बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

प्रिमियम ईभीमा पनि आकर्षित छन् नेपाली उपभोक्ता

शनिबार, वैशाख १ २०८१
प्रिमियम ईभीमा पनि आकर्षित छन् नेपाली उपभोक्ता

काठमाडौं- सवारीसाधनमा नेपालीहरू धेरै पहिलेदेखि नै सौखिन छन्, चाहे पहिलेका दरबारीया हुन् वा अहिलेका (नव)धनाढ्य। बाटो बनेर गाडी आउन थालेदेखि नै नेपालमा विश्वका प्रिमियम ब्रान्डका कार आउन थालेका हुन्। 

तत्कालीन दरबारसँग रोल्स रोयसदेखि क्याडिलकसम्म र बीएमडब्लू, मर्सिडिज बेन्जदेखि ल्यान्ड रोभरसम्मका कार थिए भने व्यवसायी तथा धनाढ्यहरूसँग पनि यी नै ब्रान्डका कार थिए। यो क्रम वर्तमान समयमा पनि जारी छ। तर कानूनी जटिलता र उच्च करका कारण अहिले चाहेको ब्रान्ड र कार ल्याउन त्यति सजिलो भने छैन। 

आधिकारिक बिक्रेता भएर पनि धेरै प्रिमियम ब्रान्डहरू आइरहेका छन्। विद्युतीय सवारीमा सरकारले केही कर सहुलियत दिएकाले विश्वका प्रिमियम विद्युतीय सवारी ब्रान्ड नेपाल आउन सकेका हुन् वा भनौँ उपभोक्ताको पहुँचमा पुगेको हो।

टेस्ला अहिलेको समयको सबैभन्दा चर्चित विद्युतीय कार ब्रान्ड हो। यो अमेरिकी ब्रान्डका विद्युतीय कार तुलनात्मक रुपमा महँगा छन् र कम मूल्यको विद्युतीय कार टेस्लाले हालसम्म बजारमा ल्याएको छैन। 

टेस्लामात्र होइन नेपाली बजारमा ज्यागुअर, अउडी, बीएमडब्लूलगायत ब्रान्डका प्रिमियम विद्युतीय कार उपलब्ध छन्।

त्यस्तै अन्य ब्रान्ड बीवाईडी, हुन्डाई, किया, स्काइवेल लगायतका प्रिमियम विद्युतीय कार बजारमा छन्। विद्युतीय सेगमेन्टमा थिएनन् भने यी कार सायदै नेपाल आउने थिए। आएपनि निकै कममात्र बिक्री हुने थिए। 

विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने नीतिले प्रिमियम विद्युतीय कारहरू आउन सम्भव भएका हुन्। केही वर्षदेखि यही प्रिमियम ब्रान्ड टेस्लाका विद्युतीय कार नेपाली बजारमा उपलब्ध छ।

टेस्लाको विद्युतीय कार नेपाली बजारमा अरेट इन्टरनेसनल प्रालिले बिक्री गर्दै आइरहेको छ। अरेटले उच्च प्रविधियुक्र टेस्लाका प्रिमियम विद्युतीय कार मोडल थ्री र मोडल वाई बिक्री गरिरहेको छ। 

टेस्ला मोडल वाई एसयूभी सेगमेन्टको विद्युतीय कार हो जसले फुल चार्जमा ४ सय ५५ किलोमिटर रेन्ज दिन्छ भने २ सय ५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ।

त्यस्तै सेडान सेगमेन्टको मोडल थ्रीले फुल चार्जमा ४ सय ४० किलोमिटर रेन्ज दिन्छ भने यसको ग्राउन्ड क्लियरेन्स १ सयि ८४ एमएम रहेको छ। विश्व बजारमा उपलब्ध मध्येको प्रिमिय विद्युतीय ब्रान्ड टेस्लाका कार प्रति नेपाली उपभोक्ताको राम्रो चासो रहेको अरेट इन्टरनेसनलका सीईओ विनोद श्रेष्ठले बताए। 

‘हामीले टेस्लाका विद्युतीय कारमात्र उपलब्ध गराएका छैनौँ, यसका लागि आवश्यक सर्भिस तथा स्पेयर पार्टसमा पनि त्यतिकै ध्यान दिएका छौँ’ उनले भने, ‘प्रिमियम ब्रान्डको विद्युतीय सवारी चढ्ने उपभोक्ताको चाहनालाई अरेटले पूरा गरिरहेको छ।’  

त्यस्तै जर्मन विलासी ब्रान्ड अउडीको इ-ट्रोन क्यू फोर र क्यू एट बजारमा उपलब्ध छ यो कार काइरोस इन्टरनेसनलले आधिकारिक बिक्रेताको रुपमा भित्र्याएको हो। यसैगरि अर्को जर्मन ब्रान्ड बीएमडब्लूको आईएक्स थ्री विद्युतीय कार नेपाली बजारमा लक्ष्मी प्रिमियम मोटरले उपलब्ध गारएको हो। आकर्षक डिजाइनको यो कार गत वर्ष नेपाल भित्रिएको हो। 

बेलायती ब्रान्ड ज्यागुअरको आई पेस ईभी नेपाली बजारमा दुई/तीन वटामात्र भित्रिएको थियो। अहिले भने यो कार बिक्रीका लागि उपलब्ध छैन। 

मासमार्केट ईभी निर्माता कम्पनीहरू हुन्डाई, बीवाईडी, कियालयातले पनि प्रिमियम ईभी बिक्री भइरहेको छ। बीवाईडीको सिल, हुन्डाईको आयोनिक फाइभ, कियाको ईभी सिक्स पनि प्रिमियम ईभी हुन्। 

byd seal.jpg
बीवाईडी सिल।

त्यस्तै हालैमात्र चिनियाँ ब्रान्ड स्काइवेलको प्रिमियम विद्युतीय एसयूभी नेपाली बजारमा भित्रिको छ। जी मोटर्सले नेपाल ल्याएको स्काइवेल ईभी फाइभ प्रिमियम एसयूभी उपभोक्तालाई हस्तारन्तरण गर्ने अन्तिम तयारी भइरहेको छ। 

यता सीमी मोटरले पनि दुई प्रिमियम ईभी ब्रान्ड ल्याउने सम्झौता गरिसकेको छ। कम्पनीले चिनियाँ ब्रान्ड एक्सपाङ र बेलायती ब्रान्ड लोटस मोटर्सका प्रिमियम एसयूभी ल्याउने बताएको छ। कम्पनीले २०२४ भित्रै एक्सपाङ जी सिक्स नेपाल आइपुग्ने बताएको छ। यसका लागि आवश्यक तयारी भइरहेको कम्पनीको भनाइ छ।

'एक्सपाङका प्रिमियम विद्युतीय कार ल्याउन सम्झौता भइसकेको छ। अबको केही महिनामा नेपाली उपभोक्ताले एक्सपाङका ईभी चढ्न पाउनु हुनेछ' सीजी मोटरका सीईओ हेमन्त अग्रवालले भने। 

भियतनामी ब्रान्ड भिनफास्टले पनि नेपालका लागि आधिकारिक बिक्रेता तोकिसकेको छ। त्यसैले भिनफास्टका ईभी नेपाल आउने छन्। तर सुरुमा प्रिमियम ईभी आउने वा मासमार्केट ईभी आउँछ त्यो भने हेर्ने बाँकी छ।

अन्य ब्रान्ड पनि ल्याउनका लागि नेपाली व्यवसायीहरू लागि परेकाले भविष्यमा अन्य धेरै ब्रान्डका विद्युतीय प्रिमियम कारहरू नेपाली सडकमा आइपुग्ने छन्।  


प्रकाशित : शनिबार, वैशाख १ २०८१००:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend