हेटौँडा- मकवानपुरको मजहरी गाउँपालिकामा बसोबास गर्दै आइरहेका अतिलोपोन्मुख वनकरिया बस्तीका महिलाले खोलाको किनार र वनमा खेर गइरहेको तीतेपाती र निमबाट साबुन उत्पादन गरी गुजारा चलाइरहेका छन्।
मसिने शान्ति सामुदायिक वन मध्यवर्ती क्षेत्रमा परिणत भएसँगै वनमा आधारित यस समुदायका महिला खेर गइरहेको तीतेपाती र निमको प्रयोग गरेर उद्यमी बनेका हुन्।
विसं २०६२ मा जिल्ला विकास समिति मकवानपुर र मनहरी गाविसको सहयोगमा वनको घुमन्ते जीवनबाट बस्तीमा बस्न आएका वनकरिया समुदायका बासिन्दा अहिले बिस्तारै आत्मनिर्भर हुन थालेका हुन्।
अहिले उनीहरुले आफ्ना सन्तानलाई विद्यालय पठाउनेदेखि सामाजिक कार्यहरुमा पनि संलग्न हुन थालेका वनकरियाकी मुखिया सन्तमाया वनकरियाले बताइन्। उनले भनिन्, 'हामी जंगली जीवनबाट गृहस्थ जीवनमा आएका हौँ। हामीले पाएको जस्तो दुःख हाम्रा छोराछोरीलाई नपरोस् भनेर कोशिस गरिरहेका छौँ। हिजो जंगलकै गिठ्ठाभ्याकुर र अन्य फलफूल खाएर बाँचेका उनीहरु अहिले अन्नबाली उत्पादन गर्न लागिपरेका छन्', उनले भनिन्, 'हामीलाई अन्न खान रहर लाग्दा लोग्नेमान्छेहरुले कुरिलो, कुचो, माछा लिएर बस्ती जाने गर्थे, अहिले हामी आफै फलाइरहेका छौँ।'
बिरामी र सुत्केरी हुँदा खान नपाएको सम्झँदै त्यो दिन भोलिको पुस्ताका लागि कथा जस्तो हुने उनले बताइन्।
जेटिए अध्ययन गरेकी सन्तोषी वनकरियाले पढाइपछि गाउँमा नै काम गरेर सबैलाई कृषितर्फ लाग्न प्रेरित गरेकी छिन्। उनका अनुसार अहिले प्रत्येक घरमा भैँसी पालिएको छ। भैँसीको दूध बिक्री गर्नुभन्दा पनि घिउ बनाएर बेच्दा फाइदा हुने भएकाले धेरैले घिउ बिक्री गर्ने गरेका छन्। केही वर्ष पहिला प्रत्येक घरमा करेसामा माछापोखरी खनिएको भएपनि सर्पले माछा खाइदिने समस्या रहेकाले अहिले उनीहरु पशुपालन र कृषितर्फ आकर्षित भएका छन्।
गाउँपालिकाले उनीहरुलाई समयसमयमा सिलाइबुनाइ, तरकारी खेतीलगायतका तालिम उपलब्ध गराउँदै आएको छ। त्यस्ता तालिमबाट सिकेको ज्ञानले उनीहरु अहिले आफ्ना बारीमा तरकारी, फलफूल, मकै आधुनिक तरिकाले लगाउन थालेका छन्। कतिपयले बाख्रा, कुखुरा तथा माछापालनसमेत गरेका छन्। यसले उनीहरुको जीवनस्तरमा बिस्तारै सुधार आएको छ।
साबुन उत्पादनतर्फको आकर्षण
विगतमा मसिने शान्ति सामुदायिक वनबाट कुचो/खरेटो, कुरिलो, गिट्ठा भ्याकुर खोज्ने र खोलामा माछा मार्ने काम गरेर गुजारा चलाउँदै आएका उनीहरुलाई सो वन मध्यवर्ती क्षेत्रमा परेपछि उनीहरुलाई समस्या भएको थियो। अहिले समुदायमा बस्न थालेपछि उहाँहरुले तीतेपाती, नीम र ध्यूकुमारीबाट साबुन बनाउने व्यवसाय थालनी गरेका हुन्। हाल वनकरिया चेपाङ महिला साबुन उद्योग दर्ता गरेर उत्पादन सुरु गरेको उनले जानकारी दिइन्।
वनकरिया र चेपाङ बस्तीको २५ जना महिला मिलेर साबुन बनाउन थालेको मुखिया सन्तमायाको भनाइ छ। उनका अनुसार गत वर्ष राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले उनीहरुलाई साबुन बनाउने तालिम दिएको थियो। तालिमपछि आयआर्जनमा आफूहरु जोडिने अवसर पाएको उनले बताइन्। साबुन उत्पादन गर्नको लागि आवश्यक औजार समेत मञ्चले प्रदान गरेको छ।
