शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

कहाँ हराउँछन् काम खोज्दै हिन्दुस्थान जानेहरू?

images
images
images
कहाँ हराउँछन् काम खोज्दै हिन्दुस्थान जानेहरू?
images
images

डोटी- 'वन लाया गोरु भैँसा फर्की जान्ना साँझ 
म एकली छाणीकन काँ गई रङ्गी बाज(पति)
साइ(पति)ले मो बरबट्टै(चौपट्टै) छाणी के गरी खानु हो 
साइ बम्बै बेपत्ता भइ गई मैले काँ जानु हो
खोली खेत बिनुभैंसी एकली बाग(बाघ) लागी
सबैकी घर बारी भइगइ मेरा के आगलागी।'

images
images
images

शिखर नगरपालिका-१ कपल्लेकीकी ४१ वर्षीया महिसरा दडिमानाका श्रीमान् टेकबहादुर कमाउनका लागि २० वर्ष पहिले भारतको जोधपुर गए। विवाहलगत्तै श्रीमान् कमाउन गएपछि धन लिएर आउँछन् र घरमा आरामसँग जीवन जिउन सहज हुन्छ भन्ने उनको सपना पूरा भएन। कमाउन गएका श्रीमान् २०औँ वर्षसम्म पनि घर नफर्किएपछि उनलाई दु:ख छ। श्रीमान् कुन र कस्ता अवस्थामा छन् भन्ने विषयमा जानकारीसमेत नहुँदा चिन्तित छिन्।

images

टेकबहादुर कमाउनका लागि भारत गएका बेला गर्भमा भएको सन्तान अहिले हुर्किएर ठूलो भए पनि श्रीमान् अझै सम्पर्कमा नआउँदा उनलाई एक्लोपनले सताएको छ। १५ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिएकी महिसराले श्रीमानबाट सुख त परै जाओस्, अनुहारसम्म हेर्न नपाएको २० वर्ष भयो।

images

महिसरा भन्छिन्, 'म तीन महिनाकी गर्भवती थिएँ, त्यतिबेला श्रीमान कमाउनका लागि भारत जानुभएको हो, अहिलेसम्म अत्तोपत्तो छैन, म के गरी बाँचौँँ।'

images
images

छोरा गोपालले बाबा किन आएनन् भनेर आमालाई दैनिक सोध्ने गरेका कारण उनलाई झनै पीडा हुने गरेको छ। साथीसँगीका बुबा भारतबाट घर फर्किँदा आफ्ना चाहिँ नफर्केपछि गोपालले बाबा किन आएनन् भनेर सोध्ने गरेको तर आफूले उत्तर दिन नसकेकामा उनी चिन्ता सुनाउँछिन्। रुँदै भन्छिन्, 'के भयो होला, कहाँ गए होलान्, कसले खोजी दिने मेरा श्रीमान्?'

बिहे गरेको केही समयपछि नै चार वर्षसम्म कुनै पत्तो थिएन। पछि श्रीमान बीचमा एकपटक घर आएको महिसराले बताइन्। 'त्यसपछि कमाउन श्रीमान फेरि भारत गएपछि म उहाँको बाटो कुरेरै बसेँ तर आउनुभएन, अब कहिले आउलान्, अझै आशा मारेकी छैन', उनले सुनाइन्।

सानै उमेरदेखि रक्सीको नशामा रमाउने बानी परेका महिसराका श्रीमान टेकबहादुर धेरै दिन घरमा बसेनन्। उनी फेरि कमाउने भन्दै घरबाट गए पनि कहाँ गएको भन्ने गाउँलेलाई पनि अहिलेसम्म अत्तोपत्तो छैन।

महिसरा हिजोआज बाख्रा पालेर, अर्काको मेलापात गरेर साँझ-बिहानको छाक टार्छिन्। माइती, देवर र  जेठाजुका सहयोगमा महिसराले छोरालाई हुर्काइन्, दुःखकष्ट गरेर भए पनि कक्षा १२ सम्म पढाइन्।

छोरा गोपाललाई स्कूलमा कक्षा १२ को एक विषय लागेको थियो, शिक्षकले चान्स (ग्रेड वृद्धि) दिन पाउने भनेका थिए तर उनी पनि रोजगारीका लागि भारत गए। त्यसअघि महिसरा छोराको खुशीमा आफ्नो दुःख बिर्सन खोज्थिन्, तर ऊ पनि कमाउन मुग्लान पसेपछि त्यही खुशी पनि मिल्न सकेन। श्रीमान् भारतमै हराएको घटनाले पनि छोरा भारत नपसोस् भन्ने चाहना महिसराको थियो तर पेट पाल्नकै लागि मुग्लान पस्नुपर्ने लाखौँ युवाको नियति जस्तै गोपालका रह्यो।

000

महिसराको जस्तै अवस्था कृष्णा गिरीको पनि छ। १६ वर्षका उमेरमा वैवाहिक जीवनमा बाँधिएकी कृष्णा पनि १६ वर्षदेखि श्रीमानको पर्खाइमा घरमा छिन्।

द्वन्द्वकालमा कृष्णाका श्रीमान दीपक घरबाट केही नबोली चुपचाप निस्किए। गाउँतिरै डुल्दै होलान् भन्ने सोचेकी कृष्णाले श्रीमान् कहाँ गए अहिलेसम्म खबर पाएकी छैनन्। दिन, महिना र वर्ष बित्दै जाँदा १६ वर्ष पूरा भएछ तर दीपक घर फर्केर आएनन्। उनी घरबाट जाँदा गर्भमा रहेकी छोरी लक्ष्मी पनि अहिले १५ वर्ष पूरा भइसकेकी छिन्।

महिसरा र कृष्णा मात्रै हैनन् गाउँमा थुप्रै महिलाले यस्तो पीडा खेपिरहनुपरेको शिखर नगरपालिका-१ कपल्लेकी चम्पा पार्की बताउँछिन्।

तीन वर्ष पहिले महिसरा र कृष्णाले श्रीमानको खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदनसमेत दिएका थिए। प्रहरी कार्यालयबाट पनि कुनै जानकारी नआएपछि उनीहरूले अहिले श्रीमान् आउने आशा मारिसकेका छन्।

000

डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका-१, बाँझ गाउँका ३३ वर्षीय दिलबहादुर खड्का पनि परिवारको सम्पर्कमा नआएको ६ वर्ष पुगेको छ। पति फर्केर आउने आशमा पत्नी प्रेमाका दिन बितिरहेको छ।

विसं २०७२ मा पैसा कमाउन दिलबहादुर भारतको बेंगलोर गएका थिए। श्रीमान अहिलेसम्म पनि नफर्किँदा आफूलाई बाँच्नु न मर्नुसरह भएको प्रेमा बताउँछिन्। उनी भन्छिन्, 'कमाउन गएका श्रीमान अहिलेसम्म फर्किनुभएन, म के गरी खानू र कसरी बाँच्नू? मर्न पनि सक्दिनँ, बाँच्न पनि गाह्रो भयो।' सम्पर्कविहीन पतिको खोजीका लागि सबै ठाउँमा धाउँदा पनि केही खबर पाउन नसकेपछि झनै पीडा भएको उनको भनाइ छ।

उनले खसमको खोजीका लागि विभिन्न ठाउँमा जोखना हेराउनेदेखि देवीदेवता सबै धाइसकेकी छिन्। अहिलेसम्म पनि कुनै खबर नपाउँदा श्रीमान हराएको सूचना सामाजिक सञ्जालमा तस्बिरसहित राखेर खोजीका लागि सबैसँग आग्रह पनि गरिन्। सामाजिक सञ्जालबाट पनि समाधान नभएपछि अब हराएका पतिको खोजीका लागि प्रहरी कार्यालयमा निवेदन दिन जाने तयारी गरिरहेकी छिन्। 

000

शिखर-३, जोरागाउँकी ६० वर्षीया जोगेनी भुल भने घरमा नौलो मान्छे आउनेबित्तिकै छोराको तस्बीर देखाउँदै कसैले कहीँ देख्नुभयो कि भनेर सोधपुछ गर्छिन्।

२५ वर्षअघि रोजगारीका लागि भारत पसेका जोगेनीका जेठा छोरा चेत अहिलेसम्म पनि घर फर्किएका छैनन्। छोराको पीडाले उनलाई पनि दिनहुँ सताउन थालेको छ। भन्छिन्, 'छोरो नदेखेरै मर्ने भएँ, मर्नुअघि एकपटक उसलाई देख्ने धोको छ, कुन भगवानले उसलाई खोजिदेला।'

बेपत्ता चेत जीवित छन् वा छैनन्, अहिलेसम्म कहाँ छन् भन्ने केही जानकारी छैन। चेत पनि पैसा कमाउन भारत, मुम्बई गएकोमा उतैबाट सम्पर्कविहीन भए। आमा जोगेनीका अनुसार चेत मुम्बईमा चौकिदारी काम गर्थे। उनीसँगै गएका गाउँका अन्य साथीभाइ घर फर्किए पनि उनी अहिलेसम्म फर्किएका छैनन्। सम्पर्कमा नआएका चेतका बारेमा भुल परिवारले कतै उजुरी वा निवेदन भने दिएको छैन। 

000

कामका लागि भारत गएपछि सम्पर्कमा नआएका नेपालीको तथ्याङ्क सङ्कलन गरिरहेको गैरसरकारी संस्था निड्स नेपालका अनुसार रोजगारीका लागि भारतमा गएकाहरूमा शिखर नगरपालिकाका मात्रै एक सय जना बेपत्ता भएका छन्।

जिल्लाभरिको पूरै तथ्याङ्क लिने हो भने भारतमा गएर बेपत्ता भएकाहरूको सङ्ख्या अझै बढ्न सक्ने उक्त संस्थाको जिकिर छ। कामका लागि भारत गएका सुदूरपश्चिमका नागरिकको अवस्था र हराएकाहरू के-कति कारणले सम्पर्कविहीन भएका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको निड्स नेपालका सहकार्यकारी अधिकृत प्रकाशचन्द्र मडैले बताए। 'कामका लागि भारत गएका र पछि सम्पर्कविहीन भएकाहरूका बारेमा अनुसन्धान भइरहेको छ, कसरी र किन सम्पर्कविहीन भए, खोजी गर्दैछौँ' उनले भने।

रोजगारीका क्रममा सानै उमेरमा भारत गएकाहरू उतै रमाउने र त्यहीँ विवाह गरी बस्ने गरेका कारण पनि कतिपय व्यक्ति पछि गएर घरपरिवारको सम्पर्कमा नआउने गरेको हुन सक्ने डोटी प्रहरी प्रमुख दानबहादुर मल्ल बताउँछन्। 

'यहाँ सानै उमेरमा भारत जाने बानी रहेछ, उनीहरू भारतमा कमाउने र त्यहीँ विवाह गरी बस्ने भएकाले पनि घरपरिवारको सम्पर्कमा नआउने गरेका हुन सक्छन्, विस्तृत के हो, हामी पनि बुझ्दै छौँ' प्रहरी उपरीक्षक मल्लले भने।

निड्स नेपालको तथ्याङ्कानुसार कतिपय नेपाली पारिवारिक रुपमा तनाव भोगेर भारत जाने र उतै बेपत्ता हुने गरेका छन्। सम्पर्कमा नआएकामध्ये केही विभिन्न कारागार रहेको उक्त संस्थाको अनुमान छ। बेपत्ता हुनेमध्ये धेरैजसो बिहे नहुँदै भारत पसेका छन्। घरपरिवारको जिम्मेवारी नभएका कतिपय मानिस भारतमै रमाउने र हराउने गरेको देखिएको छ। भारतमा हराएका आफन्तबारे प्रहरीमा उजुरी खासै नआउने गरेको प्रहरीको भनाइ छ।

000

सुदूरपश्चिम र मध्यपश्चिम प्रदेशका नागरिकको रोजगारीको प्रमुख गन्तव्य भारत नै हो। पुस्तौँदेखि यहाँका नागरिक रोजगारीका लागि भारत जाने क्रम जारी छ।

मडैका अनुसार सन् १८१६ को सुगौली सन्धिपछि नेपाली कामका लागि भारत जान थालेको पाइन्छ। सरकारले भने भारतमा काम गर्न जाने नेपालीलाई वैदेशिक रोजगारीको सूचीमा राखेको छैन। कामका लागि तेस्रो मुलुक गएकाहरूले केही समस्या भए बिमादेखि अन्य सुविधा पाए पनि कामकै लागि ‘हिन्दुस्थान’ गएका नेपाली भने त्यस्तो सुविधाबाट वञ्चित छन्।

कामका लागि भारत जानका लागि कुनै नीतिनियम छैन। नीतिनियम नहुँदा भारतमा हराएका तथा अङ्गभङ्ग र मृत्यु भएकाका परिवारका सदस्यले क्षतिपूर्तिसमेत पाउने गरेका छैनन्।

जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दले श्रीमान तथा घरका परिवार हराएका विषयमा निवेदन पर्ने गरे पनि कुन ठाउँमा र कहिले हराएका हुन् भन्ने यकिन जानकारी नआएका कारण खोजतलास गर्न समस्या भएको बताए। प्रहरी निरीक्षक चन्दले भन्छन्, 'घरका सदस्य हराएको भन्ने निवेदन (खबर) त आउँछ तर परिवारले कहिले, कहाँबाट हराए भन्ने जानकारी दिन सक्दैनन्, त्यसैले तिनका खोजीमा केही समस्या हुने गरेको छ, तै पनि हामी हाम्रा क्षेत्रबाट खोजतलासका लागि पहल गरिरहेका छौँ।' रासस

images

प्रकाशित : बिहीबार , पुस १ २०७८०२:५७

प्रतिक्रिया दिनुहोस