बिहीबार , जेठ ३ गते २०८१    
images
images

दमौली खानेपानीद्वारा सात करोड भुक्तानी गर्न बाँकी

images
बुधबार, चैत २१ २०८०
images
images
दमौली खानेपानीद्वारा सात करोड भुक्तानी गर्न बाँकी

दमौली खानेपानी संस्थाले व्यास नगरपालिका-२, ३ र ४ मा खानेपानी सुविधा उपलब्ध गराउँदै आएको छ।

images
images

दमौली- तनहुँको सदरमुकाम दमौलीस्थित तीन वडामा खानेपानी वितरण गर्दै आएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नगर विकास कोषलाई करिब सात करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ।

images
images
images

दोस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत नगर विकास कोषले दमौली खानेपानीलाई ऋण उपलब्ध गराएकामा संस्थाले छ करोड ९८ लाख ६८ हजार तीनसय १८ भुक्तान गर्न बाँकी रहेको छ। विसं २०७० असार २० गतेको सम्झौताअनुसार नगर विकास कोषले संस्थालाई १२ करोड ६७ लाख ३२ हजार दुईसय ९६ रूपैयाँ ऋण उपलब्ध गराएको थियो।

images

खानेपानी आयोजना निर्माणका क्रममा नेपाल सरकारको ५० प्रतिशतले हुन आउने १२ करोड ६७ लाख ३२ हजार दुईसय ९६ रूपैयाँ, उपभोक्ता संस्थाको १२ करोड ६७ लाख ३२ हजार दुईसय ९६ रूपैयाँ लगानी गरिएको थियो। त्यसमध्ये पनि १२ करोड दुई लाख ७७ हजार एक सय ७४ संस्थाले र ६४ लाख ५५ हजार एकसय २२ रूपैयाँ जनताबाट उठाएको थियो।

images
images

दमौली खानेपानी संस्थाले व्यास नगरपालिका-२, ३ र ४ मा खानेपानी सुविधा उपलब्ध गराउँदै आएको छ। यी तीनवटा वडामा तीन हजार छ सय ५० निजी धारा र एक सय २२ कार्यालय तथा संघसंस्थाका गरी तीन हजार सात सय ७२ धारा जडान गरिएको संस्थाका सचिव योगिता श्रेष्ठले जानकारी दिइन्।

images
images

आयोजनाको मुख्य स्रोतहरु गुणादी बाराही मूल खानेपानी मुहानदेखि फिल्टर ट्यांकीसम्म ९.२ किमी, मादी नदी सम्वेलदेखि बाघभञ्ज्याङ फिल्टर ट्यांकीसम्म ०.९५ किमी, बाघभञ्ज्याङस्थित फिल्टर ट्यांकीदेखि साँखरसम्म १.१९५ किमी र साँखरदेखि शीतलचोक ट्यांकीसम्म ०.४४० किमी हुन्।

आयोजनाअन्तर्गत दुईवटा इन्टेक, तीनवटा ग्रिट च्याम्बर, पाँचवटा पानीपोखरी, पानी प्रशोधन प्रणाली, २.६३ किमी मुख्य प्रसारण लाइन, ६२ किमी वितरण पाइप सञ्चालनमा रहेको श्रेष्ठले बताइन्।

मादी नदीस्थित पम्पिङ प्रणालीबाट पानी तानेर फिल्टर गरी वितरण गर्ने उद्देश्यसहित विसं २०६९ पुस २० गते चौपक्षीय सम्झौता भएको थियो। आयोजनाको निर्माण विसं २०७५ असार मसान्तमा सम्पन्न भएको थियो। हाल दमौली बजारमा दैनिक ३१ लाख लिटर पानी आवश्यक पर्ने भए पनि आवश्यकता अनुसारको पानी वितरण हुन नसकेको संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले बताए।संस्थाले तीन वडामा चौबिसै घण्टा पानी उपलब्ध गराउने लक्ष्य राखे पनि सफल हुन नसकेको उनको भनाइ छ।

उनले भने, 'अहिलेको आर्थिक मन्दी, सडक विस्तारका कारण पानीका संरचनामा क्षति, गुणादी बाराही मूलमा समय समयमा समझदारीको उपयुक्त वातावरण नहुनुजस्ता कारणले उपभोक्तालाई लक्ष्यअनुसारको सेवा दिन सकिरहेको छैन।'

बढ्दो जनसङ्ख्याको चापलाई यथास्थितिमा थेग्न कठिन भएकाले सहरी खानेपानी विकास आयोजनाबाट सवा तीन करोडको योजना स्वीकृत गराई ठेक्का बोलपत्र हुँदा एक करोड ८० लाख छ हजार चार सय ९१ को आयोजनाको काम पनि अगाडि बढेको जनाइएको छ। श्रेष्ठले भने, 'सो आयोजना विस्तार भएपछि दमौली बजारभित्र पानीको अभाव देखिएका सत्यवती लाइन, मालपोत लाइन, देउराली नगरमा पानीको अभाव हुनेछैन।'

संस्थाले ० देखि ७ युनिटसम्म न्यूनतम् एक सय महसुल दर निर्धारण गरेको छ। साथै ८ देखि १० युनिटसम्म प्रतियुनिट २५, ११ देखि १५ सम्म प्रतियुनिट ३०, १६ देखि २० सम्म प्रतियुनिट ३५, २१ देखि २५ सम्म प्रतियुनिट ४०, २६ देखि ३० सम्म प्रतियुनिट ४५ र ३१ माथि प्रतियुनिट ५० रूपैयाँ कायम गरिएको छ।

संस्थाले व्यास नगरपालिका-२, ३ र ४ क्षेत्रमा खानेपानी सेवा सञ्चालनलाई निरन्तरता दिनाका साथै गुणादी मुहानलाई व्यवस्थित गर्ने, जनसङ्ख्याको बढ्दो चापलाई दृष्टिगत गर्दै बजारमा पर्याप्त खानेपानी उपलब्ध गराउन नयाँ स्रोतको खोजी गर्ने तयारी गरेको छ। 

भावी योजना

संस्थाले सहरी विकास खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत स्वीकृत थप आयोजना सम्पन्न गर्ने कार्यलाई भावी योजनाका रुपमा अघि सारेको छ। व्यास २, ३ र ४ मा थप तीन किलोमिटर पाइप लाइन विस्तार, बाराही मूल गुणादीबाट परम्परागत रुपमा ल्याइएको खानेपानीको सुनिश्चितता व्यवस्थापन गर्नेलाई भावी योजनाका रुपमा राखिएको छ। 

आर्थिक वर्ष २०८१/८२ देखि खानेपानी सुरक्षा लागु गर्ने र नगर विकास कोषलाई तिर्नुपर्ने ऋणको साँवाब्याज किस्ताबन्दीका रुपमा भुक्तानी दिने कार्य अघि बढाइने संस्थाका सचिव श्रेष्ठले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, चैत २१ २०८००२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend