काठमाडौं- शासन सत्तामा रहेकाहरूमा दूरदर्शी सोच र कामप्रतिको इमान्दारिता हुँदो हो त अहिले बिजुली गाडीमा स्वर्ण महोत्सवको तयारीमा हुने थियो नेपाल। तर गुमेको त्यो अवसरले धिक्कारिरहँदा वर्तमानले पुन: एकपटक भविष्य हेरेर अघि बढ्ने अवसर दिएको छ।
शासकीय नाकामीले पछि परिरहँदा बिजुली गाडीको कथामा पनि उदाहरणीय बन्न गुमाएको मौका फर्काउन सक्ने समय आएको छ। विस २०३३ पुस १३ गते जन्मिएको ट्रली बस धुकचुक-धुकचुक हुँदै २०६६ तिर मृत नबनाइएको भए बिजुली गाडीको त्यो पुर्खाले नवआगन्तुकहरूलाई अझ उज्यालो भविष्य देखाइरहेको हुन्थ्यो।
राजा महेन्द्रले सन् १९७२ मा चीन सरकारसँग ट्रली बस प्रणालीका लागि वार्ता गरेका थिए। जुन राजा वीरेन्द्रका पालामा सन् १९७५ मा लागु भयो। चीनको ४ करोड रुपैयाँ अनुदानमा २२ वटा ट्रली बस भित्रिए। काठमाडौंदेखि भक्तपुरसम्म १३ किलोमिटरमा चल्ने ती बसले दैनिक १० हजार यात्रुलाई सेवा दिन्थे।
नेपालमा ट्रली बसको पहिलो मोडल ‘शांघाइ एसके ५४१’ थियो। सन् १९९७ मा पनि थप १० वटा नयाँ बसहरू चीनले नेपाललाई सहयोग गरेको थियो। समयसँगै जसोजसो उपकरणहरू खराब हुँदै गए सेवा पनि कम हुँदै गयो।
नियामकीय खराबी, लगातारको गडबडी, मर्मतसम्भार नगरिनुका साथै ओभरहेड तारको चोरी र विभिन्न आर्थिक र राजनीतिक समस्याका कारण ट्रली बससेवा निरन्तर भएन। यातायातमा विद्युतको त्यो प्रयोग कसरी ध्वस्त पारियो छर्लंग नै छ।
सन् १९९२ मा अर्को प्रकारको विद्युतीय सवारी ‘चारपाङ्ग्रे कार’ काठमाडौं सहरमा दृश्यमा आएको थियो। सन् १९८९ मा भारतले लगाएको नाकाबन्दीको समयमा नेपालमा हुने पेट्रोलियम आयात रोकिएको थियो। त्यही समयमा केही इन्जिनियरसहितको एक उत्साही समूहले पेट्रोलियमबाट चल्ने केही सवारीलाई विद्युतीयमा रुपान्तरणको प्रयास सुरु गरेका थिए।
ती सवारीले देशमा बढ्दो वायु प्रदूषणको चिन्तालाई केही हदसम्म सम्बोधन गरेको भए पनि उपयोगी भने हुन सकेन। तर विद्युतीय सवारीप्रति मानिसको आकर्षण बढाइदिनुका साथै त्यसबारे बहसको सुरुवात भने त्यहीबाट नै भयो। कुनै सानो कामले पनि ठूलो छाप छाडिदिन सक्ने उदाहरण बन्यो।
सन् १९९३ मा अमेरिकी वातावरण साझेदार संस्थाहरू यूएस-एसिया वातावरण साझेदार, ग्लोबल रिसोर्स इन्स्टिच्युटजस्ता आईएनजीओ र विभिन्न एनजीओहरूले नेपालमा लाभदायक र वातावरणमैत्री साधनको रुपमा विद्युतीय सवारीको विकास गर्न प्रतिबद्ध भएर सहकार्य गर्न थाले। जसपछि नै सातवटा बिक्रम टेम्पोलाई सफा टेम्पोमा रुपान्तरण गरियो। त्यसबेला दुईजना अमेरिकी इन्जिनियरसहित थापाथली क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सहयोग लिएर ती संस्थाले काम गरेका थिए।
धुँवाको मुस्लो फाल्ने पुराना टेम्पोलाई सफा टेम्पोले सडकबाट हटाइदियो। त्यसले पनि विद्युतीय सवारीको पाइलालाई निकै अघि बढायो। सफा टेम्पो आयात गरेर त्यसमार्फत उपत्यकामा मात्रै दर्जनौँ गन्तव्यमा सेवा चलिरहेकै छ।
