा लहरै देखिने हिमाल बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने।

images
images
images

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा समुद्रि सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको घोडेपानी पुनहिल क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मनोरम छ। वसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले अझै मनमोहक र आकर्षक बनेको घोडेपानीमा रमाउने पर्यटकको घुइँचो लागेको छ।

images
images

'लालीगुराँस फुलेर ढकमक्क बनेको घोडेपानी घुम्न आएका स्वदेशी र विदेशी पाहुनाले यहाँका साना ठूला होटल भरिभराउ भएका छन्', घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले भनिन्, 'विद्यालय, एसईईको वार्षिक परीक्षा सकेर फुर्सदिला भएका शिक्षक विद्यार्थीदेखि नयाँ वर्ष मनाउन गुराँसको सौन्दर्यमा रमाउन जागिरे र व्यवसायी यहाँ आउनुभएको छ।'

images
images

२७ वटा होटल रहेको घोडेपानीमा दैनिक एक हजारजना बास बस्न सक्छन्। साना ठूला सबै होटलमा पाहुनाले भरिएका उपाध्यक्ष पुनले बताए। जाडो हटेर वनजंगलमा लालीगुराँस फुलेपछि रमाइलो वातावरण बनेको छ। चैत-बैशाख गुराँस फुल्ने याम हो। यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छन्।

पाखोमा फुलेका गुराँसको जंगलको पृष्ठभूमिमा धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न पाउँदा रमाइलो महसुस भएको घोडेपानी घुमेर फर्किएका मंगला गाउँपालिका-५ का करन कँडेलले बताए।

विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन्। नेपालमा ३२ प्रजातिका छन्। घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइने अध्ययन प्रतिवेदनमा उल्लेख छ। लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो। एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जंगल गण्डकी प्रदेशकै ठूलो भएको स्थानीयवासीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले बताए।

'वनैभरि राताम्मे फुलेका गुराँसका रंगले घोडेपानी क्षेत्रको जंगल निकै मनमोहक र आकर्षक बनेको छ', उनले भने, 'गुराँसले भरिएको जंगलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटकको चहलपहल बढेको छ।'

बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौंलगायत क्षेत्रबाट विद्यार्थी, कर्मचारी र व्यापारी समूह बनाएर घोडेपानी भ्रमणमा गएका छन्। बेनीबाट आठ जनाको समूहमा घोडेपानी घुम्न गएका अस्मिता केसीले बजारदेखि टाढाको एकान्त वातावरण र गुराँसले रंगिएको जंगलमा पदैलयात्रा गर्दा रमाइलो महसुस भएको बताइन्।

गुराँस, पहाड, हिमाल, सूर्योदयको दृश्यबाट मोहित भएको चितवनकी अस्मिता खरेलले अनुभव सुनाइन्। फागुन महिनासम्म सुनसान घोडेपानीमा गुराँस फुल्न थालेपछि चहलपहल बढेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताइन्।

एक रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित नौ सय ५० देखि एक हजार ६ सय रूपैयाँसम्मको प्याकेज बनाइएको छ। अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी समुद्री सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित छ। घोडेपानीदेखि ३० मिनेट उकालो हिँडेपछि पुनहिल पुग्न सकिन्छ।

समुद्री सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा रहेको पुनहिलबाट सूर्योदय, हिमाल र लालीगुराँसको जंगल अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन्। रासस


प्रकाशित : शुक्रबार, चैत ३० २०८०१६:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend