मंगलबार, वैशाख १८ गते २०८१    
images
images

दुईपांग्रे ईभी : ब्रान्ड ल्याउन उत्साह, विस्तार निरुत्साहित

images
images
images
दुईपांग्रे ईभी : ब्रान्ड ल्याउन उत्साह, विस्तार निरुत्साहित
images
images

काठमाडौं- विद्युतीय सवारीप्रति देशको वातावरण नै उत्साहित छ। सरकारले प्रवर्द्धनको नीति लिएसँगै उपभोक्ता र बिक्रेता दुवैको चासोको केन्द्रमा विद्युतीय सवारी छ। विद्युतीय कारमा बिछट्टै रुचि देखाएका नेपाली उपभोक्ता विद्युतीय भ्यान तथा माइक्रोबससम्म पुग्दा सबैभन्दा पहिले नेपाल भित्रिएको विद्युतीय स्कुटरप्रति अझै आकर्षित देखिएका छैनन्। 

images
images
images

करिब ८० वटा ब्रान्डका विद्युतीय स्कुटर आयात भइसक्दा समेत उपभोक्ताले एकाध ब्रान्डका केही मोडलबाहेक खरिद गर्ने चाह देखाएनन्। यसको मुख्यकारण पावर र रेन्जलाई नै हुनुपर्छ। सामान्य उकालोमा समेत नतान्ने र एक सय किलोमिटर हाराहारीमात्र रेन्ज दिने तर मूल्य महँगो भएकाले विद्युतीय स्कुटरप्रति उपभोक्ताको ध्यान नगएको हो।  

images

सञ्चालन खर्च न्यून हुने र उन्नत प्रविधिमा आएकाले विद्युतीय कारमात्र होइन भ्यानकोसमेत बिक्री बढ्दा विद्युतीय स्कुटरमा भने उपभोक्ता आकर्षित नहुनुले संसय पैदा गरेको छ।

images

अहिले आयात भइरहेका विद्युतीय स्कुटर नेपाली भुगोललाई हेरेर डिजाइन तथा उत्पादन नगरिएकाले पनि बिक्री बढ्न नसकेको र किन्नेहरु पनि पछुताउने अवस्था आएको बिक्रेताहरुले नै बताउने गरेका छन्। 

images
images

विद्युतीय स्कुटरमा जडान भएको मोटर पावर कम हुँदा सामान्य उकालोमा समेत दुई जना नतान्नु र बलिया उत्पादकहरू आएपछि कम मूल्यका स्कुटर ‘नन ब्रान्डेड’ कै हविगत हुनु र तुलनात्मक रुपमा बलिया स्कुटर असाध्यै महँगो हुनुलगायत कारणले विद्युतीय स्कुटरको स्वीकार्यता बढ्न नसकेको हो। 

नेपाल भित्रिएका ब्रान्ड संख्याका आधारमा विद्युतीय स्कुटरको आयात ज्यादै न्यून रहेको तथ्यांक छ। हालसम्म नेपाली बजारमा भित्रिएर बन्द भएका, आयात भइरहेका र आउने क्रममा रहेका ब्रान्डको संख्या करिब एक सय पुगिसकेको छ।

नियमित जस्तै आयात हुने ब्रान्ड भने ८० वटा वरिपरि रहेको छ। आयात भएका तर बन्द भइसकेका कयौँ ब्रान्डका स्कुटर स्टकमै थन्किएका छन्। 

२०२१ मा नेपाली बजारमा कुल १ हजार ५ सय ५० वटा विद्युतीय स्कुटर आयात भएको थियो। त्यसको अर्को वर्ष २०२२ मा थुप्रै नयाँ ब्रान्डहरु नेपाल भित्रिएको थियो। त्यसैले २०२२ मा विद्युतीय स्कुटरको आयात बढेर ६ हजार ३ सय ८३ वटा पुगेको थियो। ब्रान्ड जति नै धेरै बढेपनि बिक्री भने बढ्न सकेन। त्यसैले उक्त वर्ष आयात भएका स्कुटरमा एकाध ब्रान्ड बाहेक सबैको स्कुटर स्टकमा छ। 

२०२२ को तुलनामा २०२३ मा आधा दर्जनभन्दा बढी ब्रान्ड थपिँदा आयात भने उल्लेख्य रुपमा घटेको तथ्यांक छ। २०२३ मा ४ हजार ६ सय ९७ वटा विद्युतीय स्कुटर आयात भएको छ। 

करिक सात दर्जन ब्रान्डका २ सयभन्दा बढी मोडलका विद्युतीय स्कुटर उपलब्ध छन्। २०२३ मा ६० भन्दा बढी ब्रान्डका विद्युतीय स्कुटर आयात भएको छ। केही चर्चित ब्रान्डकै स्कुटर आयात भएका छैनन्।

जस्तो हिरो इलेक्ट्रिक, गेमोपाइ, ओकिनावालगायत ब्रान्डका स्कुटर २०२३ मा एउटै आयात भएनन्। तर २०२२ मा आयात भएका यी ब्रान्डका स्कुटर स्टकमा भने उपलब्ध छन्। 

नेपाली बजारमा सबैभन्दा बढी चिनियाँ र भारतीय ब्रान्डका विद्युतीय स्कुटर आयात हुँदै आएको छ। त्यस्तै केही ब्रान्ड जापान, कोरियालगायत मुलुकबाट आयात हुँदै आएको छ। विद्युतीय स्कुटर विगतमा साना व्यवसायीले मात्र ल्याएकाले कम बिक्री भएको अनुमान गरिँदै आएको थियो। 

तर पछिल्लो दुई÷तीन वर्षयता ठूला व्यवसायिक घरानाले आयात गरेका ब्रान्डले पनि कुनै जादु चलाउन सकेनन्। लक्ष्मी समूहले ल्याएको हिरो इलेक्ट्रिक, आईएमई समूहले ल्याएको राफ्ट ब्रान्डका स्कुटर २०२३ मा एउटा पनि आयात भएको छैन। भूगोलमैत्री उत्पादन नुहुँदा र शक्तिशाली उत्पादन अत्याधिक महँगो हुँदा बिक्रेता र उपभोक्ताले लाभ लिन सकेका छैनन्।

अव्यवस्थित रुपमा हरकोहीले आयात गरेर बिक्री गर्दा पनि विद्युतीय स्कुटर प्रति उपभोक्तामा नैरास्यता देखिएको हो। स्कुटर बिक्री गरेपछि सर्भिस उपलब्ध नहुनु, स्पेयर पार्टन नपाइनेलगायत कारणले पनि उपभोक्ता विद्युतीय स्कुटर ‘नकिन्ने मुड’ बनाउनेहरुको जमात बढ्दो छ। 

तर केही ब्रान्डहरुले पनि राम्रो सर्भिस तथा स्पेयर पार्टसको व्यवस्था गरेर बिक्री गरिरहेका छन्। जस्तो सेग्वे नाइन बोट, एनआईयू, याडिया, सुनरा तथा पछिल्लो पनि नेपाल आएको एथरप्रति उपभोक्तको प्रतिकृया आउने बाँकी रहेको छ। वैद्य इनर्जीले ल्याएको एथरले शोरुम तथा सर्भिस नेटकर्व विस्तात तीव्र गतिमा गरिरहेको छ। 

ब्रान्ड ल्याउन उत्साहित देखिएका आयातकर्ताहरु प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय उत्पादन ल्याएर स्पेयर पार्टस र सर्भिस उपलब्ध गराउनमा केन्द्रित हुनुपर्ने छ। यसो भएन भने विद्युतीय दुई पांग्रेको बजार विस्तार निरुत्साहित हुँदै जानेछ। अन्यथा जति नै ब्रान्ड आएपनि त्यो डम्पिङ साइटमै परिणत हुने र राज्यको विदेशी मुद्रा सञ्चितिमा बर्बादीमात्र हुनेछ। 

images

प्रकाशित : शनिबार, वैशाख १ २०८११२:०१

प्रतिक्रिया दिनुहोस