ट्रली बस र सफा टेम्पोका दिनदेखि अहिलेसम्म त विद्युतीय सवारीले वास्तविकता प्रष्ट्याउँदै उज्यालो भविष्य देखाइसकेको छ। त्यो समयदेखि अहिलेसम्म त विद्युतीय सवारीलाई लिएर बन्ने आम धारणामा समेत लामो यात्रा पार भइसकेको छ। यसमा ध्यान दिइरहेकाहरूका लागि त गर्व गर्नलायक वर्तमान बनिसकेको छ।
अहिलेसम्म नेपाली सडकमा करिब १५ हजार प्यासेन्जर कार, १८ सय माइक्रो तथा भ्यान र डेढ सयजति ठूला बस गुडिरहेका छन्। २५ हजारभन्दा बढी ई-रिक्सा छन्। त्यस्तै करिब २६ हजार विद्युतीय दुईपांग्रे सवारी गुडिरहेको अनुमानित तथ्यांक छ। सुरुवाती चरणमा आएका कति ब्रान्ड हराएर नयाँले पनि ठाउँ लिइरहेका छन्।
विश्व बजारमा ईभी आउँदा चुनौतीका जुन भोगाइ थिए त्यो नेपालमा आउँदा अलि भिन्न भएको अनुभव ल्याउनेहरूको छ। विश्व बजारमा आम रुपमा ईभी बिक्री हुँदा त्यसलाई ‘थ्रेट’का रुपमा लिइयो र पेट्रोलियम बिक्रेताको तारो बन्यो। नेपालमा भने विद्युतीय कार हुन्छ र त्यो अरू कारजस्तो विशेषतायुक्त हुन्छन् भन्ने कुरा नै प्रश्न बनिरहेको थियो।
सुरुमा नेपालमा सन् २००७ ताका दुई सिट क्षमताको सानो आकारको विद्युतीय रेभा सिटी कार आएको थियो। रेभाभन्दा पहिले पनि केही विद्युतीय गाडी त आएका थिए, तर तिनीहरु खासै चल्न नसक्दा आधिकारिक तथ्यहरू भेटिँदैनन्।
नेपाली सडकमा देखिएका रेभा सिटी कारलाई नै पनि धेरैले खेलौना कारका रुपमा चित्रण गरे। तर पनि विद्युतीय सवारीको देखिने चित्र फेर्न रेभाको भूमिका ठूलो छ। लिड एसिड ब्याट्री भएको उक्त कारले झन्डै ८० किलोमिटरको रेन्ज दिन्थ्यो। करिब एक दशकको अन्तरालमा १ सय ३८ वटा रेभा नेपाली बजारमा बिक्री भएको थियो।
त्यसपछि लिथियम आयन ब्याट्री भएको १०० मिलोमिटरसम्म गुडाउन सकिने ईटूओले त विद्युतीय गाडीप्रतिको कर्के नजर धेरै हदसम्म सिधा पारिदियो। भारतीय कम्पनी महिन्द्राले रेभा खरिद गरेपछि सन् २०१० ताका नेपालमा महिन्द्रा ईटूओ आएको हो। ईटूओ पनि नेपालमा उल्लेख्य संख्यामा बिक्री भए।
सन् २०१५ ताका त प्रयोगकर्ताको सोचाइमा रहेको अन्य कारसरहकै विशेषतायुक्त कियाको सोल विद्युतीय कार नेपाल आएको थियो। सँगै २०१६ मा बीवाईडीको ई-सिक्स नेपाल आयो। त्यसपछि विद्युतीय कार आयातको क्रम बढ्न थाल्यो। हुन्डाई कोना, कियाकै निरोलगायतका विद्युतीय कार आए।
‘पहिले त ईभी भनेको के हो भनेर चिनाउन नै हामीलाई निकै गाह्रो भएको थियो। एउटा खेलौनाको रुपमा सबैजनाले हेर्ने र रमाउने साधनजस्तो मात्र भएको थियो। अरू केही पनि थिएन खेलौना गाडी भन्नेमात्र थियो’ सन् २००५ तिरबाट नेपालमा विद्युतीय गाडीको विकासका लागि काम गरिरहेका प्रमोद भण्डारी सुनाउँछन्।
त्यो अवस्थाबाट अहिलेसम्म पुग्नमा नेपालले नै पनि लामो यात्रा तय गरिसकेको छ। ‘भविष्य ईभी हो भनेर हामी २००५ देखि कराउँदै कराउँदै आएका हौँ। हामीले सुरुमा दु:ख गरेर तलदेखि काम गरेको भएर अरु साथीभाइहरूले पनि यसबारे सोच्नुभयो। ईभी चल्दो रहेछ भनेर ल्याउन थाल्नुभयो। अहिले त छ्यापछ्याप्ती नै भइसकेको छ। सडकमा निस्कँदा यताउता ईभी नै देखिन्छन्, अग्नी इनर्जीमा असिस्टेन्ट जनरल म्यानेजर रहेका भण्डारीले सुनाए।
हुन पनि अहिलेसम्म त टेस्लादेखि अउडी हुँदै ज्यागुअर र बीएमडब्लूसम्म, टाटादेखि एमजीसम्म र बीवाईडीदेखि निटासम्मका विद्युतीय कार नेपाली बजारमा उपलब्ध छन्। अघिल्लो महिनामात्र चाङगनको दीपल तथा चेरीको ओमोडाको विद्युतीय कार नेपाल आइसकेको छ। त्यस्तै अन्य सयौँ ब्रान्डका दर्जनौँ विद्युतीय कार नेपाल आउने पर्खाइमा छन्।
नेपालको यातायात क्षेत्रले विद्युतीय दुईपाङ्ग्रे, तीनपाङ्ग्रेसहित कार, भ्यान र बसको यस्तो नयाँ आगमनहरू देखिरहेको छ जसले यातायातमा स्वच्छ ऊर्जाको संकल्प नजिक बन्दै गइरहेको छ। वातावरणीय विषयका सँगसँगै सञ्चालन र मर्मतमा लाग्ने कम लागतको कुरामात्र होइन विलासी सवारीसम्ममा मानिसहरू विद्युतीयतर्फ आकर्षित हुन थालिसकेका छन्।
‘अहिले मैले ईभी गुडाइरहँदा उपत्यकाको सडकमा यसो हेर्छु, हरेक ८/९ वटा पेट्रोलियमबाट चल्ने गाडीपछि एउटा ईभी गुडिरहेको हुन्छ, त्यो देख्दा खुसी लाग्छ’ नेपालमा ईभीको आकर्षण बढिरहेको सन्दर्भमा कलाकार हरिवंश आचार्यले सुनाए। ‘मानिसहरू अहिले धेरै नै सचेत भइसकेका छन्। आफूले चाहेजस्तो सवारी विद्युतीयमा उपलब्ध छ भने पेट्रोल डिजेल खपत गर्नतिर किन लाग्ने त? आखिर हामीले धेरै गर्नसक्ने भनेको पनि बिजुलीमा नै त हो’, विद्युतीय गाडी चढिरहेका उनले भने।
कलाकार आचार्यले अनुभवका आधारमा सुनाएजस्तै नेपाल विद्युतीय सवारीमय हुन अब धेरै पर्खनुपर्ने देखिँदैन। आयात र बिक्रीको तथ्यांकले मात्र होइन विश्वबजारमा यससम्बन्धमा भइरहेको प्राविधिक विकासले पनि हामीलाई भिन्नै पक्कै राख्ने छैन।
विद्युतीय सवारी अब मेनस्ट्रिम अटोमोबाइल हुने क्रममा गइसकेको सुनाउँछन् नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठ। ‘नेपालकै कुरा गर्ने हो भने प्यासेन्जर कारमा अहिले ६० प्रतिशतभन्दा बढी विद्युतीय बिक्री हुन थालेको छ। कमर्सियलमा पनि बढ्दो छ। साझाले ठूला बस चलाउन थालेको छ। सबै ठूला घरानाहरू विद्युतीय सवारीको खोजीमा छन्। ईभी नै हो अब उत्पादकले बनाउने, उपभोक्ताले खोज्ने र व्यवसायीले बिक्री गर्ने सवारी’ श्रेष्ठले भने।
नाडाका उपाध्यक्ष श्रेष्ठको भनाइसँग यस क्षेत्रमा रहेकाहरू र चासो दिनेहरू सबैजसो नै सहमत देखिन्छन्। विद्युतीय गाडीलाई लिएर उब्जिएका विभिन्न शंकाहरूको समाधान यसका प्रयोगकर्ताहरूले भेटिसकेका छन्। नेपालमा विद्युतीय सवारीको विकास होस् भन्ने चाहना राख्नेहरू अहिले एउटै सोचमा छन्, ‘सरकारले करको दर धेरै नचलाओस्।'
सरकारको स्थिर नीति र काम गर्ने अठोट हुने हो भने वर्तमान चम्किलो देखिएको बिजुली गाडीमा भविष्य थप उज्यालिने छ। अझै पनि ट्रलीबसका अस्थिपञ्जर हेरेर चुकचुकाइरहनुपर्ने छैन।