अब उनीहरुको चुनौती भनेको आवश्यक कच्चापदार्थ र बजारीकरणको रहेको छ। 'साबुनका लागि कच्चा पदार्थ निम रोप्न थालेका छौँ, घ्यूकुमारी बारीमा अलिअलि रोपेका छौँ, तीतेपाती वरिपरि बगर, बाटोतिर पाउँछौँ', सन्तमायाले भनिन्। सानो, मध्यम र ठूलो साबुन उत्पादन गरेका उनीहरुले २० देखि ६० रूपैयाँसम्ममा साबुन बेच्ने गरेका छन्।
मञ्चले फर्मा र साबुन बनाउन आवश्यक सामग्री र दुई लाख लगानी गरेको थियो। स्थानीय सम्झना वनकरियाले साबुन बनाउन बुटवलबाट फर्मा ल्याएको बताउँदै भनिन् 'साबुन बनाउन मेहनत पर्छ, तीतेपाती टिप्न जानुपर्यो, केलाउनु पर्यो, पकाउनु पर्यो।' यहाँ उत्पादन गरिएको साबुन घाउ खटिरा, चिलाउने समस्या र छालाका लागि राम्रो हुने भएकाले बिस्तारै माग बढ्न थालेको उनको भनाइ छ।
अहिले मञ्चले नै उनीहरुले बनाएका साबुन किनिदिएको छ। सधैँ यसरी एउटा संस्थाले किनदिएका भरमा मात्रै व्यवसाय दिगो हुन नसक्ने भएकाले अब बजारीकरणको भने चिन्ता लागेको सम्झनाले बताइन्। मञ्चले दिएको थोरै रकमबाट सुरु गरिएको काममा लगानी पुँजी न्यून हुँदा उत्पादन पनि न्यून भएकाले आफूहरुलाई व्यवसाय विस्तार गर्न समस्या भएको उनको भनाइ छ।
जंगली कन्दमूलको सहारामा वर्षको आधा समय बिताउने वनकरिया समुदायमा पछिल्ला वर्षहरुमा क्रमशः परिवर्तन देखिएको छ। आधुनिक जीवनउपयोगी सीपसँग टाढा रहेका वनकरिया समुदायका पाँच किशोरी र एक किशोरले एसएलसी/एसइई परीक्षा उत्तीर्ण गरेका छन् । दुई जना किशोरी प्राविधिक क्षेत्रमा लागेका छन्। वनकरिया जातिमा पहिलो शिक्षित महिला सन्तोषी वनकरियाले कृषि प्राविधिक ९जेटिए० बनेर गाउँमा नै काम गर्न थालनी गरेकी छिन्।
वनकरिया समुदायबाट पहिलोपटक एसएलसी परीक्षा (२०७२) उत्तीर्ण गरेकी पम्फा वनकरिया ल्याब असिस्टेन्ट टेक्निसियन विषय अध्ययन गरी हाल मनहरीको रजैयामा ल्याब असिस्टेन्टको जागिर खाइरहेको मुखिया सन्तमायाले जानकारी दिइन्।
पछिल्लो वर्षमा सरकारले वनकरिया समुदायलाई जनही मासिक चार हजार रूपैयाँ सामाजिक सुरक्षाबापत भत्ता दिन थालेपछि उनीहरुको आर्थिक अवस्थामा केही सुधार आएको छ। विगत १८ वर्षदेखि सुकुम्बासीका रूपमा मकवानपुरको मनहरी-४ मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख वनकरियाको आफ्नो नाममा जग्गा छैन। अल्पसङ्ख्यक वनकरीयाले जंगलमा फिरन्ते जीवन बिताउँदा कष्ट भएको भन्दै २०६२ सालमा यहाँको कबुलियती वनमा नेपाल सरकारले नै बस्न दिएको थियो। उनीहरुले यही बसोबास गरेकै स्थानमा सामूहिक जग्गाधनी पूर्जा माग गर्दै आएका छन्।
‘वनकरिया’ नेपालको सबैभन्दा थोरै जनसङ्ख्या भएका आदिवासी जनजातिमध्येको एक जाति समुदाय हो। उनीहरुको सङ्ख्या दैलेखमा फिरन्ते जीवन गुजारिरहेका राउटे जातिको भन्दा पनि कम छ। मकवानपुरको मनहरि गाउँपालिका-४ मसिने नजिक मुसेधापमा बसोबास गर्ने यो समुदाय लोपोन्मुख जाति समुदायभित्र पर्दछ। मुसेधापमा अहिले २५ घरपरिवारमा ९३ जना वनकरिया बसोबास गर्दै आएका छन्।
मनहरी गाउँपालिका-४ मा रहेका वनकरियाहरुले राष्ट्रिय परिचयपत्र पनि बनाइसकेका छन् भने दुईवटा निर्वाचनमा मतदान पनि गरेका छन्। स्थायीरुपमा बसोबास गर्न र एकमुठ्ठी माटो आफ्नो भन्न नपाएकोमा भने उनीहरु दुःखी छन्।
शिक्षित बन्दै वनकरिया समुदाय
वनकरिया समुदायका बालबालिका हरुलाई अध्ययन गराउनको लागि उनीहरुकै बस्तीमा स्थानिय सरकारले इसिडी कक्षा सञ्चालनमा ल्याइरहेको छ भने उक्त कक्षा अध्यापनको जिम्मा सन्तोषी वनकरियालाई नै दिइएको मनहरी गाउँपालिका-४ का वडाध्यक्ष प्रकाश थापाले जानकारी दिइन्।
पशुपति माविका प्राध्यापक भानुभक्त आचार्य वनकरिया समुदायमा छोराछोरी बढाउनुपर्ने चेतना जागृत भएको बताउँछन्। उनका अनुसार हालसम्म तीन जनाले एसएलसी र तीन जनाले इसइई पास गरेको छन् भने करिब १९ जना बालबालिका नियमित विद्यालय आइरहेका छन्। वनकरिया बस्तीमा हाल उच्च शिक्षा अध्ययन गर्ने छात्रासमेत भएको उनले बताए। वनकरियाहरु बिद्यालय भर्ना नहुँदा उनीहरुको घरमा नै गएर विद्यालय भर्ना अभियान चलाउनु परेको उल्लेख गर्दै प्राध्यापक आचार्य हाल विद्यालय आएका बालबालिकामा पनि पढाइप्रति लगाव बढेको बताउँछन्।
कक्षा १२ मा अध्ययन गरिरहेकी सम्झना वनकरियाले आफूलाई पत्रकार बन्ने ठूलो धोको रहेको बताइन्। उनले आफ्नो समुदायको खबर लेख्न आउने अन्य पत्रकार जस्तै आफू पनि समाचार बनाउन सक्षम बन्ने चाहना राखिन्।
जनसङ्ख्या घट्दो अवस्थामा
देशकै अल्पसङ्ख्यक यस समुदायमा जनसङ्ख्या घट्दो रहेको छ। विवाहका लागि योग्य उमेर समूहका पुरुषभन्दा महिलाको सङ्ख्या बढी भएकाले जनसङ्ख्या घट्दो रहेको देखिन्छ। महिला विवाह गरेर समान संस्कृति भएका चेपाङ जातिसँग जाने भएकाले जनसङ्ख्या घट्दो भएको स्थानीयवासी बताउँछन्। उनीहरुमा चेपाङ समुदायसँग विवाहबारी गर्ने चलन छ।
दुई दशकअघिदेखि मात्रै फिरन्ते जीवनशैलीलाई त्यागेर एकै स्थानमा बसोबास शुरु गरेका आदिवासी वनकरिया जातिले अझै पनि स्थायी बसोबास गर्न पाएका छैनन्। केही वर्षअघि देशका ‘धर्तीपुत्र’ भएको ठहरसहित स्थानीय प्रशासनमार्फत नागरिकता पाएका वनकरिया जाति अहिले पनि शतप्रतिशत सुकुम्वासी छन्। विसं २०५९ मा देशको लोपोन्मुख आदिवासी जनजातिका रूपमा सूचीकृत भएको वनकरिया जाति अहिले राष्ट्रिय निकुञ्जको जग्गामा अस्थायीरूपमा बसोबास गर्दै आएका छन्।
हाल वनकरियाको बसोबास रहेको मुसेधाप खहरेको बगर भएकाले यहाँ कृषि उत्पादन राम्रो हुँदैन। यहाँको उत्पादनले वनकरिया समुदायका लागि तीन महिना मात्रै खान पुग्छ। वनकरिया समुदायको आर्थिक अवस्था सुधार गर्न गाउँपालिकाले वनकरिया होमस्टे सञ्चालन गरिदिएको भएपनि प्रभावकारी बन्न नसकेको पालिकाकी उपाध्यक्ष सीता पुलामीले जानकारी दिइन्।
गाउँपालिकाले लोपोन्मुख वनकरिया जातिको रहनसहन, खानपिन, परम्परा एवं संस्कृतिको प्रचारप्रसार गर्दै उनीहरुको आर्थिकस्तर माथि उकास्न तथा उनीहरुको जीवनशैलीको अवलोकन गर्न चाहने र उनीहरुकै घरमा बास बस्न चाहनेका लागि घरबास सञ्चालन गरे पनि पाहुना नआउँदा यो प्रयास सफल नभएको उनी बताउँछिन्।
उपाध्यक्ष पुलामीका अनुसार आर्थिक स्तरमा सुधार ल्याउन पालिकाले उनीहरुले नै सुरु गरेको साबुन उत्पादन कार्य प्रवर्द्धनमा सहयोग योजना बनाएको छ। गाउँपालिकाले वनकरिया बस्तीलाई बिस्तारै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै लैजाने लक्ष्य लिएको छ। वनकरिया बस्तीमा उत्पादन भएको तरकारी, अन्न, फलफूलसँगैको खोलाको माछा, त्यहीको घट्टमा पिसेको पिठोका परिकार प्रवर्द्धन गरिने उनले बताइन्। रासस