नेपालको अटोमोबाइल बजारलाई नजिकबाट बुझेका जानकार एवम् यस क्षेत्रसँग रुचि, चासो र सम्बन्ध राख्ने सबैले अहिले नेपाली अटो क्षेत्र ईभीमय भएको नकार्न नसक्ने अवस्था आएको छ।
पछिल्लो एक दशकलाई नै फर्केर हेर्ने हो भने एकदम सीमित चलेका ब्रान्ड र तीनका उत्पादनमात्रै बिक्रीवितरण भएको बजारमा पेट्रोल र डिजेलको बजार एकछत्र नै थियो।
सन् २०१४ ताका केही चिनियाँ ब्राण्डका ईभी गाडीहरु नेपाली बजारमा बिक्रीका लागि ल्याउँदा नेपाली अटो क्षेत्रले खिसीटिउरी गर्ने, यो भविष्यविहीन सवारीको नेपाली सडकमा काम नै छैन भन्थे। कुनै ग्रहबाट एलियन नै आएको जस्तो अवस्था थियो।
करिब ३ वर्ष अगाडिको मात्रै ईभीको आयात तथ्यांक हेर्ने हो भने दुई सयभन्दा कम ईभी गाडी मात्रै बजार प्रवेश गरी विभिन्न चुनौतीका बाबजुद पनि बिक्रीवितरणमा होमिएका थिए। तीमध्ये केही बजारमा जीवितै रहे भने केही हराएर पनि गए।
तथापि ईभीको बढ्दो क्रेज र बजारको नयाँ स्वाद खोज्ने ग्राहकको रुचि भने यसमा बढी नै रहेको थियो। तर सीमित चार्जिङ स्टेसन एवम् सरकारले ग्राहकमैत्री नीति नल्याँउदा ग्राहकहरुमा यसप्रति पूर्ण आत्मविश्वास भने आउन सकेको थिएन।
नेपाली अटोमोबाइल बजार र ग्राहकहरुको रुचि एउटा टर्निङ पोइन्टलाई कुरिरहेको थियो, जुन समयक्रमसँगै एकाएक नेपाली बजारमा केही नयाँ ब्रान्डहरुको प्रवेशले सन् २०२१-२२ मा १ एक हजार ६०० युनिट माथिको बजार एक्कासी एक्सिलेरेट भएर सन् २०२२-२३ मा ईभीको आयात २ हजार ५०० माथि पुग्न सफल भयो।
यस बीचमा सरकारको अस्थिर बजेट नीति एवम् चार्जिङ पूर्वाधारको कमीलगायतका कुराले ईभीको बजार जति बढ्नुपर्ने थियो त्यति बढ्न सकेन। अर्कोतिर ईभी गाडीको भविष्य कस्तो रहने हो अनि बजारको प्रतिक्रियाका साथै ब्याट्रीको मूल्य र व्यवस्थापन जस्ता जटिल प्रश्नहरुकै बीचमा बजारको अवस्था झन्डै ३ हजार युनिटमा आएर रोकियो।
यस अवधिमा नेपाल विद्युत प्राधिकरणले देशका झन्डै ५० भन्दा बढी स्थानमा चार्जिङ स्टेसनको स्थापना र यस क्षेत्रप्रति देखाएको अति नै निकटतम सम्बन्धले पनि अब ग्राहकहरुको सेन्टीमेन्ट उच्च हुँदै थियो।
नेपाल सरकारको फ्युल सवारीप्रतिको नकारात्मक धारणा अनि बढ्दो पेट्रोलको मूल्य ईभी गाडीको सेल्सको लागि बारुद सावित भए। जसले नेपाली अटो क्षेत्रको वर्षौँदेखिको फ्युल बजारलाई एकाएक गम्भीर मोडमा पुर्याउँदै सन् २०२३-२४ मा नेपालको ईभी बजारलाई हेर्ने हो भने साँच्चिकै बाढी नै आयो र अर्को लेभलको उच्च आयात एवम् बिक्रीमा उछाल आउन सफल रह्यो।
यस वर्षको तथ्यांक हेर्ने हो भने निजी मात्रै ८ हजारभन्दा बढी ईभी चारपांग्रे आयात भए भने सबै किसिमका भाडाका ईभीलाई पनि गणनामा सामेल गर्दा १० हजार बढी ईभी सवारी आयात भए।
चैत महिना बित्दै गर्दा नेपाली बजारमा सस्ता १३ लाखका साना मिनी ईभीदेखि हरेक ५-७ लाखको फरकमा सबै किसिमका विद्युतीय सवारी १ करोड रूपैयाँभन्दा माथिसम्मका छन्। अझ भन्ने हो भने १ करोड ५० लाख हुँदै ३ करोडसम्म उच्च प्रिमियम सवारी नेपाली ग्राहकले खरिद गरेका छन्। अनि सडकले पनि प्रदूषण नफैलाउने नयाँ सवारी प्राप्त गरेको छ।
अबका आउने वर्षहरुमा भने नेपाल सरकारले ल्याउने नीतिले ईभी गाडीको भविष्य निर्धारण गर्ने पक्का छ।
अवसर
विद्युतीय सवारीको संख्या बढ्दै जाँदा अहिले देशभित्रैको बिजुली बिक्री नभएर नेपाल विद्युत प्राधिकरणले चिन्ता नलिनुपर्ने अवस्था सिर्जना भएको छ। अहिले नेपाली सडकमा निजी र सार्वजनिक गरेर १० हजारभन्दा बढी ईभी सवारी गुडिरहेका छन्, जसले सफा हावा र वातावरण संरक्षणसँगै अर्बौँको पेट्रोल तथा डिजेल आयात विस्थापित गर्न सफल भएको छ।
अर्कोतिर नेपाली ग्राहकले छानीछानी आफ्नो आवश्यकता अनुसारको विभिन्न सवारी किन्ने अवसर प्राप्त भएको छ भने नयाँ बजार स्थापनाले नयाँ-नयाँ रोजगारी सिर्जनामा सहयोग पुगेको छ। राष्ट्र बैंकको नरमपन्थी नीतिले ८० प्रतिशतसम्म्मको कर्जा सुविधा पनि अर्को महत्वपूर्ण कडी भएको छ विद्युतीय सवारीसाधनको प्रवर्द्धनका लागि।
चुनौती
अहिले नेपाली सडक, चार्जिङ पूर्वाधार र नेपाल सरकारको नीति नै अस्थिर हुनाले ईभी सवारी प्रयोगकर्ताहरुलाई ठूलो चुनौती सिर्जना गर्ने अवस्था छ। देशका सबैजसो सडकहरुको अवस्था नाजुक छ। जसले गर्दा कम ग्राउन्ड क्लियरेन्स भएका र कम पावर भएका ईभी गाडी नेपाली सडकमा ग्राहकका लागि टाउको दुखाइ हुने नै छन्। अर्कोतिर नेपाली सडक ईभीमैत्री हुन् कि होइनन्, अझै पूर्ण परीक्षण हुन बाँकी नै छ।
अहिले नेपाली ईभी बजारमा आयातको सबैभन्दा ठूलो हिस्सा ५० किलोवाटदेखि ९९ किलोवाटसम्मका सवारीको छ। यस सेगमेन्टमा झन्डै ७० प्रतिशत आयात र बिक्री छ भने ०-५० किलोवाटमा २५ प्रतिशत जस्तो आयात छ र १०० देखि माथिको आयात र बिक्री जम्मा ५ प्रतिशत जति छ।
यस्तो हुनुको मुख्य कारण नेपाल सरकारको भन्सार नीति नै हो भन्दा फरक पर्दैन। ठूला किलोवाटका सवारी पनि ९९ किलोवाटमा कम भन्सार तिरी आयात भएका हुन्, जसले नेपाल सरकारको कर संकलन स्वाभाविक रुपमा घटेको छ।
नेपाली ईभी बजारलाई अस्थिर नीति र स्वार्थप्रेरित तत्त्वले जहिले पनि आफू अनुकूल परिचालन गर्ने प्रवृत्ति नै अहिले र अबको ठूलो चुनौतीको रुपमा रहेको छ।
अहिले सबैजसो ब्राण्डले आफूले राखेको चार्जिङ पोर्ट अन्य ब्रान्डलाई प्रयोग गर्ने नदिनु अर्को मुख्य समस्या रहेको छ। त्यसैगरी व्यवस्थित रुपमा सञ्चालनमा नरहेका चार्जिङ स्टेसन र विद्युत प्राधिकरणले राखेका चार्जिङ स्टेसनहरुमा पनि बिग्रिएका पोर्टहरु तुरुन्तै मर्मत नहुनु, बजारमा धेरै सवारी हुनु अनि पूर्वाधारको अझै पनि कमी रहनु र अनि बेलाबेलामा हुने लोडसेडिङ पनि अर्को मुख्य समस्याको रुपमा रहेको छ।
ब्याट्री व्यवस्थापन अनि रिसेल मूल्य नेपाली बजारमा दीर्घकालीन चुनौतीका रुपमा घुमिरहने अर्का महत्वपूर्ण कडी हुन्।
नेपालजस्तो आयातित मुलुकले सबै अवसर र चुनौतीको सही मूल्यांकन र प्राप्त अवसरलाई अधिकतम उपायोग गर्दै अहिलेको ईभीको बढ्दो बजारलाई कायम राख्न सके निजी एवम् सार्वजनिक सवारीमा उच्च वृद्धि हुने निश्चितप्राय: छ।
नेपाल सरकारले आगामी ५ वर्षलाई स्थिर नीति लिने हो भने अब नेपाली सडकमा निजी र सार्वजनिक ईभी सवारी ५० हजारभन्दा धेरै गुड्ने निश्चित नै छ। जसले ठूलो मात्रामा विद्युत खपत आन्तरिकरुपमा प्रयोग गर्न महत्वपूर्ण सहयोग पुग्ने छ।
(कैलाशबाबु गेलाल १६ वर्षदेखि नेपाली अटोक्षेत्रका व्यवसायी एवम् स्काइवेलका इम्पोर्टर हुन्।)