काठमाडौं- सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
मेयरको रुपमा सार्वजनिक सेवामा प्रवेश गरेको साल २०७४ असोजदेखि २०७९ माघसम्मको आयआर्जन, सम्पत्ति र खर्चबारे अनुसन्धान गर्दा गैरकानूनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको पाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापाविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
अनुसन्धान जाँच अवधिमा स्रोत खुल्न आएको उनको वैध आय सात करोड ४६ लाख ५० हजारको अनुपातमा सोही अवधिमा मेयर थापाले १३ करोड २० लाख तीन हजार रूपैयाँ खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जनाएको छ।
उनको कुल वैधानिक आय र व्ययको तुलना गर्दा पाँच करोड ३३ लाख ५३ हजार बराबरको सम्पत्ति ऋणात्मक भएको पाइएपछि सोही रकम बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
साथै मेयर थापाले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिबाट उनको एकासगोल परिवारका सदस्यहरु श्रीमती रेश्मी कुमारी घिमिरे थापा, भाइ राम कुमार थापा र भाइ बुहारी द्वारिका राउतको नाममा खरिद गरिएका घरजग्गा, विभिन्न कम्पनीमा गरेको लगानी, सेयर खरिद, जीवन बीमा प्रिमियम भुक्तानी र बैंक खातामा मौज्दात रकम लगायतमा गरिएका खर्च बराबरको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको, आंशिक स्रोत खुलेको र पुरै स्रोत खुलेको सम्पत्ति र त्यसबाट बढेबढाएको सम्पत्ति बमोजिम जफत गर्ने प्रयोजनार्थ उनीहरुलाई समेत प्रतिवादी कायम गरिएको छ।
उनीहरुको नाममा हाल कायम रहेको सम्पत्ति र त्यसबाट बढेबढाएको सम्पत्तिबाट बिगो जफत/असुल उपरको मागदाबी लिइ मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।