काठमाडौं- चालु आर्थिक वर्षको ८ महिनामा १४ वाणिज्य बैंक सञ्चित नोक्सानीमा गएका छन्। यस अवधिमा २० वाणिज्य बैंकको कुल सञ्चित नोक्सानी बढेर २२ अर्ब ५६ करोड पुगेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब १ करोड ८० लाख रुपैयाँ रहेको कुल सञ्चित नोक्सानी ८ महिनामा २०.२२ गुणाले बढेको छ। पुँजीकोष गणनामा सञ्चित नाफा/नोक्सानीको महत्वपूर्ण भूमिका हुन्छ। सञ्चित नाफा बढेमा पुँजीकोष पर्याप्तता बढ्छ भने सञ्चित नोक्सानी बढेमा पुँजीकोष घट्छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकहरुको प्राथमिक पुँजीकोष उच्च दबाबमा छ। एनआईसी एसिया बैंक, कुमारी बैंक र प्रभु बैंकको प्राथमिक पुँजीकोष (टायरवान क्यापिटल) राष्ट्र बैंकले तोकेको ८.५ प्रतिशतभन्दा तल आएको छ। यी बैंकहरु थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् भने चालु आर्थिक वर्षको नाफाबाट वितरण हुने लाभांश रोकिएको छ।
तेस्रो त्रैमासमा पुँजीकोषमा दबाब पर्ने बैंकहरुको सूची अझै बढ्ने सञ्चित नोक्सानीको उक्लिँदो ग्राफले प्रस्ट्याएको छ।
फागुन मसान्तसम्ममा १४ बैंक सञ्चित नोक्सानीमा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। जसमा नेपाल बैंक लिमिटेडको सञ्चित नोक्सानी १ अर्ब ६६ करोड पुगेको छ।
यस्तै राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ४६ करोड ८० लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकको ३ अर्ब ४७ करोड १७ लाख रुपैयाँ, हिमालयन बैंकको ३ अर्ब ३४ करोड २६ लाख रुपैयाँ, एभरेष्ट बैंकको ७० करोड ७१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३८ करोड ७७ लाख रुपैयाँ, कुमारी बैंक ४ अर्ब ६४ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १ अर्ब ८७ करोड, कृषि विकास बैंकको ६० करोड ३१ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको १ अर्ब ३० करोड रुपैयाँ, ५ करोड ७२ लाख रुपैयाँ रहेकाे छ।
त्यस्तै प्राइम कमर्सियल बैंकको ६६ करोड ६९ लाख रुपैयाँ, एनएमबि बैंकको ७० करोड २६ लाख रुपैयाँ र प्रभु बैंकको ७२ करोड १८ लाखले सञ्चित नोक्सानीमा रहेका छन्।
सञ्चित नाफामा भएका बैंकहरुमा सानिमा बैंक (३५ करोड ५५ लाख), नबिल बैंक (११ करोड ८३ लाख), स्टाण्डर्ड चार्टर्ड बैंक (५० लाख ७० हजार), नेपाल एसबिआई बैंक (३८ करोड २३ लाख), माछापुच्छ्रे बैंक (१ करोड २५ लाख) र सिद्धार्थ बैंक (७० करोड ४२) रहेका छन्।
बैंकहरुको सञ्चित नोक्सानी बढ्नुको पछाडि खराब कर्जा मुख्य कारण रहेको छ। यस अवधिमा वाणिज्य बैंकहरुको खराब कर्जा ३.९६ प्रतिशत पुगेको छ। खराब कर्जा बढ्दा बैंकहरुको प्रोभिजनिङ बढेको छ। प्रोभिजनिङमा भएको बृद्धिले बैंकहरुको वितरणयोग्य नाफा ऋणात्मक बनाएको छ। बैंकहरुको नाफा ऋणात्मक हुँदा वासलातको दायित्वअन्तर्गत रहने सञ्चित नाफा ऋणात्मक भएको छ।
जसको प्रत्यक्ष प्रभाव बैंकहरुको पुँजीमा पर्छ। प्राथमिक पुँजीकोषको महत्वपूर्ण अंगको रुपमा सञ्चित नाफा/नोक्सान रहेको हुन्छ। सञ्चित नाफा ऋणात्मक हुँदा वा घट्दा बैंकहरुको प्राथमिक पुँजी अन्तर्गतको प्राथमिक पुँजी कम हुन्छ।
एकातर्फ प्राथमिक पुँजी कम हुने अर्कोतर्फ निष्कृय कर्जाको जोखिमभार बढ्छ। जसले गर्दा प्राथमिक पुँजीकोषको अनुपात कम गराउँछ। राष्ट्र बैंकले प्राथमिक पुँजीकोष ८.५ प्रतिशत र पुरक पुँजीकोष २.५ प्रतिशत गरी ११ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा बैंकहरुले क्याउन्टरसाइक्लिकल बफरबापत थप ०.५ प्रतिशत पुँजीकोष व्यवस्थापन गरी कुल ११.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ।