म्याग्दी- वसन्त ऋतुको सुरुवातसँगै हिमाली जिल्ला म्याग्दीको उच्च र मध्य लेकाली क्षेत्रका वनपाखा रंगीविरंगी लालीगुराँसले रंगिएपछि लालीगुराँसको छेकोबाट सेता हिमाल हेर्दै रमाउन पर्यटकहरु लेकाली क्षेत्रमा उक्लिएका छन्।
विगतका वर्षमा भन्दा यसवर्ष पाखैभरी ढकमक्क गुराँस फुलेपछि गुराँससँग रमाउन आन्तरिक तथा बाह्य पर्यटक र स्कुल तथा कलेजका विद्यार्थी घोडेपानी, पुनहिल, टोड्के, बेलढुंगा जस्ता लालीगुराँसका जंगलमा उक्लिएका हुन्।
राउण्ड अन्नपूर्ण पदमार्गको प्रमुख आकर्षण मानिएको घोडेपानीमा ढकमक्क फुलेका लालीगुराँस हेर्न आउनेको भीड नै लाग्ने गरेको छ। यस याममा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुने गरेको छ।
अहिले यहाँको जंगलमा लालीगुराँस फुलेर ढकमक्क भएकाले अझ बढी आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको स्थानीयवासीले बताएका छन्। आन्तरिक पर्यटक बढ्न थालेपछि स्थानीय होटेल व्यवसायी खुसी भएका छन्। घोडेपानीका होटल व्यवसायी मीना गुरुङले पर्यटकले गर्दा प्रायः सबै होटल आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएको बताए।
वसन्त ऋतुको आगमनसँगै प्रकृतिले पनि नयाँस्वरुप धारण गरेको छ। राताम्यै फुलेका लालीगुराँस र वन जंगलको हरियालीले प्रकृति मुस्कुराइरहेको जस्तो देखिन थालेको छ। उत्तरपट्टी चाँदी जस्तै सेता हिमाल हेर्दै गुराँससँग रमाउन आन्तरिक तथा बाह्य पर्यटक म्याग्दीका पर्यटकीयस्थल घोडेपानी, पुनहिल, मोहरेडाँडा, फुलबारी, खोप्रा, बयली, मालिका गाउँपालिकाको सोले, बेनी नगरपालिका-३ भकिम्लीको स्वर्गाश्रम, धवलागिरि गाउँपालिकाको जलजला, देउराली, मंगलाको टोड्के, झाँक्रीपानी, रघुगंगाको रुइसेमा पुग्न थालेका छन्। यी ठाउँहरुमा गुराँसको ठूला जंगल छन्।
नेपालमा पाइने ३२ प्रजातिकामध्ये घोडेपानी क्षेत्रको जंगलमा रातो, सेतो, गुलावी, चिमालीलगायत नौ प्रकारका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ। पृष्ठभूमिका हिमाल र लालीगुराँसको जंगलको प्राकृतिक सौन्दर्यलाई नियाल्दै आन्तरिक तथा बाह्य पर्यटक मख्ख परेको स्थानीय युवा सञ्चारकर्मी सुरेन गुरुङले जानकारी दिए।
समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा ४५ घरधुरीको बसोबास छ। अधिकांश घर पर्यटकस्तरका होटल हुन्। पर्यटकहरु आउन थालेपछि होटल व्यवसायी पनि खुसी भएका छन्। घोडेपानीको लालीगुराँसको जंगलको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, नीलगिरि हिमालको साथै सूर्योदय अवलोकन गर्न सकिन्छ।
अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय केन्द्र मानिने घोडेपानी क्षेत्रको गुराँसको जंगललाई समेटेर समुदायस्तरमा अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग सञ्चालन भएको छ।
घोडेपानीका बासिन्दाले गुराँस बचाउन गुराँसका रूख नकाट्ने नियम बनाएका छन्। जथाभावी रूपमा काठ, दाउराका लागि रूख काट्दा गुराँसको जंगल मासिएपछि यस्तो नियम बनाएका हुन्। एक्यापको सहयोगमा तारबार लगाएर जंगलको घेराउ गरिएको घोडेपानीका बासिन्दा अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष एवम् स्थानीय होटल व्यवसायी डमबहादुर पुनले बताए।
त्यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिखको जंगलमा राताम्मे फुलेको लालीगुँरासँग रमाउन विद्यार्थी र पर्यटक पुगेका छन्। गाउँमा रहेको शिख मावि वरपर नै गुराँस फुलेपछि लोभलाग्दो देखिएको छ। घोडेपानी, पुनहिल जाने पदमार्गमा पर्ने शिख क्षेत्रमा पदमार्ग र सडक आसपासमै गुराँसले जंगल राताम्मे बनेका छन्।
लालीगुराँस नेपालको राष्ट्रिय फूल हो। लालीगुराँस साधारणतया फागुन, चैत र बैशाखमा फुल्ने गर्दछ। म्याग्दीका वनमा अहिले ढकमक्क गुराँस फूलेर जंगल नै हराभरा भएका छन्। बोटभरी ढकमक्क फुलेको गुराँस हेर्दै आकर्षित हुने भएकाले हरेकको मन तान्ने गरेको छ। वनैभरी ढकमक्क लालीगुराँस फुलेपछि गाउँबस्ती नै सुन्दर देखिएको छ।
वनभरि फुलेका लालीगुराँसका फूल यहाँको प्राकृतिक वरदान मात्र होइन सुकाएर फूलको पत्र जडीबुटीका रूपमा व्यापार गरी आयआर्जन गर्न सकिने भए पनि यसतर्फ ध्यान जान नसकेको वन तथा वनपैदावर र वातावरणको क्षेत्रमा सक्रिय वन डिभिजन कार्यालय म्याग्दीका प्रमुख चन्द्रमणि सापकोटाले बताए। जण्डिस, आउँ, खोकी, कलेजो सुन्निएको, मुखको गन्ध हटाउनसमेत औषधि हुने लालीगुराँस वातावरणीय तथा पर्यटकीय दृष्टिलेसमेत महत्वपूर्ण मानिएको छ।
म्याग्दीका करिब ८० प्रतिशतभन्दा बढी वनमा यसरी लालीगुराँस फुलेको पाइन्छ। लालीगुराँसको बोटदेखि फुलसम्म विभिन्न औषधि निर्माणको लागि प्रयोग हुँदै आएको छ। म्याग्दीमा प्रशस्त लालीगुराँसको जंगल रहेकोले आगामी दिनमा प्रशस्त आम्दानीको स्रोत जुट्ने देखिन्छ।
जिल्लाका विभिन्न स्थानमा लालीगुराँको जुस बनाउने उद्योग स्थापना गर्ने क्रम पनि बढ्दै गएको छ। प्रचारप्रसारको कमीको कारण यहाँका सामुदायिक वनमा फुलेका गुराँसका फुल बिक्री हुन सकेको छैन। गाउँघर गुराँसले सजिएसँगै गाउँमा पुग्ने जो कसैको पनि मन लोभ्याउने गरेको स्थानीयवासीले बताएका छन्। रासस