सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

च्याउ र मह उत्पादन गरेर आम्दानी गर्दैछन् प्राविधिक शिक्षालयका विद्यार्थी

images
सोमबार, चैत २६ २०८०
images
च्याउ र मह उत्पादन गरेर आम्दानी गर्दैछन् प्राविधिक शिक्षालयका विद्यार्थी
फाइल तस्बिर

शिक्षालयमा बालीविज्ञान विषयमा अध्ययनरत ४० जना विद्यार्थीले तरकारीखेतीका साथै मौरीपालन गरेका छन्।

images
images

गलेश्वर- म्याग्दीको मालिका गाउँपालिका-७ बिमस्थित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीले तरकारी, च्याउ र मह उत्पादन गरी आम्दानी लिने गरेका छन्।

images
images
images

किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीले पढाइका अतिरिक्त मौसमी तथा बेमौसमी तरकारीखेती र मौरीपालन गर्दै आएका हुन्। शिक्षालयमा बालीविज्ञान विषयमा अध्ययनरत ४० जना विद्यार्थीले तरकारीखेतीका साथै मौरीपालन गरेका छन्।

images
images

विद्यालय परिसरमा मौरीका छ वटा घार छन्। विद्यार्थीले मह उत्पादन प्रक्रिया, महको चाका संकलन, मौरीको घारको रेखदेख र मह निकाल्ने सम्पूर्ण प्रक्रिया सिकेका किसानी प्राविधिक शिक्षालयका प्रधानअध्यापक जंगबहादुर गर्बुजाले बताए। वर्षमा दुईपटक मह निकालेर स्थानीयलाई बिक्री गर्ने गरिएको उनले जानकारी दिए।

images
images

उनका अनुसार पहिलो चरणमा छ वटा घारबाट मौरीपालनको अभ्यास सिकेका विद्यार्थीले अहिले आफ्नो घरमासमेत मौरीको घार राख्न थालेका छन्। विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले गरिएको मौरीपालनलाई तोरी फुल्ने समयमा मौरीको चरन क्षेत्र, वर्षाका समयमा स्थानीय प्रजातिका फूलमा चराउन कसरी लैजाने भन्ने अभ्यास विद्यालयमै गराउने गरिएको छ। मौरीपालनसँगै शिक्षालयले विद्यार्थीको प्रत्यक्ष सहभागिता हुने अन्य कृषि कर्ममा लगाउने गरेको छ।

बालीविज्ञान, पशु चिकित्सा (भेटेरिनरी) विषय पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण बढेको छ। यस शिक्षालयमा विसं २०६८ मा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, विसं २०७२ देखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो। अहिले यहाँ ११ जिल्लाका विद्यार्थी अध्ययनरत छन्। पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरिरहेको विद्यालयले जनाएको छ।

विद्यार्थीले उत्पादन गरेको तरकारी बिक्रीबाट आएको नाफा ७५ प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने र २५ प्रतिशत विद्यालयले शैक्षिक भ्रमणसहितका कार्यमा प्रयोग गर्ने गरिएको प्राचार्य गर्बुजाले जानकारी दिए। विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीले कृषि उत्पादन गर्न चाहेमा विद्यालयले ऋण  सुविधासमेत दिएको उनले बताए।

विद्यार्थीलाई किसानका खेतबारीमा पुगेर प्रयोगात्मक अभ्यास गराउनका साथै फलफूलखेती, तरकारीखेती, दलहन बाली र रैथाने जातका कृषिउपज उत्पादन गरी बजारमा बिक्री गर्ने गरिएको कृषि प्राविधिक शिक्षालयका संयोजक विष्णु सुवेदीले जानकारी दिए। 'विद्यार्थीका लागि नयाँ सिकाइमा केन्द्रित छौँ। यहाँबाट पढेर गएका सबै विद्यार्थी आत्मनिर्भर छन्। लोभलाग्दो कमाइ गरिरहेका छन्,' सुवेदीले भने।

उनका अनुसार यहाँबाट वार्षिक छ क्विन्टल च्याउ बिक्री हुने गरेको छ। विद्यार्थीले विभिन्न प्रजातिका फलफूल, तरकारीको बेर्ना बेचेर कमाइ गर्ने गरेका छन्।

विद्यालयले २० रोपनीभन्दा बढी जग्गा भाडामा लिएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिँदै आएको छ।

पछिल्लो समय विद्यार्थीको उत्पादनले बजार नपाउँदा समस्या भएको शिक्षालयका प्रअ गर्बुजाले बताए। करिब पाँच लाख बराबरको तरकारी, च्याउ र मह उत्पादन गरे पनि यसवर्ष दुई लाख ५० हजार रूपैयाँको मात्र बिक्री भएको उनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, चैत २६ २०८०१३:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend