सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

सगरमाथासहित १६ हिमाल आरोहणका लागि ३३४ जनाले लिए अनुमति

images
सोमबार, चैत २६ २०८०
images
सगरमाथासहित १६ हिमाल आरोहणका लागि ३३४ जनाले लिए अनुमति

हिमाल आरोहणको अनुमतिबापत हालसम्म २३ करोड ७५ लाख रूपैयाँ रोयल्टी संकलन भएको छ। सगरमाथाबाट मात्रै २० करोड ९८ लाख रूपैयाँ आम्दानी भएको छ।

images
images

काठमाडौं- हिमाल आरोहणको मुख्ययाम वसन्त ऋतु सुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीहरु गन्तव्यतर्फ लागेका छन्। सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजंघा, धौलागिरी, ल्होत्से अमादब्लम, जुगललगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका आरोही त्यसतर्फ लागेका हुन्।

images
images
images

पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न १६ हिमाल आरोहणका लागि ३६ आरोही समूहका ७४ महिला र दुई सय ६० पुरुष गरी कुल तीन सय ३४ आरोहण अनुमति लिएका छन्। सगरमाथा हिमालमा मात्रै १३ समूहका ३० महिलासहित एकसय ४९ आरोहीले अनुमति पाएका छन्।

images
images

२३ करोडभन्दा बढी राजस्व

images
images

हिमाल आरोहणको अनुमतिबापत हालसम्म २३ करोड ७५ लाख सात हजार सात सय ७६ रूपैयाँ रोयल्टी संकलन भएको छ। सगरमाथाबाट मात्रै २० करोड ९८ लाख २२ हजार दुईसय रूपैयाँ आम्दानी भएको छ।
     
विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङले यस याममा सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि धमाधम आरोही अनुमति लिएर गन्तव्यतर्फ लागेका छन्। उनका अनुसार सगरमाथा आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आइरहेका छन्।

सगरमाथापछि सबैभन्दा बढी आमादब्लम हिमालमा चार आरोही समूहका ३८ जनाले अनुमति पाएका छन्। यस्तै ल्होत्से हिमालका चार आरोही समूहका ४५ जनाले अनुमति लिएका छन्। अन्नपूर्ण हिमाल आरोहणका लागि तीन आरोही समूहका २५ जनाले अनुमति लिएको विभागले जनाएको छ।
     
वसन्तऋतुमा सबैभन्दा बढी आरोही सगरमाथा आरोहणका लागि आउने गर्छन् । सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले आफ्नो कम्पनीमार्फत यस याममा हालसम्म करिब १५ जना आरोही आरोहणका लागि आएको बताए।

अहिले ६० हाराहारी आरोही अनुमति लिने प्रक्रियामा रहेकाले यसवर्ष पनि सगरमाथा आरोहण गर्नेको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरे। एसियन ट्रेकिङका अध्यक्ष एवं वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पा अहिले उल्लेख्य सङ्ख्यामा आरोही आइरहेको बताउँछन्।

विभागका अनुसार अघिल्लो वर्षको वसन्त ऋतुमा चार सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए।     

पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ अनुसार वसन्तऋतुमा सगरमाथा आरोहणमा जानेबाट प्रतिव्यक्ति विदेशीलाई ११ लाख दस्तुर लाग्छ। नेपालीले भने ७५ हजार रूपैयाँ तिर्नुपर्छ। विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा ३० लाखदेखि एक करोड रूपैयाँसम्म खर्च गर्छन्। 

मुलुकको पर्यटनको महत्वपूर्ण आधार मानिने पर्वतारोहण राजस्व आम्दानीका हिसाबले पनि महत्वपूर्ण मानिन्छ। यो याममा आरोहणका लागि बाटो खुलाउन शेर्पा आरोही डोरी टाँग्ने (रोप फिक्सिङ)का लागि सगरमाथा क्षेत्रमा खटिएको विभागले जनाएको छ। यो याममा सगरमाथा आरोहणका लागि रोप फिक्सिङ गर्ने जिम्मा सेभेन समिट ट्रेक्सले पाएको छ।

उक्त कम्पनीमार्फत जाने दक्ष शेर्पाले सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो खुलाउँछन्। सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समितिले बाटो बनाइरहेको छ। अहिले खुम्बु आइसफलमा बाटो बनाउने कार्य जारी रहेको समितिले जनाएको छ। रासस


प्रकाशित : सोमबार, चैत २६ २०८०१७:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend