काठमाडौं- पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र रोजगारी सिर्जना, आम्दानी वृद्धि र समृद्धिको बाहक हो भन्ने कुरामा कांग्रेस कहिले पनि दुविधामा नरहेको स्पष्ट पारेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारण सभामा पूर्वअर्थमन्त्री महतले निजी क्षेत्र समृद्धिको वाहकका रुपमा प्रष्ट्याएका हुन्। ‘०४६ सालको परिवर्तनसँगै जुन आर्थिक वृद्धिको श्रृंखला अगाडि बढ्यो, त्यसमा नेपाली कांग्रेसले लिएको नीति महत्वपूर्ण हो। निजी क्षेत्रमा सक्रिय सहभागिता र राज्यको तर्फबाट समर्थन, सहयोग गर्ने कांग्रेसको नीति थियो, त्यसले नेपालको आर्थिक वृद्धिलाई अर्को स्तरमा पुर्याएको हो,' उनले भने, 'नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको टोकन सहभागिता थियो, खास गरेर आयात निर्यातमा मात्र सीमित भएको निजी क्षेत्रको सहभागितालाई विस्तार गर्यो।’
उनले पछिल्लो समय आफू अर्थमन्त्री हुँदा निरन्तर निजी क्षेत्रको सुझाव, सल्लाह र सहभागितालाई उच्च महत्व दिएको उनले बताए। बजेटरी सिस्टममा नचल्दासम्म राज्य प्रभावकारी हुन नसक्नेसमेत उनले बताए।
‘जबसम्म राज्यसंयन्त्र पारदर्शी, अनुशासित हुँदैन, बजेटरी सिस्टममा नचल्दासम्म राज्य प्रभावकारी हुन सक्दैन। राज्य विभेदकारी, वितरणमुखी र पार्टीमुखी मात्र भयो भने देशले अपेक्षा गरेको आर्थिक वृद्धि सम्भव हुँदैन भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ’, पूर्वअर्थमन्त्री महतले भने।
कांग्रेका प्रवक्तासमेत रहेका महत भन्छन्, ‘यी कुरालाई मूलमन्त्र बनाएर हामी पछिल्लो गठबन्धन सरकारमा सक्रिय भएका हौँ। नेपालमा लगानी पठाउनका लागि तीनवटै निजी क्षेत्रको संगठनलाई सदस्य बनाएर के-कस्ता अप्ठ्यारा छन्, के कस्ता सुधारका आवश्यकता छ, कहाँ झन्झट र अप्ठ्यारो निजी क्षेत्रले महसुस गरेको छ? भन्ने कुरालाई मध्यनजर गरेर उहाँहरुलाई हस्ताक्षर गराएर अर्थ मन्त्रालयको तहबाट मन्त्रिपरिषद्मा पुर्याएको हो। त्यही कुरालाई कानूनी रुप दिएर लगानी सम्मेलनमा थप ऊर्जा प्रदान गर्ने हाम्रो लक्ष्य थियो। बजेटलाई हामीले सिस्टममा ल्याउँदैछौँ।’
वितरणमुखी बाटोमा जाँदा लय समाउँदै गरेको अर्थतन्त्रको लय भंग हुने उनले बताए। ‘दोस्रो चरणको सुधारको प्रारम्भ हामीले गरेका थियौँ, त्यसलाई निरन्तरता भयो भने जसरी ०४६ पछि आर्थिक वृद्धिदरमा नयाँ प्राम्भ भएको थियो, फेरि त्यो अझै हुनसक्छ। तर वितरणमुखी बाटोमा जाने, निजी क्षेत्रसँग सहकार्य मौखिकरुपमा गर्ने र व्यवहारमा उल्टो गर्ने काम भयो भने जुन सुधार, प्रगति र शिथिलता चिरेर अर्थतन्त्रले लय पक्रँदै थियो, त्यो लय भंग हुने खतरा मैले देखेको छु’, कांग्रेस नेता महतले भने।