काठमाडौं- चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिकमा सरकारले ४ प्रतिशतको आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार धानलगायत अन्नबाली र अन्य कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरी अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा प्रमुख कारक रहेका छन्।
यसका अतिरिक्त व्यापार क्षेत्रमा भएको झिनो वृद्धि तथा उद्योगबाहेकका अन्य क्षेत्रहरूको धनात्मक वृद्धिले गर्दा समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको जनाइएको छ।
यस्तै कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा ०.७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ। चालु आवको पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा प्रस्तुत गरिएका कुल १८ वटामध्ये ६ वटा औद्योगिक क्षेत्रहरूमा आएको संकुचनको प्रभाव कुल गार्हस्थ्य उत्पादनमा देखिएका कारण अर्थतन्त्रमा सामान्य वृद्धि देखिएको हो।
अर्थतन्त्र मन्दीमा रहेको भनिएको समयमा पहिलो त्रैमासमा राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक विस्तार भइरहेको तथ्यांक सार्वजनिक गरेको थियो। कुल गार्हस्थ्य उत्पादनको तथ्यांक निकाल्ने आधिकारिक निकाय राष्ट्रिय तथ्यांक कार्यालयले यस आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३.२ प्रतिशत रहेको जनाएको थियो।
चालु आव २०८०/८१ को दोस्रो त्रैमासिक र अघिल्लो आव २०७९/८० को दोस्रो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा प्रस्तुत गरिएका अर्थतन्त्रका कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये १७ वटा औद्योगिक क्षेत्रहरूको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको जनाइएको छ।
जसमध्ये आवास तथा भोजन सेवासँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर (२९.३ प्रतिशत) रहेको छ भने विद्युत तथा ग्यास क्षेत्र १७.१ प्रतिशत वृद्धिदर सहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ। यी औद्योगिक क्षेत्रलाई पछ्याउँदै यातायात तथा भण्डारण क्षेत्रले १४.३ प्रतिशत वृद्धिदर कायम गरेको छ।
त्यसैगरी खानी तथा उत्खनन् क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ९.४ प्रतिशत रहने अनुमान गरिएको छ। निर्माण क्षेत्रमा उत्खनन् आएको २.२ प्रतिशतको वृद्धिले यस क्षेत्रसँग प्रत्यक्षरूपमा भरपर्ने खानी तथा उत्खनन् क्षेत्रको वृद्धिदरमा समेत सकारात्मक प्रभाव पारेको देखिन्छ।
निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा विमा क्षेत्रको वृद्धिदर (९.१ प्रतिशत) मा सकारात्मक प्रभाव पारेको देखिन्छ। अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर तीन प्रतिशत हुने प्रारम्भिक अनुमान छ। धानलगायत अन्नबाली तथा पशुजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको हो।
अर्कोतर्फ थोक तथा खुद्रा व्यापार क्षेत्र भने यो त्रैमासिकमा सामान्य वृद्धि (०.५ प्रतिशत) मा सीमित भएको छ। व्यापारजन्य वस्तुहरूको आयातमा भएको गिरावटले गर्दा व्यापार क्षेत्रको वृद्धि सन्तोषजनक हुन नसकेको हो।
यो त्रैमासिकमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको मात्र मूल्य अभिवृद्धि वृद्धिदर झिनो अंकले ऋणात्मक (-०.४ प्रतिशत) रहन गएको छ। गत आवको दोस्रो त्रैमासिकको तुलनामा चालु आवको दोस्रो त्रैमासिकमा औद्योगिक वस्तुको उत्पादनमा आएको कमीका कारण यो क्षेत्रको वृद्धि ऋणात्मक रहन गएको प्रारम्भिक अनुमान छ। तथ्यांक कार्यालयका अनुसार कहिले बढ्ने, कहिले घट्ने गरेर नेपालको अर्थतन्त्र वृद्धिले एउटै दिशा तय गरिरहेको देखिँदैन।
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ।
चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदरमा विश्व बैंकको प्रक्षेपण भने ३.३ प्रतिशतमा सीमित हुने रहेको छ।
निजी लगानी संकुचित हुँदा नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण