शनिबार, साउन १२ गते २०८१    
images
images
images

भूराजनीतिको केन्द्रमा विद्युतीय सवारी

images
शनिबार, वैशाख १ २०८१
images
images
भूराजनीतिको केन्द्रमा विद्युतीय सवारी

ब्याट्री तथा प्रविधिको आविष्कारमा अर्बौं डलर लगानीको घोषणा बाहेक यी देशले चिनियाँ प्रभाव रोक्न भरमग्दुर प्रयास गरिरहेका छन्। चीन पनि आफ्नो पकड विस्तार गर्न लागिपरेको छ।

images

काठमाडौं- विश्व अटोमोटिभ बजारमा सन् २०२३ चीनका लागि विशेष रह्यो। जापानलाई उछिन्दै सबैभन्दा धेरै सवारीसाधन निर्यात गर्ने देश चीन बन्यो। त्यस्तै अमेरिकी ईभी ब्रान्ड टेस्लालाई चिनियाँ ब्रान्ड बीवाइडीले उछिन्यो।

images
images

आधुनिक अर्थतन्त्रमा सवारीसाधनको बजारमा दबदबा राखेका जापान, अमेरिका तथा  युरोपियन ब्रान्डलाई पछाडि पार्दै चिनियाँ ब्रान्ड अघि बढे। कुनै पनि औद्योगिक उत्पादनको क्षेत्रमा विश्वलाई लिड गर्नु विश्व शक्तिका रुपमा आफूलाई अघि बढाएको चीनका लागि यो विशेष पल थियो। सन् १९७० को दशकको पूर्वार्धमा युरोपियन तथा अमेरिकन ब्रान्डको सहकार्यमा सवारी उत्पादन सुरू गरेको चीनले चार दशककै आफूलाई अग्रणी बनाएको छ।

images

संसारकै ठूलो जनसंख्या भएको चीन ठूलो बजार हो। यो बजारमा आफ्नै उत्पादन भएको हेर्नेमात्र होइन विश्व बजारलाई नै लिड गर्ने चिनियाँ सपनाको बीजारोपण भने सन् २१औँ शताब्दीको सुरूवातमै भएको थियो।

सन् २००० तिर चीनले आफ्नै कार सवारी ब्रान्ड हुनुपर्ने महसुस गरेर काम अघि बढाएको थियो। विदेशी ब्रान्डसँगको सहकार्यमा जति धेरै उत्पादन भएपनि त्यसबाट फलिफाप नहुनेमा चीन प्रष्ट थियो। तर त्यतिबेला सवारी उत्पादनमा महारथ हाँसिल गरेका जर्मन, अमेरिकन र जापानी ब्रान्डको अगाडि चीनको केही लाग्दैन थियो। 

images

खनिज इन्धनबाट सञ्चालन हुने सवारीसाधनको क्षेत्रमा जतिसुकै गरेपनि लिड गर्न नसकिने र नयाँ प्रविधिको उदय भएमा भने सहजै प्रतिस्पर्धा गर्न सकिने भन्दै चीनले सन् २००२ मै भविष्यमुखी सवारीसाधन उत्पादनका लागि अनुसन्धानमा लगानी बढायो। सन् २००९ देखि नै चीनले हाइब्रिड कारको प्रयोग, उत्पादनमा सहुलियत दिने नीति लियो। चीन सरकारले अनुसन्धानमा गरेको लगानी, खरिदमा दिएको सहुलियतले विद्युतीय सवारीको खपतमात्र होइन उत्पादन पनि बढ्यो।

उत्पादन र खपतमात्र होइन आफ्नै अनुसन्धानले आविष्कार पनि भयो। यसले गर्दा ब्याट्रीदेखि अन्य प्रविधिमा चीनले अग्रता लिएको छ। यही कारणले गर्दा बीवाईडीले टेस्लालाई उछिन्यो भने चीनले निर्यातमा जापानलाई उछिन्यो। यो सबै कुरा विद्युतीय सवारीमा भएको क्रान्तिका कारणले भयो।

परम्परागत सवारी उत्पादकहरूको आफ्नो सेगमेन्टमा महारथ हाँसिल गरेपनि नयाँ प्रविधिमा भने नयाँ कम्पनी सरहमात्र होइन कतिपय पाटोमा कमजोर देखिए। उनीहरूको त्यही कमजोरीको फाइदा उठाउँदै चिनियाँ बजारमा त चिनियाँ कम्पनीले विदेशी कम्पनीलाई धेरै पहिले चुनौती दिए। विदेशी कम्पनीको उन्नत प्रविधि र शैलीबाट लाभ लिँदै उनीहरूको कमजोरीमा टेक्दै चिनियाँ कम्पनीहरूले नयाँ ऊर्जा सवारी साधनमा महारथ हात पारेका छन्।

चिनियाँ बजार आफैमा संसारकै ठूलोमध्येको बजार हो। विकासोन्मुख मुलुक चीनमा अझै पनि सवारीको बजार विस्तार हुनेक्रममै छ। यसको अर्थ त्यहाँ बजार अझै बढ्ने छ। त्यही बजारमा चीनले आफ्नै उत्पादनको दबदबा कायम गर्न सफल देखिएको छ। संसारकै ठूलो बजारमा एकछत्र गरेका चिनियाँ कम्पनी विश्व बजारमा स्वाभाविक रुपमा प्रतिस्पर्धी हुने देखिएका छन्। यही भएर चीले गत वर्ष सबैभन्दा धेरै कार निर्यात गर्न सफल भयो। 

आन्तरिक बजारमा उत्प्रेरणा र वर्षौँदेखिको लगानीको प्रतिफल स्वरुप चीनले नयाँ ऊर्जा सवारी बजारमा राज गर्ने छनक ल्याएपछि वर्षौँदेखि विश्व बजारमा राज गर्दै आएका पश्चिमा मुलुक तर्सिएका छन्। युरोप र अमेरिकाले पछिल्लो समय नयाँ ऊर्जा सवारी प्रवर्द्धनका लागि भन्दै सयौँ अर्ब डलरका प्याकेज ल्याए पनि चीन धेरै अघि बढिसकेको उनीहरूले छनक पाएका छन्।

अहिलेसम्म कुनै पनि औद्योगिक क्षेत्रमा चीनले अग्रता लिएपछि विशेषगरी अमेरिकी सक्रियतामा निस्तेज पार्ने प्रयास रहन्छ। केही समय पहिले दूरसञ्चार उपकरणको बजारमा हुवावेको रफ्तार नियन्त्रण गर्न अमेरिका सफल भएको थियो। पछिल्लो चार वर्ष हुवावेको उपभोक्ता वस्तुको बजार त करिब ध्वस्त नै भयो। हुवावेले जसरी स्मार्टफोन र दूरसञ्चारमा रफ्तार लिएको थियो त्यसैगरी सवारीसाधनमा चिनियाँ कम्पनी अघि बढेका छन्।

नयाँ ऊर्जा सवारी साधनमा चीनको आफ्नै बाध्यता छ। खनिज इन्धन चीनसँग आफ्नै उत्पादन धेरै छैन। आयातकै भर परेको चीनले त्यसबाट चल्ने सवारीको साटो नयाँ ऊर्जा सवारीमा रणनीतिक लाभमा छ। तर अमेरिका भने पछिल्लो समय पेट्रोलियममा अग्रणी हुँदै गएको छ। आत्मनिर्भर भएर अमेरिकाले इन्धन निर्यात गर्न पनि सुरू गरिसकेको छ। कार्बन उत्सर्जन बाहेक पश्चिमा मुलुकका लागि नयाँ ऊर्जा साधनभन्दा पनि परम्पारागत साधन नै अहिलेका लागि लाभदायक छ। तर चीनका लागि भने तत्काल नै नयाँ ऊर्जा साधन लाभदायक छन्। त्यही भएर पनि चीनले लगानी बढाउँदै गएको छ।

हरेक क्षेत्रमा आफ्नै अन्वेषणभन्दा पनि नक्कल गरेको आरोप लाग्ने चीनले नयाँ ऊर्जा सवारीमा भने आफ्नै अन्वेषण धेरै गरिरहेको छ। यतिमात्र होइन यसका लागि आवश्यक पदार्थमाथिको पकड पनि चीनको धेरै छ। यति धेरै अनुकूलताका कारणले गर्दा चीन धेरै अघि बढेको छ। 

नयाँ ऊर्जा सवारी साधनको दौडमा चिनियाँ रफ्तारले पश्चिमा देशलाई झस्काएको छ। यदि यसमा नियन्त्रण गर्न नसकिए अबको दशकमा अटोमोबाइल क्षेत्रमा चिनियाँ पकड हुने छ। युरोप, अमेरिका तथा जापानको परम्परागत दबदबा चीनमा सर्नेछ र यतिमात्र होइन ठूलो अर्थतन्त्रमा चिनियाँ लिड हुनेछ। कुनै पनि औद्योगिक क्षेत्रमा हुने पकडले विश्वमा प्रभाव विस्तारमा पक्कै पनि फरक पार्छ। 

यो अवस्थामा चीनलाई रोक्नका लागि पश्चिमा देशहरूले निकै जोडबल गरेका छन्। विशेषगरी विद्युतीय सवारीका लागि आवश्यक धातुको धेरै भण्डारण हुने देशमा चिनियाँ प्रभाव घटाउने, प्रविधि र आविष्कारमाथिको पहुँचलाई नियन्त्रित गर्ने प्रयास भइरहेको छ। आफ्नो देशका कम्पनीका उत्पादनलाई विस्तार गर्ने सामान्य व्यापारिक लविङबाहेक रणनीतिक पहल पनि गरिरहेका छन्।

ब्याट्री तथा प्रविधिको आविष्कारमा अर्बौँ डलर लगानीको घोषणा बाहेक यी देशले चिनियाँ प्रभाव रोक्न भरमग्दुर प्रयास गरिरहेका छन्। चीन पनि आफ्नो पकड विस्तार गर्न लागिपरेको छ।

चीन भर्सेस पश्चिममा मुलुकबीचको प्रतिस्पर्धा साना अर्थतन्त्र भएका मुलुकसम्मै पुगेको छ। बहुमूल्य पदार्थको भण्डारण हुने देश बाहिर पनि यस्तो प्रतिस्पर्धा देखिन थालेको छ। नेपालमै पनि पछिल्लो समय चिनियाँ ब्रान्डका विद्युतीय सवारीको बिक्री वितरण धेरै हुन थालेको छ। भारतीय र चिनियाँ ब्रान्डले विशेषगरी हाइइन्ड सेगमेन्टलाई टक्कर नदिएकाले अहिलेसम्म खासै भूराजनीतिक छाया देखिएको छैन। यद्यपि कतिपय मुलुकमा यस्तो देखिएको छ। 


प्रकाशित : शनिबार, वैशाख १ २०८१००:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend