शनिबार, मंसिर ८ गते २०८१    
images
images

विद्युतीय गाडी किन्दा जेठ १५ भन्दा अघि कि पछि भन्ने सोच्नु नपरोस्

images
images
images
विद्युतीय गाडी किन्दा जेठ १५ भन्दा अघि कि पछि भन्ने सोच्नु नपरोस्
images
images

नयाँ गाडी चढ्ने योजनाबद्ध सोच आएपछि विद्युतीयमा नै गएको हुँ। पहिले क्रेटा चढिरहेको थिएँ। क्रेटा चढेको करिब ७ वर्ष भएको थियो। मलाई के लाग्यो भने अब गाडी परिवर्तन गर्नुपर्छ। नयाँ गाडी चढ्ने सोच आयो, अब के त भन्दा विद्युतीय गाडी चढ्ने मन भयो। 

images
images
images

ईभीकै बजार छ अहिले भन्ने लाग्यो। त्यतिबेला ईभी चढ्नका लागि पनि धेरै रोजाइ त थिएनन्। अहिले बरु धेरै आउन थालेका छन्। विद्युतीय गाडी चढ्ने भनेपछि दुईतीनवटा विषयहरू हेरेँ। 

images

पहिलो कुरा त अहिले चढिरहेकोभन्दा अलिकति माथिल्लो होस् भन्ने हेरेँ। व्यवसायिकताका हिसाबले पनि आफ्नो राम्रो नै भइरहेको छ। उमेर नै विचार गर्दा पनि अब धेरै गाडी चढिन्छ चढिँदैन! एउटा गाडी ६ वर्ष नै चढ्दा पनि ५० वर्ष त नाघिसकेँ। यो सबै विचार गरेर राम्रो स्तरीय गाडी नै चढौँ न त भन्ने भयो। टेस्ला नै रोजाइमा पर्‍यो। बजार र ब्रान्ड एक किसिमको भिन्दै छ नि त! 

images

म फेरि गाडीको सौखिन पनि हो। टेस्ला ड्राइभर सेन्ट्रिक गाडी पनि हो। ड्राइभरले चलाउँछ आफू पछाडि बसौँ भन्ने खालको गाडी होइन। त्यसो हुँदा ईभीमा मलाई टेस्ला नै फिट हुन्छ जस्तो लाग्यो अनि त्यही नै लिएँ। 

टेस्लामा पनि मसँग दुईवटा विकल्प थियो। नेपालमा एक्स त आएको थिएन। मोडल थ्री र वाईमा हेर्दा मोडल थ्रीको ग्राउन्ड क्लियरेन्स काठमाडौंका सडकका लागि उचित लागेन। मोडल वाईको ग्राउन्ड क्लियरेन्स पनि ठीकै भएको र एसयूभी पनि भएकाले त्यही नै रोजेँ। 

टेस्टा गजवको गाडी छ। टेस्ला वास्तवमा एउटा कम्प्युटर हो। हुन त कसै-कसैलाई अब कहाँ स्ट्रेरिङ चलाइराख्ने भन्ने पनि लाग्ला र म्यानुअल गर्नेहरू पनि छन्। तर अब अहिले विस्तारै नयाँ पुस्ता चाहिँ टेक्नोलोजी महसुस गर्न, हेर्न, बुझ्न चाहन्छ। उनीहरुको लागि त टेस्ला चक्का भएको, सिट भएको गुड्ने कम्प्युटर नै हो। तपाइँ बस्नुस् र कम्प्युटर चलाउनुस्। म पनि टेक्नोलोजीमा अलि अलि चासो राख्ने भएकाले यो गाडी मन परेको छ।

टेस्लाले गाडीमा त नयाँ इतिहास नै बनाएको छ। ईभीको विकासमा यसको श्रेय ठूलो छ। वास्तवमा यसले जुन उचाइ लिएको छ यो उचाइ लिन अरूलाई निकै समय लाग्न सक्छ। बिक्री संख्यामा अरूले पनि उचाइ लिएका छन् तर टेस्लासँग अरूको जस्तो धेरै सेगमेन्टहरु चाहिँ छैन। यसमा प्रिमियम क्लासमात्रै छ। यसले पनि समयको मागलाई हेरेर आफूलाई भिन्न बनाउँदै त लैजाला। 

विद्युतीय गाडीमा बढ्नुपर्ने विषय विशेषगरी राज्यको राजस्वसँग जोडिएको छ। वैदेशिक मुद्रासँग जोडिएको छ। राज्यको तर्फबाट अहिले भनिएकै कुरा के छ भन्दा ईभी हेर्ने बेलामा राज्यले दिएको सहुलियतले उपभोक्तासम्मलाई अलिकति राहत भएको भए पनि वैदेशिक मुद्रा बाहिरिने विषयमा त बढी नै छ भन्ने सोच देखिन्छ। 

तर राज्यले यसको अन्य पक्षहरु हेरेको छैन। वातावरणीय कुराहरू छन्, इन्धनको कुरा राज्यले हेरिरहेको छैन। इन्धन त आयात नै गर्ने हो। लामो समयसम्मको हिसाब निकाल्दा इन्धन नै सस्तो हुन जान्छ कि भन्ने कुराहरू पनि आइरहेका छन्। तर हामीले सँगसँगै इन्धन र राजस्वको कुरामात्र हेर्नु हुँदैन। बिजुली त हामीले यहीँ उत्पादन गरिरहेका छौँ नि। 

जलविद्युतको हामीसँग अपार भण्डार नै छ। अब विस्तारै सोलार र हावाबाट बिजुली निकाल्ने काम पनि अघि बढिरहेका नै छन्। अब भएका उत्पादनलाई त राम्ररी प्रयोग गर्नुपर्छ नै। त्यो प्रयोग गर्ने एउटा माध्यम ईभी पनि हो। जसले गर्दा राज्यले अहिले कति कर आउँछ भनेरमात्र हेर्नु भएन। 

राज्यलाई कर उठाउने त अरू माध्यमहरु पनि छन्। यसैलाई मात्र हेरेर भएन। आयातमा मात्र कर उठाउने कुरा गर्दा त्यो राज्यका लागि नै दीर्घकालीन हुँदैन। अहिले हामीले विश्वका तीब्र विकास भइरहेका देशहरूलाई हेर्‍यौँ भने उनीहरूको राजस्वको स्रोत आयातमा मात्र भर पर्ने छैन। राज्यले आयातबाट राजस्व बढाउँछु भन्नेतिर जान नै हुँदैन। हाम्रो हरित ऊर्जाको प्रयोगमा राज्यले ध्यान दिनै पर्छ।

यसमा अहिले ब्याट्रीको व्यवस्थापनका विषयमा प्रश्नहरू उठिरहेका छन्। राज्यले यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ। किनभने भोलिका दिनमा यो समस्याका रुपमा नआओस् भन्नेमा ध्यान दिनुपर्छ। हुन त अहिले ब्याट्रीकै प्रविधिमा पनि निकै विकास भइसकेको छ। ब्याट्रीको विषयमा समाधान त आउँछ नै तर राज्यले वातावरणमा असर नगरोस् भन्ने कुरामा ध्यान दिनुपर्छ। 

विद्युतीय सवारीको संख्या बढ्दै जाँदा यसमा आवश्यक पूर्वाधारको विकासमा पनि त्यहीअनुसार कामहरू हुनुपर्छ। आयातकर्ताहरूले प्रतिस्पर्धी रुपमा सुविधारहरू थप गर्दै जानुपर्‍यो, चार्जिङ स्टेसनहरू बढाउनुपर्‍यो। सर्भिस सेन्टरमा सबै व्यवस्थित हुनुपर्‍यो। 

राज्यले यसमा करलाई एउटा स्थिर बिन्दुमा ल्याएर राख्नैपर्छ। किनभने कर बढिरहने भयो भने त्यसले व्यवसायमा स्थिरता ल्याउँदैन। जसले मानिसहरूमा विश्वासको वातावरण पनि बन्दैन। मैले एउटा गाडी किन्दै छु भने जेठ १५ भन्दा अगाडि किन्ने कि जेठ १५ भन्दा पछाडि किन्ने त?

मेरो आफ्नै कुरा गर्दा यो कर बढ्छ भन्ने कुरा बारम्बार नआएको भए मैले २०२४ मोडलका लागि पर्खन्थेँ। कर बढ्छ भन्ने कुराले नै मैले दुई महिना पनि नपर्खिकन २०२३ कै मोडल लिएँ। त्यसको प्रमुख कारण नै त्यही करको विषय हो। जेठ १५ मा कति बढ्छ भन्ने नै थाहा छैन, ठूलो गाडीमा ५० लाख नै बढी पर्ने भइदियो भने पनि त्यो त ठूलो रकम हो! म त ट्याक्स कन्सलट्यान्ट पनि भएकाले सबै हिसाब हेरेँ, डेटाहरू हेरेँ, सबै विचार गर्दा ५० लाखको फरक किन पार्नु भनेर २०२३ मोडल नै लिएँ। 

राज्यले कम्तिमा करको एउटा नीति लिएपछि त्यसलाई पाँच वर्षका लागि चलाउन हुँदैन। त्यो सफल हो कि होइन के परिवर्तन गर्नुपर्ने छ भन्नेमा राज्यले विचार गरेर काम गर्नुपर्छ। सधैँ करको एउटै दररेट हुँदैन र हुनु पनि हुँदैन तर निश्चित समय त हेर्नुपर्‍यो नि।

हाम्रो यहाँ त हरेक वर्ष कर बढ्छ भन्ने नै भइरहन्छ। यसरी गर्नु हुँदैन, जसले उपभोक्तामा समस्या हुन्छ। बिक्रेतामा पनि समस्या हुन्छ। हतार-हतार गाडी ल्याएर थुपारिहाल्ने हो कि भनेजस्तो हुन्छ। व्यवसायीहरूलाई पनि स्‍वतस्फूर्त रुपमा व्यवसाय गर्ने वातावरण सरकारले दिनुपर्छ। उपभोक्तालाई त सरकारले प्रथम दृष्टिमा राखेर उनीहरूको हित हेर्नुपर्छ। राज्यलाई हित हुनेगरी नै उपभोक्ताको हित हेर्न सकिन्छ। 

विद्युतीय गाडीमा यत्रो रकम हाल्नुभएको छ भने यो तपाईंका लागि आवश्यकताभन्दा माथिको सौख हो भनिदिनेगरी परिभाषित गर्ने चलन पनि देखिएको छ। तर त्यसो होइन। हाम्रो यो समयमा गाडी भनेको आवश्यकता नै हो। समयमा काममा पुग्न, आफ्नो काम राम्ररी गर्न यहाँ सवारीसाधन आवश्यकता नै बनेको छ। हामी हिजोको स्थितिमा छैनौँ। यातायात भनेको अब ‘लक्जरी’ होइन। 

एउटा निश्चित मूल्यभन्दा माथिको गाडी चाहिँ लक्जरी हो है भनेर राज्यले भन्छ भने त्यसलाई मान्नु पनि पर्छ। राज्यको लेभल र गाडीको मूल्यको लेभल फरक पर्दा त्यसमा विश्वास पनि गर्नुपर्छ तर समग्र गाडी नै लक्जरी हो भन्ने कुरा त ठीक होइन।

यसमा अर्को कुरा त राज्यले ईभीमा ब्याट्री मोटरको क्षमताका आधारमा होइन कि मूल्यका आधारमा नै कर लगानुपर्छ भन्ने लाग्छ। कम लक्जरियस गाडी छ भने पनि उकालोमा तान्नुपर्ने र लोडको कुराले त्यसमा ब्याट्रीको आवश्यकता त ठूलो हुनसक्छ नि। त्यसलाई लक्जरी मान्नुभएन। लक्जरी हो कि होइन भन्ने कुरा मूल्यलाई आधार मान्दा नै वैज्ञानिक हुन्छ। 


प्रकाशित : शनिबार, वैशाख १ २०८१००:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend