काठमाडौं- नेपालमा विद्युतीय सवारीका लागि दुई ठूला परियोजनाको थपिएको छ।
यूएसआईडी परियोजनाअन्तर्गत ऊर्जा नेपालको सहयोगमा काठमाडौंको दरबारमार्गलगायत ७ क्षेत्रमा मंगलबार एकैपकट २३ वटा ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएका छन्। साथै यूएसआईडीले बागमती प्रदेशका ७ स्थानमा २३ ईभी चार्जिङ स्टेसन सञ्चालनको घोषणा गरेको हो।
दरबारमार्गस्थित होटल रोयल सिंगीमा राखिएको चार्जिङ स्टेसनको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्घाटन गरेका थिए। नेपालमा मोबाइल चार्जिङ स्टेसन सञ्चालनमा आएको यो पहिलो पटकसमेत हो।
मंगलबार ठूला सार्वजिनक यातायत सञ्चालन गर्दै आएको साझाले १.१ मेगावाट क्षमताको चार्जिङ डिपोनै सञ्चालनमा ल्याएको छ। साझा यातायातले ४० वटा विद्युतीय बससँगै आवश्यक पूर्वाधार १.१ मेगावाट क्षमताको चार्जिङ डिपो समेत सञ्चालनमा ल्याएको हो।
मंगलबार साझा यातायात सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालय पुल्चोकमा आयोजित एक कार्यक्रमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले चार्जिङ डिपोको उद्घाटन गरेका थिए।
मुलुकमै पहिलो पटक १.१ मेगावाट क्षमताको चार्जिङग डिपो निर्माण गरी सञ्चालनमा आएको हो। त्यसमा २४ वटा समानान्तर चार्जिङ पोइन्ट छन्। प्रयाप्त चार्जिङ स्टेसन नहुँदा चीनबाट आयात गरिएका ४० वटा बस सञ्चालनमा आउन सकेका थिएनन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा साझा यातायातलाई विद्युतीय बस ल्याउनका लागि ३ अर्ब रुपैयाँ छुट्याइएको थियो।
साझा यातायातले पाइलट प्रोजेक्टको रुपमा एउटा डिजेल गाडीलाई रुपान्तरित बिजुली गाडी बनाएर परीक्षण समेत गरेको छ। साझाको ७१ वटा डिजेल र ४० विद्युतीय गरी १११ वटा बस सञ्चालनमा छन्।
साझाको विद्युतीय बस ४५ मिनेटमा पूर्ण चार्ज (फुल चार्ज) हुने जनाइएको छ। एक पटक फुल चार्ज गरेपछि २०० किलोमिटरसम्म गुड्न चल्न सक्ने साझाले जनाएको छ। साझाले २०७९ असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० वटा बस खरिदका लागि सम्झौता गरेको थियो।
हाल देशभरी ३८० वटा विद्युतीय सवारी चार्जिङ स्टेशन छन्। जसमध्ये ५१ वटा चार्जिङ स्टेशन विद्युत् प्राधिकरणले सञ्चालनमा ल्याएको थियो। बाँकी ३२९ चार्जिङ स्टेशन निजी क्षेत्र एवं व्यक्तिगत लगानीमा सञ्चालनमा रहेका छन। ३८० चार्जिङ स्टेशनले औसतमा दैनिक ८० हजार यूनिट विद्युत् खपत भइरहेको छ। प्राधिकरण अन्तर्गतका ५१ चार्जिङ स्टेशनले दैनिक २२ हजार यूनिट र निजी क्षेत्रका ३२९ चार्जिङ स्टेशनले ६० हजार यूनिटसम्म विद्युत खपत गर्छन्।
प्राधिकारणका अनुसार मासिक २४ लाख यूनिट विद्युत् चार्जिङ स्टेशनमार्फत खपत हुँदै आएको छ। विभिन्न दातृ निकाय तथा निजी लगानीमा ५०० वटा चार्जिङ स्टेशनहरु निकट भविष्यमै खडा हुँदैछन्। नेपालमा विद्युतीय सवारीको बिक्री बढ्दै जाँदा सवारी आयातकर्ताहरूसँगै प्राधिकरणले समेत चार्जिङ स्टेसन बनाइरहेको छ।